स्वर्गीय र्यापर यम बुद्धको डिजिटल विरासतमाथि अर्कैको कब्जा, दुरुपयोग हुँदा फ्यानहरू चिन्तित
असोज २५, २०८२ १९:३८
काठमाडौँ । नेपाली हिपहप जगतका पर्याय दिवङ्गत र्यापर अनिल अधिकारी उर्फ यम बुद्धको निधन भएको आठ वर्षभन्दा बढी भइ सक्दा पनि उनको विरासत र डिजिटल सम्पत्तिमाथिको विवादले सामाजिक सञ्जाल तातेको छ । विशेषगरी ११ लाखभन्दा बढी फलोअर भएको उनको आधिकारिक फेसबुक पेज कसले र किन चलाइरहेको छ भन्ने प्रश्नले उनका समर्थक, सहकर्मी र परिवारलाई समेत चिन्तित तुल्याएको छ ।
१४ जनवरी २०१७ मा लन्डनमा बेल्टको पासो लगाएर सदाका लागि अस्ताएका यी लोकप्रिय र्यापरको सामाजिक सञ्जाल अकाउन्ट उनको परिवारको नियन्त्रणमा हुनुपर्नेमा त्यसको दुरुपयोग भइरहेको आरोपले अहिले यो विषयलाई गम्भीर बनाएको छ ।
यम बुद्धको देहान्तपछि पनि उनको आधिकारिक फेसबुक पेज निरन्तर अपडेट भइरहेको छ । तर त्यसमा उनको सम्झना वा उनका सिर्जनाभन्दा पनि असम्बन्धित सामग्रीहरू पोस्ट भइरहेका छन् ।
सन् २०२० मा उनको पेजको बायो र वेबसाइट लिंकमा पाकिस्तानको ‘इराज प्रोडक्सन्स’को लिंक राखिएको छ र पेजमा उक्त प्रोडक्सन हाउसकै भिडिओ सामग्रीहरू प्रचारप्रसार गर्ने गरिएका छन् । यम बुद्धले आफ्नो निधनभन्दा केही समयअघि हलिउड र बलिउडका गायकसँगको सहकार्यमा इराज प्रोडक्सन्स मार्फत ‘नाचन’ बोलको गीत सार्वजनिक गरेका थिए ।
सोही समयदेखि उनीहरूबिच सहकार्य सुरु भएको थियो र यम बुद्धले आफ्नो पेजबाट उक्त प्रोडक्सनको प्रोफाइल फलो गर्न आग्रह समेत गरेका थिए । तर, उनको निधनपछि पेज पूर्ण रूपमा इराज प्रोडक्सनकै नियन्त्रणमा गएको र त्यसको दुरुपयोग भइरहेको फ्यानहरूको आशङ्का छ ।
फेसबुकको पेज ट्रान्सपरेन्सी हेर्दा उक्त पेज हाल नेपालबाट एक व्यक्तिले चलाइरहेको देखिन्छ । जसले यो विषयलाई थप रहस्यमय बनाएको छ । यो विवादमा कलाकार तथा सङ्गीतकर्मीले पनि आवाज उठाउन थालेका छन् । रबार्ज रेकर्ड्सका म्युजिक प्रोड्युसर ले जेडवाईले यम बुद्धको फेसबुक पेज र युट्युब च्यानलको पहुँच किन महत्त्वपूर्ण छ भन्ने विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
“यम बुद्धको निधनपछि उनका सबै डिजिटल सम्पत्तिमाथि कानुनी र नैतिक अधिकार उनको परिवार, विशेषगरी आमा-बुबाको हुनुपर्छ,” उनले भनेका छन्, “यम बुद्धका अप्रकाशित गीत र ‘डान्स १०१’ जस्ता भिडिओ सामग्री उनकै आधिकारिक प्लेटफर्मबाट सार्वजनिक हुनु पर्यो, अरू कसैको च्यानलबाट होइन ।”
ले जेडवाईले इराज प्रोडक्सनले यस विषयमा कुनै जवाफ नदिएको र यम बुद्धकै परिवारले पनि यस मामिलामा संलग्न नभएको दाबी गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन्, “अब यम बुद्धको लिगेसीको केही भ्यालु रहेन ? यत्तिकै खेर जान दिने उसले गरेको काम ?”
