close

भोलिदेखि डिजिटल भुक्तानीमा बायोमेट्रिक अथेन्टिकेसन सुरु गर्दै भारत, यस्तो हुनेछ नयाँ व्यवस्था

टेकपाना टेकपाना

असोज २१, २०८२ १९:८

भोलिदेखि डिजिटल भुक्तानीमा बायोमेट्रिक अथेन्टिकेसन सुरु गर्दै भारत, यस्तो हुनेछ नयाँ व्यवस्था

काठमाडौँ । भारतले भोलि बुधबार (८ अक्टोबरदेखि) इन्स्टेन्ट पेमेन्ट (तत्काल गरिने डिजिटल भुक्तानी) हरूका लागि बायोमेट्रिक अथेन्टिकेसन (प्रमाणीकरण) लागु गर्ने भएको छ । यो नयाँ व्यवस्था लागु भएपछि प्रयोगकर्ताहरूले देशको लोकप्रिय भुक्तानी सञ्जाल, युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) मार्फत गरिने भुक्तानीहरूलाई अनुमोदन गर्न फेसियल रिकग्निसन र फिङ्गरप्रिन्टको प्रयोग गर्न सक्नेछन् ।

रोयटर्सले उल्लेख गरेका सम्बद्ध स्रोतहरूका अनुसार अथेन्टिकेसनका लागि प्रयोग हुने बायोमेट्रिक डेटा भारत सरकारको युनिक पहिचान प्रणाली 'आधार' (Aadhar) अन्तर्गत स्टोर गरिएका तथ्याङ्कबाट लिइनेछ ।

यो कदम रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले वैकल्पिक प्रमाणीकरण विधिहरूलाई अनुमति दिने गरी हालै जारी गरेको निर्देशन पालनाका क्रममा लिइएको हो । यो परिवर्तन हालको प्रणालीभन्दा महत्त्वपूर्ण कदम हो । हालसम्म भुक्तानी प्रमाणीकरणका लागि न्युमेरिक पिन (numeric PIN) मात्रै अनिवार्य गरिएको थियो ।

यूपीआई सञ्चालन गर्ने नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (NPCI) ले मुम्बईमा जारी रहेको ग्लोबल फिनटेक फेस्टिभलमा यो नयाँ बायोमेट्रिक सुविधाको प्रदर्शन गर्ने योजना बनाएको छ ।

यो जानकारी दिएका स्रोतहरूले आधिकारिक रूपमा मिडियासँग बोल्ने अधिकार नभएकाले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताएको उल्लेख छ । नेपालको डिजिटल भुक्तानीमा हाल पिन तथा पासवर्डमात्रै प्रयोग गर्न सकिने अवस्था छ । 

 

पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १९:८