close

गेमरको चौतारीदेखि नेपाली जेनजी आन्दोलनको हतियार बनेको डिस्कर्ड के हो ?

टेकपाना टेकपाना

भदौ २९, २०८२ २०:२५

गेमरको चौतारीदेखि नेपाली जेनजी आन्दोलनको हतियार बनेको डिस्कर्ड के हो ?

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा भएको जेन-जी प्रदर्शनका क्रममा ‘डिस्कर्ड’ नामक एक सञ्चार प्लेटफर्मले अप्रत्याशित रूपमा राष्ट्रिय चर्चा पायो । प्रदर्शनको योजना र सञ्चारको उद्गमस्थल मानिएको यो प्लेटफर्ममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा छनोट गर्न गरिएको एक अनलाइन मतदानले धेरैलाई आश्चर्यचकित बनायो ।

खासगरी सामाजिक सञ्जाल रेडिटबाट ‘नेपो किड्स’ ट्रेन्ड सुरु भएको थियो, जुन पछि डिस्कर्ड र टिकटकमा विस्तार भएपछि व्यापक बन्यो । यही माहोलबिच ८ र ९ सेप्टेम्बर (२३ र २४ भदौ) मा प्रदर्शन भयो । त्यसपछि ‘अब जेन-जीका माग र मुद्दा के हुने ?’, ‘कसरी अगाडि बढ्ने ?’, ‘कसलाई नेतृत्व छान्ने ?’ जस्ता विषयमा डिस्कर्डमा छलफल भयो ।

युथ अगेन्स्ट करप्सन’ नामक च्यानलमा १० हजारभन्दा बढी सहभागीले आफ्ना कुरा राखे र कसलाई नेतृत्व सुम्पिने भन्ने विषयमा बहस गरे । बहसपछि सुशीला कार्की, हर्क साम्पाङ, सागर ढकाल, र्‍यान्डम नेपाली र महावीर पुनलाई समेटेर अनलाइन मतदान गरियो ।

उक्त मतदानमा खसेको कुल ७,७१३ भोटमध्ये सुशीला कार्कीले सबैभन्दा बढी (५० प्रतिशत) मत पाइन् । त्यसैगरी र्‍यान्डम नेपालीले २६ प्रतिशत, सागर ढकालले १४ प्रतिशत, हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत प्राप्त गरे ।

मतदानमा सबैभन्दा बढी भोट ल्याएकी कार्कीलाई आन्दोलनको साङ्केतिक नेतृत्वकर्ता बनाउने सहमति भयो । यही विषयलाई लिएर सामाजिक सञ्जालमा ‘डिस्कर्डबाट छानिएकी पहिलो प्रधानमन्त्री’ भन्दै विभिन्न ट्रोलहरू बनेका छन् । अर्कोतिर केहीले भने यसलाई डिस्कर्डमा गरिएको एक लोकतान्त्रिक अभ्यास भन्दै प्रशंसा पनि गरेका छन् ।

त्यसो भए, के हो डिस्कर्ड ? यो कसरी युवामाझ चर्चित बन्यो ?

डिस्कर्डको कथा सन् २०१५ मा सुरु हुन्छ । अमेरिकी नागरिक जेसन सिट्रोन र स्टानिस्लाभ भिश्नेभ्स्की नामक दुई गेमर एवम् डेभलपरले एउटा ठुलो समस्याको समाधान खोजिरहेका थिए । त्यो समयमा अनलाइन गेम खेल्दा साथीसँग कुराकानी गर्न भरपर्दो र सजिलो माध्यम थिएन । खेलाडीले स्काइप वा टिमस्पिक जस्ता छुट्टै एप प्रयोग गर्थे । तर ती एपले कम्प्युटरको धेरै स्रोत खपत गर्ने, ढिलो चल्ने र प्रयोग गर्न झन्झटिलो हुनाले गेमिङको अनुभव खल्लो बनाउँथे । यही समस्यालाई समाधान गर्न उनीहरूले एउटा यस्तो प्लेटफर्म बनाउने सङ्कल्प गरे जुन कम स्रोत खपत गरोस्, छिटो होस् र गेम खेल्दा सहजै प्रयोग गर्न सकियोस् । यसरी समस्याको गर्भबाट समाधानका रूपमा ‘डिस्कर्ड’ जन्मियो ।

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ २०:५९