close

गुगल एआई प्लस नेपालसहित ७७ देशमा उपलब्ध, ६ महिनाका लागि ५०% छुटसँगै २०० जीबी क्लाउड स्टोरेज

टेकपाना टेकपाना

असोज २२, २०८२ ९:११

गुगल एआई प्लस नेपालसहित ७७ देशमा उपलब्ध, ६ महिनाका लागि ५०% छुटसँगै २०० जीबी क्लाउड स्टोरेज

काठमाडौँ । गुगलले आफ्नो नवीनतम सदस्यता योजना 'गुगल एआई प्लस' (Google AI Plus) लाई विश्वव्यापी रूपमा विस्तार गरेको छ । कम्पनीले मङ्गलबार नेपाल सहित थप ३६ देशहरूमा यो सेवाको विस्तार गरेको हो ।

यससँगै यो अब कूल ७७ देशहरूमा उपलब्ध भएको छ । यो घोषणा पहिलेको विस्तारको झन्डै एक महिनापछि गरिएको हो । जसमा गुगल एआई प्लसलाई ३६ वटा उदाउँदा नयाँ बजारमा ल्याइएको छ ।

गुगल एआई प्लस योजना मानिसहरूलाई गुगलका नवीनतम एआई मोडल र सुविधाहरू कम मूल्यमा प्रयोग गर्न मद्दत गर्ने हिसाबले डिजाइन गरिएको हो । यो योजना एआई प्रो भन्दा सस्तो छ । इन्डोनेसिया र पहिलो चरणका ४० देशमा योजनाले सकारात्मक प्रतिक्रिया पाएपछि यो पछिल्लो विस्तार गरिएको हो ।

गुगल एआई प्लसका मुख्य विशेषता

गुगल एआई प्लसका ग्राहकहरूले धेरै एड्भान्स एआई टुल र स्टोरेज सुविधामा पहुँच पाउनेछन् । जेमनाई एपभित्र प्रयोगकर्ताहरूले २.५ प्रो र डिप रिसर्च मा १२८के (128K) टोकन कन्टेक्स्ट विन्डो सहितको पहुँच प्राप्त गर्न सक्नेछन् । यसका साथै जिमेल र गुगल डक्स जस्ता एपहरूभित्रै जेमनाई उपलब्ध हुनेछ । यसबाहेक गुगल वर्कस्पेस अन्तर्गत जिमेल, गुगल डक्स, ड्राइभ शिट्स, स्लाइड्स, मिट, च्याट र भिड्समा पनि जेमनाईको पहुँच उपलब्ध हुन्छ ।

यसैगरी योजनाभित्र मल्टिमिडिया र क्रिएटिभ एआईको रूपमा फोटो बनाउने र एडिटिङ गर्ने मोडल नानो बनानाका लागि उच्च सीमा (higher limits) समावेश गरिएको छ । यसका साथै प्रयोगकर्ताहरूले एआईबाट भिडिओ तयार पार्ने सुविधामा थप पहुँच पाउँछन् । जसमा फ्लो (Flow) र ह्विस्क (Whisk) टुलहरू समावेश छन् । विशेष गरी फ्लो फिल्ममेकिङ टुल (फिल्म निर्माण उपकरण) अन्तर्गत मासिक २०० एआई क्रेडिटहरू उपलब्ध हुन्छ भने ह्विस्क इमेज जेनेरेसनका लागि प्रयोग गर्न सकिन्छ ।

यति मात्र नभएर नोटबुकएलएम र स्टोरेजमा पनि प्रयोगकर्ताले थप सुविधा पाउने छन् । जसअनुसार नोटबुकएलएममा विस्तारित पहुँच मिल्नेछ । यसमा थप अडिओ ओभरभ्युहरू, नोटबुकहरू र नोटबुकका लागि स्रोतहरू उपलब्ध हुन्छन् ।

ग्राहकले कस्टमाइज गर्न मिल्ने नोटबुक स्टाइल र टोनहरूका साथै नोटबुकका लागि थप शेयरिङ विकल्प र एनालिटिक्स पनि पाउनेछन् । यस योजनामा २०० जीबीको क्लाउड स्टोरेज पनि समावेश छ । जुन जिमेल, गुगल ड्राइभ र फोटोहरूका लागि प्रयोग गर्न सकिन्छ ।

उपलब्धता र छुट

गुगल एआई प्लस उपलब्ध नेपाल सहितका ७७ देशहरूबाट यो योजनामा साइन अप गर्न सकिन्छ । सीमित समयका लागि नयाँ ग्राहकहरूलाई पहिलो छ महिनाको सब्सक्रिप्सनमा ५० प्रतिशत छुट दिइएको छ । यद्यपि, योजनाको मूल्य देश अनुसार फरक पर्न सक्छ ।

गुगल एआई प्लस हाल उपलब्ध भएका ७७ देशहरूमा नेपालका अतिरिक्त अल्बानिया, अर्जेन्टिना, बङ्गलादेश, ब्राजिल, क्यानडा र कोलम्बिया छन् । त्यस्तै डोमिनिकन गणतन्त्र, इजिप्ट, भारत, इन्डोनेसिया, जोर्डन, कतार, मलेसिया र मेक्सिकोमा पनि यो योजना पाउन सकिनेछ । यसैगरी पाकिस्तान, फिलिपिन्स, रोमानिया, दक्षिण अफ्रिका, श्रीलङ्का, थाइल्याण्ड, टर्की, युगान्डा, युक्रेन, भेनेजुएला, भियतनाम, जाम्बिया, जिम्बाब्वे लगायतका मुलुकहरूलाई पनि यसमा समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८२ ९:११