काठमाडौँ । पछिल्लो समय स्मार्टफोनहरूमा ३.५ एमएमको हेडफोन ज्याक हटाउने कदमले प्रविधि क्षेत्रमा लामो समयदेखि चलिरहेको बहसलाई पुनः सतहमा ल्याएको छ । यो विवादास्पद परिवर्तनले स्मार्टफोनलाई वास्तवमै राम्रो बनाएको तर्क गरिएको छ । यद्यपि, उच्च गुणस्तरको ध्वनि रुचाउने धेरै मानिसहरू यो तर्कसँग असहमत छन् ।
स्मार्टफोनहरू सन् २०१० को दशकको सुरुमा देखिएका बाक्ला स्ल्याबहरूबाट विकसित भएर अहिले पातला, हलुका र बेजलभन्दा धेरै स्क्रिन हुने डिजाइनमा आएका छन् । पोर्टहरूको सङ्ख्या पनि घटेर एउटा मात्र भएको छ ।
ज्याक हटाउनु पछिको तर्क
हेडफोन ज्याक हटाउनुले फोनहरूलाई विभिन्न तरिकाले सुधार गर्न सघाएको छ । आधुनिक फोनहरू पहिलेको पुस्ताका स्मार्टफोनको तुलनामा धेरै टिकाउ छन् । इन्ग्रेस प्रोटेक्सन (Ingress Protection - IP) मूल्याङ्कन, जस्तै आईपी ६८ मार्फत पानी प्रतिरोधी क्षमता थपिएको छ ।
हेडफोन ज्याक पानी र धूलो प्रवेश गर्ने मुख्य बिन्दु थियो । यसलाई हटाउनाले कम्पनीहरूलाई फोनभित्र बाह्य सामग्रीको प्रवेश रोक्ने गरी डिभाइसलाई सिल गर्न सजिलो भयो । उदाहरणका लागि आईपी ६८ रेटिङ भएको सामसङ ग्यालेक्सी एस २५ ले १.५ मिटर (४.९२ फिट) पानीमा ३० मिनेटसम्म डुबाउँदा पनि प्रतिरोध गर्न सक्छ । त्यस्तै आईफोन १७ ६ मिटर (१९.६८ फिट) गहिराइको पानीमा ३० मिनेटसम्म डुब्न सक्छ ।
यसैगरी यूएसबी-सी अहिले फोन, ल्यापटप र अन्य विद्युतीय सामग्री (जस्तै: इयरबड र पावर बैँक) मा स्ट्यान्डर्ड पोर्ट बनेको छ । यूएसबी-सी पोर्टले यूएसबी अडियो मार्फत अडियो सङ्केतहरू पनि पठाउन सक्ने भएकाले यसले पुरानो हेडफोन ज्याकलाई प्रभावकारी रूपमा प्रतिस्थापन गरेको छ । यसले केबुलको अव्यवस्था कम गर्दै सहायक उपकरण व्यवस्थापनलाई सरल बनाएको छ । किनकि एउटै पोर्टले चार्जिङ, डेटा ट्रान्सफर र डिजिटल अडियो ह्यान्डल गर्छ ।
त्यस्तै आधुनिक स्मार्टफोनहरू डिजाइन गर्दा कम्पनीहरूसँग सीमित ठाउँ हुन्छ । किनकि फोनहरू केही मिलिमिटर बाक्लो र लगभग २०० ग्राम तौलका हुनुपर्छ भन्ने अपेक्षा गरिन्छ । लगभग ३.५ एमएम चौडाइको ज्याक सानो देखिए तापनि, यसको लागि आवश्यक बेलनाकार हाउजिङ र सर्किट्रीले केही आन्तरिक ठाउँ ओगट्छ ।
यसलाई हटाउँदा फोन निर्माताहरूले ठुला ब्याट्री, राम्रो ह्याप्टिक्स वा ओभरहिटिङलाई नियन्त्रण गर्न सुधारिएको कुलिङ प्रणाली जस्ता सुधारहरू समावेश गर्न बढी ठाउँ पाएका छन् ।
प्रयोगकर्तामा असन्तुष्टि
धेरैले हेडफोन ज्याक हटाउने कदमको कडा आलोचना गरेका छन् र त्यसका पछाडि दिइएका आधार र तर्कलाई गलत र आधारहीन भनेका छन् । वाटरप्रुफ हेडफोन ज्याकहरू पहिलेदेखि नै उपलब्ध रहेको र ज्याकको अनुपस्थिति पानी प्रतिरोधी क्षमता प्राप्त गर्नको लागि बाधा नभएको उनीहरूको तर्क छ ।
आलोचकहरूका अनुसार ज्याक हटाउनुको वास्तविक र एकमात्र फाइदा भनेको निर्माताहरूका लागि राम्रो नाफा मार्जिन हो । कम्पनीहरूले राम्रो बिल्ट-इन डीएसी (डिजिटल-टु-एनालग कन्भर्टर) मा समय वा पैसा खर्च गर्न नपरोस् र थप ब्लुटुथ/टीडब्लूएस हेडफोनहरू बेच्न सकियोस् भनेर ज्याक हटाएको तर्क पनि कतिपयले गरेका छन् ।
केहीले हेडफोन ज्याकको लागि आवश्यक ठाउँभन्दा धेरै स्थान अहिलेका फोनहरूमा खाली रहेको दाबी गर्दै ज्याक हटाएर हार्डवेयर सुधारका लागि ठाउँ खाली गरिएको भन्ने भनाइलाई अस्वीकार गरेका छन् ।
तार भएका हेडफोनले कम्प्रेस गरिएको ब्लुटुथ फाइलहरूभन्दा धेरै राम्रो ध्वनि दिने बताएका छन् । उनीहरूका अनुसार यूएसबी-सी मार्फत अडियो प्रयोग गर्ने कुरा हाँसो उठ्दो छ । किन भने त्यसका लागि अब एडेप्टर वा डङ्गल प्रयोग गर्नुपर्ने, जुन टुट्ने समस्या हुने र यसले लाइनमा नोइज सिर्जना गरेर अडियो गुणस्तर घटाउन सक्छ ।
अर्कोतर्फ एउटै पोर्ट चार्जिङ, हेडफोन र अन्यका लागि प्रयोग गर्दा म्युजिक सुन्ने क्रममा फोन चार्ज गर्न नसकिने समस्या पनि कतिपयले औँल्याएका छन् । ज्याक एक अपरिहार्य विशेषता भएको र यसले सस्ता हेडफोन एक डिभाइसबाट अर्कोमा छिटो र सरल तरिकाले बदल्न मद्दत गर्ने र यसका लागि फोनले कुनै प्रश्न नसोध्ने तर्क उनीहरूको छ ।
हेडफोन ज्याक हटाउने कार्यले उपभोक्ताहरूलाई ठुलो स्थायित्व र सरलीकृत यूएसबी-सी पोर्टको लाभ दिए पनि सस्तो, भरपर्दो अडियो र उच्च अडियो गुणस्तर चाहने प्रयोगकर्ताहरूले भने यसको अभाव महसुस गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: असोज २५, २०८२ १३:१६