उनले परिवारबाटै सहयोग नभएकोमा दुःख व्यक्त गर्दै उनको आधिकारिक च्यानल दाबी गर्न परिवारको सहमति र मृत्यु दर्ता प्रमाणपत्र आवश्यक पर्ने, तर ती कहाँ छन् भन्ने प्रश्नसमेत उठाएका छन् । यसै क्रममा उनले यम बुद्धकी पूर्वपत्नीसँग अझै पनि उनका ल्यापटप, हार्ड ड्राइभ जस्ता महत्त्वपूर्ण सामग्री हुन सक्ने र इराजको मौनताले कोही केही लुकाइ रहेको छ कि भन्ने आशङ्का उत्पन्न गराएको बताएका छन् ।
यसैगरी ‘हिपहप म्यागेजिन’ नामक फेसबुक पेजले पनि यस विषयमा नेपाली हिपहप उद्योगको मौनतामाथि प्रश्न उठाएको छ । उक्त पेजले लेखेको छ, “एक समय यम बुद्धलाई आफ्नो प्रेरणा र आदर्श मान्ने र्यापर र कलाकार उनको आधिकारिक पेज अरूले चलाउन थाल्दा पनि पूर्ण रूपमा मौन बसे । कसैले आवाज उठाएन, कसैले प्रश्न गरेन, कसैले उनको विरासत जोगाउने प्रयास गरेन ।”
यम बुद्ध केवल एक र्यापर मात्र नभएर एउटा आन्दोलन, एउटा सन्देश र आवाज विहीनको आवाज भएको, तर आज उनको नामको रक्षा गर्नु पर्दा सिङ्गो उद्योग नै चुप बसेको देख्दा दुःख लागेको उक्त पेजले उल्लेख गरेको छ । यम बुद्धका समर्थक र ‘वाईबी फ्यान्स क्लब’ले पनि यो विषयलाई निरन्तर उठाइरहेका छन् ।
फ्यान्स क्लबका अनुसार यम बुद्धको फेसबुक पेज र युट्युब च्यानल उनको परिवार वा ‘वाईबी फाउन्डेसन’को हातमा छैन । उनीहरूले इराज प्रोडक्सनले ती अकाउन्टको दुरुपयोग गरिरहेको र त्यसबाट उत्पन्न हुने सम्पूर्ण आम्दानी समेत आफैले लिइरहेको सिधा आरोप लगाएका छन् ।
परिवारले इराजलाई सम्पर्क गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएको उनीहरूको भनाइ छ । ती अकाउन्ट यम बुद्ध फाउन्डेसनको स्वामित्वमा आउनुपर्ने, जसबाट उनको विरासतलाई जीवित राख्न र खाँचोमा परेकालाई सामाजिक काम गर्न सकिने उनीहरूको माग छ ।
सात लाख बढी सब्सक्राइबर भएको यम बुद्धको युट्युब च्यानल पनि उनको निधनपछि निष्क्रिय अवस्थामा छ । यम बुद्धको इन्स्टाग्राम अकाउन्टमा उनको निधनपछि ६ मे २०१७ मा ‘ताज’ गीतको प्रचार सामग्री राखिएको थियो । तर, उक्त भिडिओ अहिले युट्युबबाट गायब छ ।
त्यस्तै सन् २०११ तिर खोलेको यम बुद्धको ट्वीटर ह्यान्डल (हालको एक्स) सस्पेन्ड भएको छ । यम बुद्धको युट्युब च्यानलमा रहेको ट्वीटर ह्यान्डलको लिङ्क खोल्दा अहिले अकाउन्ट सस्पेन्ड भएको सूचना देखिन्छ । त्यसलाई वेब्याक मेसिनमा हेर्दा सन् २०१२ तिरका पोस्ट देखिन्छन् ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने दिवङ्गत सार्वजनिक व्यक्तित्वका आधिकारिक सामाजिक सञ्जाललाई उनीहरूको विरासत र स्मृतिलाई जीवन्त राख्न प्रयोग गरिन्छ । भारतका चर्चित गायक सिधु मुसेवाला होस् वा फुटबलका महान् खेलाडी पेले र म्याराडोना, उनीहरूका सामाजिक सञ्जाल अकाउन्ट आज पनि उनीहरूकै स्मृति र कामहरू शेयर गर्ने माध्यमका रूपमा प्रयोग भइरहेका छन् ।
तर, यसको ठिक विपरीत नेपाली हिपहपका एक हस्तीको सबैभन्दा चर्चित फेसबुक पेजमध्ये एकलाई असम्बन्धित सामग्रीको प्रचार गर्न प्रयोग गरिनु उनीमाथिको अन्याय भएको समर्थकको भनाइ छ । उनको विरासतको प्रतीकका रूपमा रहेका डिजिटल प्लेटफर्महरू सही व्यक्तिको हातमा पुर्याएर उनको कला र योगदानलाई सम्मान दिनुपर्ने, सार्वजनिक नभएका गीत बाहिर ल्याउनुपर्ने र उनको योगदानबारे डकुमेन्ट्री बनाउनुपर्ने आवाज उठिरहेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र यम बुद्ध एउटै कला क्षेत्रका व्यक्तित्व हुन् । र्याप ब्याटल शो ‘रअ बार्ज’मा यम बुद्धले नै बालेनलाई अवसर दिएका थिए । अहिले पनि ती भिडिओ युट्युबमा यथावत् छन् । यम बुद्धको सम्मानमा बालेनले तीन वर्षअघि काठमाडौँमा स्केटबोर्ड पार्क बनाउने वाचा गरेका थिए, जसको काम हाल ५० प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ ।
तर, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको महत्त्व राम्ररी बुझेका र्यापर बालेनले यस विषयमा सार्वजनिक रूपमा आफ्नो धारणा दिएका छैनन् । उनको यो मौनतालाई लिएर पनि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २५, २०८२ १९:३८
