सुनसरीका प्रहरी प्रमुखको ह्वाट्सएप ह्याक, विभिन्न व्यक्तिलाई मेसेज पठाएर रकम माग्दै स्क्यामर
असोज २५, २०८२ १०:५६
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले प्रयोग गर्दै आएको सरकारी ह्वाट्सएप नम्बर ह्याक भएको छ । शुक्रबार राति ह्याक भएको उक्त नम्बरबाट स्क्यामरले विभिन्न व्यक्तिसँग रकम मागिरहेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति एक विज्ञप्ति जारी गरी एसपी थेबेले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप राति ८:४५ बजे ह्याक भएको पुष्टि गरेको छ । ह्याक भए लगत्तै उक्त अकाउन्टबाट विभिन्न व्यक्तिलाई अनावश्यक सन्देश पठाउने र रकम माग्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सर्वसाधारणलाई सचेत गराउँदै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “...९८५२०८५५५५ नम्बरको ह्वाट्सएप अकाउन्ट ह्याक भइ विभिन्न व्यक्तिलाई मेसेज गरी पैसा माग्ने तथा अनावश्यक मेसेज पठाउने गरेको पाइएकोले उक्त मेसेजको विश्वास नगर्न हुन साथै सबै जना सचेत रहनु हुन समेत अनुरोध गरिएको छ ।”
उक्त नम्बरबाट कुनै पनि किसिमको सन्देश आएमा विश्वास नगर्न र तुरुन्त प्रहरीलाई खबर गर्नसमेत कार्यालयले आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज २५, २०८२ १०:५६
