close

फ्याक्टचेक: के ज्ञानेन्द्र शाहीले गृहमन्त्री अर्यालसँग हात मिलाउन अस्वीकार गरेका हुन् ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

असोज २४, २०८२ १९:३०

फ्याक्टचेक: के ज्ञानेन्द्र शाहीले गृहमन्त्री अर्यालसँग हात मिलाउन अस्वीकार गरेका हुन् ?

काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जालमा गृहमन्त्री ओमप्रकाश अर्यालले हात मिलाउन खोज्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम्  पूर्व सांसद ज्ञानेन्द्र शाहीले हात नमिलाएको भन्दै फोटो तथा भिडिओहरू भाइरल भएका छन् । विशेषगरी टिकटक र फेसबुकमा यसबारे सञ्जाल प्रयोगकर्ताले बहस गरिरहेका छन् । तर, टेकपानाले तथ्यजाँच गर्दा शाहीले गृहमन्त्री अर्यालसँग हात मिलाएपछिको भिडिओ तथा फोटो राखेर भ्रम फैलाएको पाइएको छ । 

दाबी 

सामाजिक सञ्जाल प्रयोगकर्ता ‘Isha Maya Gurung’ ले शुक्रबार बिहान १२:१४ मा गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्व सांसद ज्ञानेन्द्र शाहीको एउटा तस्बिर सार्वजनिक गरिन् । तस्बिरमा गृहमन्त्री अर्यालले हात अघि बढाइरहेका छन् । शाही भने अर्यालतर्फ हेरिरहेको देखिए पनि हात भने अघि बढाएका छैनन् । कुनै भवनको ढोका अगाडि जस्तो देखिने ठाउँमा उभिएका उनीहरूसँगै तस्बिरमा निजामति कर्मचारीको ड्रेसमा दुई जना पुरुषसमेत देखिएका छन् । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

गुरुङको उक्त पोस्टमा ‘S K Manoj’ नामका फेसबुक प्रयोगकर्ताले हत्यारा र भ्रष्टाचारीलाई हत्कडी नलगाएसम्म हात मिलाउन नपर्ने भन्दै कमेन्ट गरेका छन् । उनले लेखेका छन्, “हात मिलाउने गरी कुन चाहिँ काम राम्रो गरेको छन् र ? मिडिया देख्यो कि तर्सेर भाग्दो रहेछन् ! परेको छैन हात मिलाउन । जुन दिन हत्यारा भ्रष्टाचारी हरूको हातमा हत्कडी लगाउने छन् । तब हात पनि मिलाउला ताली पनि बजाउँला ।” 

अर्का प्रयोगकर्ता ‘Punar chand Pun’ ले लेखेका छन्, “गृहमन्त्री भएदेखी आजसम्म हाथ मिलाउन सक्ने काम नगरेको भएर होला, हाथ नमिलाएको । भोलि जनताको लागि र जनताको काम गरे त मिलाईहाल्छ नि हात, म पनि मिलाउछु ।”

अनुसन्धान 

फेसबुकमा गुरुङको उक्त पोस्ट पाएपछि हामीले अन्य सामाजिक सञ्जालमा पनि उस्तै दाबीसहितको पोस्टहरू खोज्यौँ । यसै क्रममा टिकटकमा ‘utmdai’ नामका प्रयोगकर्ताले राप्रपा नेता शाहीले गृहमन्त्रीसँग हात मिलाउन अस्वीकार गरेको दाबी सहित भिडिओ राखेको फेला पर्‍यो । उक्त भिडिओमा गुरुङले नै तस्बिर राखेर एक पुरुषले ज्ञानेन्द्रले हात मिलाउन नमानेको बताइरहेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टलाई २० हजार पटक भन्दा धेरै हेरिएको छ भने एक हजार पटकभन्दा धेरै पटक लाइक गरिएको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

यस्तै फेसबुक पेज ‘दैनिक न्युज नेपाल’ले बिहीबार राति ८:१४ बजे ज्ञानेन्द्र शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग हात मिलाउन अस्वीकार गरेको दाबी गर्दै पोस्ट गरेको पाइयो । उक्त पोस्टमा लेखिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग हात मिलाउँन अस्वीकार गरेका छन् । जेनजीको तर्फबाट विभिन्न माग लिएर भेटका लागि गृहमन्त्रालय पुगेका ज्ञानेन्द्रलाई गृहमन्त्री ओमप्रकाशले गेटमै हात मिलाउँन खोज्दा नमानेका हुन् । ज्ञानेन्द्रले आक्रोशपूर्ण स्वरमा तपाईलाई भेट्नै गाह्रो भयो भन्दा गृहमन्त्री ओमप्रकाशले हामी काममै छौँ भन्ने जवाफ दिएका थिए ।” उक्त पोस्टमा यो समाग्री तयार पार्दा सम्म ११ सय बढी लाइक गरिएको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 
 

