close

अब च्याटजीपीटीभित्रै अन्य एप प्रयोग गर्न मिल्ने, यस्तो छ नयाँ फिचर (प्रयोग गर्ने तरिकासहित)

टेकपाना टेकपाना

असोज २४, २०८२ १६:१९

अब च्याटजीपीटीभित्रै अन्य एप प्रयोग गर्न मिल्ने, यस्तो छ नयाँ फिचर (प्रयोग गर्ने तरिकासहित)

काठमाडौँ । ओपनएआईले सोझै च्याटजीपीटी भित्रै काम गर्न मिल्ने नयाँ पुस्ताका एप र त्यसका लागि नयाँ एप एसडीके सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स (DevDay 2025) मा प्रविधि जगतमा ठुलो परिवर्तन ल्याउँदै यो घोषणा गरेको हो ।

ओपनएआईका अनुसार यो नयाँ प्रणालीले च्याटजीपीटीलाई अन्तरक्रियात्मक, अनुकूलित र व्यक्तिगत एपहरूको नयाँ पुस्ताका लागि सक्षम बनाउनेछ । यसको उद्देश्य मानिसहरूलाई च्याटजीपीटी प्रयोग गरेर बढी उत्पादनशील, रचनात्मक र छिटो सिक्ने बनाउनु हो ।

यो नयाँ सुविधाले डेभलपरहरूलाई ८० करोड भन्दा बढी च्याटजीपीटी प्रयोगकर्ताहरू समक्ष पुग्न सम्भव बनाएको छ । यी एपहरूले कुराकानीमा नक्सा, प्लेलिस्ट र प्रस्तुतीकरण जस्ता परिचित अन्तरक्रियात्मक तत्त्वहरूलाई संवादको माध्यमबाट अन्तरक्रिया गर्ने नयाँ तरिकासँग जोड्छन् ।

एप एसडीके (Apps SDK) अहिले डेभलपरहरूका लागि प्रिभ्युमा उपलब्ध छ । जुन मोडल कन्टेक्स्ट प्रोटोकल (Model Context Protocol - MCP) नामक खुला मापदण्डमा आधारित छ । एमसीपीले च्याटजीपीटीलाई बाह्य उपकरण र डेटासँग जोडिन अनुमति दिन्छ ।

च्याटजीपीटी भित्रै कसरी प्रयोग गर्ने एप ?

च्याटजीपीटी भित्र एपहरू प्रयोग गर्ने तरिका अत्यन्तै सरल छ र यो कुराकानीमा स्वाभाविक रूपमा मिसिन सक्छ । मुख्यतया दुई तरिकाले एपलाई आह्वान गर्न सकिन्छ ।

एउटा हो, प्रयोगकर्ताले च्याटजीपीटीमा उपलब्ध एपको नामबाट मेसेज सुरु गर्न सक्छन् । उदाहरणका लागि यदि तपाईँले "Spotify, make a playlist for my party this Friday" भनेर मेसेज लेख्नु भयो भने च्याटजीपीटीले स्वचालित रूपमा स्पोर्टिफाई एपलाई च्याटमा देखाउँछ र प्लेलिस्ट बनाउनका लागि प्रासङ्गिक सन्दर्भ प्रयोग गर्छ ।

त्यसैगरी तपाईँले "Figma, turn this sketch into a workable diagram" भन्न सक्नुहुन्छ । वा क्यानभा प्रयोग गरेर स्लाइड डेक (slide deck) बनाउनका लागि आउटलाइन दिएर अनुरोध गर्न सक्नुहुन्छ ।

अर्को उदाहरणमा तपाईँले "Coursera, can you teach me something about machine learning?" भनेर सोध्न सक्नुहुन्छ ।

अर्को तरिकामा च्याटजीपीटीले कुराकानीको क्रममा एप सान्दर्भिक भएको खण्डमा स्वचालित रूपमा सुझाव पनि दिन सक्छ । उदाहरणका लागि यदि तपाईँ नयाँ घर किन्ने बारेमा कुरा गर्दै हुनुहुन्छ भने च्याटजीपीटीले जिलो (Zillow) एपलाई सुझावको रूपमा देखाउन सक्छ । त्यसपछि तपाईँ च्याटजीपीटी भित्रै अन्तरक्रियात्मक नक्सामा आफ्नो बजेटसँग मिल्ने सूचीहरू (listings) हेर्न सक्नुहुन्छ र फलो-अप प्रश्नहरू सोध्न सक्नुहुन्छ ।

यसैगरी तपाईँ कोर्सेसँग कोर्स लिँदै हुनुहुन्छ भने भिडिओ हेरिरहेको बेला च्याटजीपीटीलाई त्यो विषयवस्तुमा थप व्याख्या गर्न अनुरोध गर्न सक्नुहुन्छ ।

डेटा र गोपनीयता

जब तपाईँ पहिलो पटक कुनै एप प्रयोग गर्न थाल्नुहुन्छ, च्याटजीपीटीले तपाईँलाई एपसँग कनेक्ट गर्न अनुमति माग्छ । ताकि तपाईँको कुन डेटा एप डेभलपरहरूसँग शेयर हुन सक्छ भन्ने बुझ्न सक्नुहोस् ।

डेभलपरहरूले न्यूनतम आवश्यक डेटा मात्र सङ्कलन गर्नुपर्छ र अनुमतिहरूका बारेमा पारदर्शी हुनुपर्छ । यदि प्रयोगकर्ता पहिले नै कुनै सेवाको ग्राहक छन् भने उनीहरूले प्रिमियम सुविधाहरू पहुँच गर्नका लागि सोझै च्याटजीपीटी भित्र आफ्नो अकाउन्ट लग इन गर्न सक्छन् ।

उपलब्धता

६ अक्टोबरदेखि यो सुविधा प्रायः सबै जसो लग-इन गरिएका च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि (Free, Go, Plus र Pro योजनाहरूमा) उपलब्ध छ । हाल यसमा बुकिङ डटकम, क्यान्भा, कोर्सेरा, एक्सपेडिया, फिग्मा, स्पोटिफाई र जिलो प्रमुख साझेदार एपहरूको रूपमा समावेश छन् ।

ओपनएआईले डोरड्याश, इन्स्टाकार्ट, उबर, अलट्रेल्स, ओपनटेबल र टार्गेट जस्ता ११ भन्दा बढी साझेदारका एपहरू थपिने अपेक्षा गरेको छ ।ओपनएआईका सीईओ साम अल्टम्यानका अनुसार कम्पनीले डेभलपरलाई आफ्ना एपहरू रिभ्यु र पब्लिशका लागि पेस गर्न सक्ने व्यवस्था ल्याउनेछ र प्रयोगकर्ताहरूलाई एपहरू खोज्नका लागि एक निर्देशिका पनि उपलब्ध गराउनेछ । साथै एजेन्टिक कमर्स प्रोटोकल मार्फत च्याटजीपीटी भित्रै तत्काल भुक्तानीलाई सपोर्ट गर्ने तरिकासहित मनिटाइजेसनको डिटेल पनि चाँडै शेयर गरिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८२ १६:५७