ह्वाट्सएपलाई टक्कर दिन खोजिरहेको भारतीय मेसेजिङ एप अरट्टाई, एकाएक किन चुलियो चर्चा ?
असोज २३, २०८२ ८:२५
काठमाडौँ । भारतीय प्रविधि कम्पनी जोहोको मेसेजिङ एप अरट्टाई (Arattai) को डाउनलोडमा पछिल्ला केही दिनमा द्रुत वृद्धि देखिएको छ । यो एपले भारतको ठुलो मेसेजिङ बजारमा मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपलाई टक्कर दिने महत्त्वाकाङ्क्षा बोकेको छ ।
‘अरट्टाई’को अर्थ तमिल भाषामा ठट्टा वा रमाइलो कुरा हुन्छ । भारत ह्वाट्सएपको सबैभन्दा ठुलो बजार हो, जहाँ यसका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या ५० करोडभन्दा बढी रहेको छ । तर, सरकारी प्रोत्साहनका कारण अरट्टाईले छोटो समयमै ठुलो फड्को मारेको छ ।
कम्पनीले पछिल्लो हप्ता दिनमा मात्रै एपको डाउनलोड ७० लाख रहेको बताएको छ । यो लोकप्रियतामा अचानक आएको वृद्धिलाई भारत सरकारको आत्मनिर्भरता ('मेक इन इन्डिया' र 'स्पेन्ड इन इन्डिया') को नीतिका साथ जोडेर हेरिएको छ ।
केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानसहित अन्य मन्त्री र विभिन्न व्यवसायीहरूले मानिसहरूलाई 'इन्डिया-मेड एप' प्रयोग गर्न आग्रह गर्दै अरट्टाईको बारेमा पोस्ट गरेका थिए । सरकारी प्रोत्साहनले अरट्टाईको डाउनलोडमा अचानकको वृद्धिमा योगदान पुर्याएको कम्पनीले पनि स्वीकारेको छ ।
जोहोका सीईओ मणि वेम्बुका अनुसार तीन दिनमै दैनिक साइन-अप ३,००० बाट बढेर तीन लाख ५० हजार पुगेको थियो । कम्पनीले सक्रिय प्रयोगकर्ताहरूमा १०० गुणा वृद्धि देखिएको र यो सङ्ख्या बढिरहेको बताएको छ ।
यद्यपि बजार अनुसन्धान फर्म सेन्सर टावरका अनुसार अगस्टमा अरट्टाईको डाउनलोड १० हजारभन्दा कम थियो र सेप्टेम्बरमा यसका ९५% भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू भारतमै आधारित थिए ।
सीईओ वेम्बुले प्रयोगकर्ताहरू आफ्ना सबै युनिक आवश्यकताहरू पूरा गर्न सक्ने स्वदेशी उत्पादनप्रति उत्साहित रहेको कुरा यस वृद्धिले देखाएको बताएका छन् ।
अरट्टाईले ह्वाट्सएपजस्तै मेसेज पठाउने र भ्वाइस तथा भिडिओ कल गर्ने सुविधा प्रदान गर्दछ । यसले ह्वाट्सएपकै जस्तो बिजिनेस टुल पनि उपलब्ध गराउँछ । अरट्टाई ह्वाट्सएप जस्तै कम मूल्यका फोन र सुस्त इन्टरनेट गतिमा पनि सहज रूपमा चलाउन सकिने दाबी कम्पनीले गरेको छ ।
धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा यसको इन्टरफेस, डिजाइन र उपयोगिताको प्रशंसा गरेका छन् । अरट्टाईको द्रुत वृद्धि सँगसँगै केही जानकारहरूले डेटाको गोपनीयता बारे पनि चिन्ता व्यक्त गरेका छन् ।
अरट्टाईले भिडिओ र भ्वाइस कलहरूको लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन (E2EE) प्रदान गरे पनि यसले हाल मेसेजहरूमा यो सुविधा विस्तार गरेको छैन ।
अरट्टाईका सीईओ मणि वेम्बुले कम्पनीले मेसेजहरूका लागि ईटुईई लागु गर्न सक्रिय रूपमा काम गरिरहेको बताएका छन् । उनले यो सुविधा सुरु भएपछि कम्पनी आफैँले पनि प्रयोगकर्ताहरूको कुराकानीको सामग्रीमा पहुँच नपाउने र कुनै पनि कानुनी दायित्वबारे प्रयोगकर्ताहरूसँग पारदर्शी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रविधि लेखक तथा विश्लेषक प्रशान्तो के रोयका अनुसार अरट्टाईलाई ह्वाट्सएपको व्यापक प्रयोगकर्ता आधारमा प्रवेश गर्न गाह्रो हुनेछ । ह्वाट्सएप प्लेटफर्ममा ठुलो सङ्ख्यामा व्यवसाय र सरकारी सेवाहरू होस्ट गरिएका छन् ।
रोयले अरट्टाईको सफलता राष्ट्रवादी भावनाले मात्र नभई नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने र उनीहरूलाई कायम राख्ने क्षमतामा निर्भर रहने बताएका छन् । बीबीसीसँगको कुराकानीमा विशेषज्ञ राहुल मथनले अरट्टाईको गोपनीयता आर्किटेक्चर र प्रयोगकर्ताबाट सिर्जित सामग्री सरकारसँग शेयर गर्ने सम्बन्धमा जोहोको अडान स्पष्ट नभएसम्म धेरै मानिसहरू यसलाई प्रयोग गर्न सहज महसुस नगर्न सक्ने बताएका छन् ।
रोय थप्छन् कि सरकारी अधिकारीहरूले सार्वजनिक रूपमा यस एपको प्रचार गरिरहेकाले जोहोलाई सरकारप्रति ऋणी भएको महसुस हुन सक्छ । जसले गर्दा देशको कानुन र कानुन प्रवर्तन अनुरोधहरूको पालना गर्दा उसलाई कडा प्रतिवाद गर्न गाह्रो हुन सक्छ ।
अरट्टाई भन्दा अघि पनि कु (एक्स/ट्वीटरको प्रतिद्वन्द्वी) र मोज (टिकटकको प्रतिद्वन्द्वी) जस्ता भारतीय एपहरूले सुरुवाती सफलता पाए पनि पछि टिक्न सकेनन् । अब अरट्टाईले ह्वाट्सएपजस्ता बानी बसाल्ने लोकप्रिय एपहरूको सामना गर्न सक्छ वा अरू एपहरूजस्तै हराएर जान्छ, त्यो भने हेर्न बाँकी नै छ ।
पछिल्लो अध्यावधिक: असोज २३, २०८२ ८:२५
