नेपालको जेन-जी विद्रोहको आधार डिस्कर्डमा साइबर हमला, प्रयोगकर्ताको संवेदनशील डेटा लिक
असोज २५, २०८२ १६:३२
काठमाडौँ । नेपालको जेन-जी विद्रोहमा महत्त्वपूर्ण भूमिका खेलेको सामाजिक सञ्जाल डिस्कर्डमा साइबर हमला भएको छ । भिडिओ गेमर माझ लोकप्रिय यस प्लेटफर्मका ७० हजार बढी प्रयोगकर्ताको संवेदनशील विवरण लिक भएको हो ।
कम्पनीले प्रयोगकर्तालाई सूचित गर्दै उनीहरूको उमेर प्रमाणित गर्न प्रयोग गरिएका परिचयपत्र समेत ह्याकरको पहुँचमा पुगेको स्वीकार गरेको छ । गत हप्ता कम्पनीले जारी गरेको एक विज्ञप्ति अनुसार एक अनधिकृत पक्षले डिस्कर्डको थर्ड पार्टी कस्टमर सर्भिस प्रोभाइडरको सिस्टममा पहुँच बनाएको थियो । यसबाट ग्राहक सेवा वा ‘ट्रस्ट एन्ड सेफ्टी’ टिमसँग सम्पर्क गरेका ‘सीमित सङ्ख्याका प्रयोगकर्ता’ को डेटामा पहुँच पुगेको हो ।
ह्याकरहरूले प्रयोगकर्ताको नाम, ईमेल, बिलिङसम्बन्धी जानकारी, क्रेडिट कार्डको अन्तिम चार अङ्क, आईपी ठेगाना र ग्राहक सेवासँग गरिएका मेसेज समेत चोरेको हुन सक्ने बताइएको छ । “आक्रमणकारीले उमेर निर्धारणसम्बन्धी अपिल गरेका केही प्रयोगकर्ताका सरकारी परिचयपत्र (जस्तै: ड्राइभिङ लाइसेन्स, पासपोर्ट) का तस्बिरमा पनि पहुँच बनाएको छ,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।
कम्पनीका अनुसार प्रभावित प्रयोगकर्तालाई गत हप्तादेखि नै ईमेलमार्फत सूचित गर्ने प्रक्रिया सुरु गरिएको छ । “यदि तपाईँको परिचयपत्रमा पहुँच भएको छ भने तपाईँले प्राप्त गर्नु हुने ईमेलमा सो कुरा स्पष्ट रूपमा उल्लेख गरिनेछ,” डिस्कर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यो आक्रमण डिस्कर्डबाट फिरौती माग्ने उद्देश्यले गरिएको कम्पनीको भनाइ छ । घटना लगत्तै डिस्कर्डले थर्ड पार्टी प्रोभाइडरको पहुँच रद्द गरी आन्तरिक अनुसन्धान थालेको छ र कानुनी निकायसँग सहकार्य गरिरहेको छ । एक प्रभावित प्रयोगकर्ताले प्राप्त गरेको सूचनाअनुसार यो आक्रमण २० सेप्टेम्बरमा भएको देखिन्छ ।
विश्वभर डिस्कर्डका मासिक २० करोड भन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । यस वर्षको सुरुदेखि कम्पनीले बेलायत र अस्ट्रेलियामा प्रयोगकर्ताको उमेर जाँच्न फेस आईडी र परिचयपत्र प्रमाणीकरणको व्यवस्था लागु गरेको थियो । अस्ट्रेलियाको गोपनीयता आयुक्तले डिस्कर्डको डेटा ब्रिचबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन् ।
नेपालको जेन-जी विद्रोहमा युवालाई एक ठाउँमा ल्याउन, साझा मुद्दा अघि सार्न, योजना बनाउन र अन्तरिम सरकारको प्रधानमन्त्री छनोट गर्ने काममा समेत डिस्कर्डको प्रयोग भएको थियो । नेपालमा भने उमेर प्रमाणीकरणको फिचर प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थिएन ।
पछिल्लो अध्यावधिक: असोज २५, २०८२ १६:३३