उस्तै दाबीसहितका अन्य भिडिओहरू हेर्न यहाँ, यहाँ, यहाँयहाँ क्लिक गर्नुहोस् । उक्त दाबीका पोस्टमा ‘Otv’ को वाटरमार्क देख्न सकिन्छ । त्यसैले हामीले उक्त वाटरमार्कको आधारमा वास्तविक भिडिओ खोज्ने प्रयास गर्‍यौँ ।

हामीले गुगलमा ‘ज्ञानेन्द्र शाही गृहमन्त्री’ सर्च गर्दा फेसबुक पेज ‘Onlinetv Nepal’ ले बिहिबार साँझ ५:५५ मा सार्वजनिक गरेको भिडिओ फेला पर्‍यो । ‘Onlinetv Nepal’ को लोगो र भाइरल फोटो र भिडिओमा देखिएको वाटरमार्क पनि समान देखियो । उक्त पेजले राखेको  १ मिनेट १५ सेकेन्ड लामो भिडिओमा गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्व सांसद ज्ञानेन्द्र शाहीको भेट भएको देखिन्छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “ज्ञानेन्द्र शाहीले गृहमन्त्री ओम प्रकाशको बाटो छेकेर भने तपाईलाई भेट्ने गार्हो भयो मन्त्री ज्यु” 

यो सामग्री तयार पार्दासम्म पाँच लाख ७० हजार पटक हेरिसकिएको उक्त भिडिओलाई १६ हजारभन्दा बढीले लाइक गरेका छन् । सो भिडिओको सुरुमा हाइलाइट्स देखाइएको छ । जहाँ पहिलो दुई सेकेन्डमा गृहमन्त्री ओम प्रकाश अर्याल र पूर्व सांसद ज्ञानेन्द्र शाही हात मिलाइरहेको देखिन्छन् । हाइलाइट्स बनाएर राखिएको उक्त क्लिप भिडिओको ४९ औँ सेकेन्डबाट दोहोरिएको छ । जहाँ गृहमन्त्री अर्याल भवनभित्र छिर्न लागेको बेलामा ज्ञानेन्द्रलाई अगाडी देखेर हात अघि बढाइरहेको देखिन्छन् । त्यति नै बेला क्यामेराको अगाडी केही मानिसहरूले उनीहरूले हात मिलाएको दृश्य छेकिएपछि भिडिओ खिच्न क्यामेरालाई अर्को एङ्गलमा मुभ गरिएको छ । यति गर्दासम्म उनीहरू हात मिलाएर छाड्दै गरेको दृश्य कैद भएको छ । भिडिओमा ज्ञानेन्द्र शाहीले, “तपाईलाई त भेट्नै गाह्रो भयो” भन्छन् । जवाफमा गृहमन्त्री अर्यालले भनेका छन्, “काममै छौँ, है ।”

हामीले भिडिओमा अर्यालले हात मिलाउन अघि बढेको किफ्रेम निकालेर विश्लेषण गर्यौँ । हेर्नुहोस् भिडिओ र विश्लेषण ।

माथिको विश्लेषणको किफ्रेम ४ र किफ्रेम ५ मा गृहमन्त्री अर्यालसँग शाहीले हात मिलाएको स्पष्ट देखिएको छ ।  

दाबी

पूर्व सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग हात मिलाउन अस्वीकार गरे ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता ‘Isha Maya Gurung’, टिकटक प्रयोगकर्ता ‘utmdai’ र ‘दैनिक न्युज नेपाल’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

  • ‘Onlinetv Nepal’ ले सार्वजनिक गरेको भिडिओको विश्लेषण गर्दा गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्व सांसद ज्ञानेन्द्र शाहीले हात मिलाएको स्पष्ट देखिन्छ ।

  • हात मिलाइ सकेपछिको भिडिओ तथा फोटो राखेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको हो । 

निष्कर्ष

बिहीबारदेखि सामाजिक सञ्जालमा पूर्व सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग हात मिलाउन अस्वीकार गरेको दाबीसहित फोटो र भिडि‌ओहरू भाइरल भएका छन् । टेकपानाले तथ्यजाँचका लागि सामाजिक सञ्जालमा भाइरल तस्बिर र भिडिओहरूको मूल भिडिओ पहिचान गर्‍यो । उक्त भिडिओ ‘Onlinetv Nepal’ को फेसबुक पेजमा बिहीबार साँझ सार्वजनिक भएको पाइयो ।

भिडिओको हाइलाइट्स र पूर्ण दृश्य दुबै विश्लेषण गर्दा गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्व सांसद ज्ञानेन्द्र शाहीबिच हात मिलाएको स्पष्ट देखिन्छ । सामाजिक सञ्जालमा फैलिएको भिडिओ हात मिलाइ सकेपछिको दृश्य हो। त्यसैले शाहीले गृहमन्त्रीसँग हात मिलाउन अस्वीकार गरे भन्दै फैलाइएका पोस्ट भ्रामक हुन् ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८२ १९:४५