close

गलत जानकारी फैलाएका कारण प्रतिबन्धित क्रियटरलाई दोस्रो मौका दिँदै युट्युब

टेकपाना टेकपाना

असोज २६, २०८२ १३:२६

गलत जानकारी फैलाएका कारण प्रतिबन्धित क्रियटरलाई दोस्रो मौका दिँदै युट्युब

काठमाडौँ । युट्युबले केही प्रतिबन्धित क्रियटरहरूलाई नयाँ च्यानल बनाउने अवसर दिन थालेको छ । कम्पनीले एक ब्लग पोस्ट मार्फत खासगरी कोभिड र निर्वाचनसम्बन्धी गलत जानकारी फैलाएकोमा प्रतिबन्धित क्रियटरलाई दोस्रो मौका दिने घोषणा गरेको हो ।

युट्युबले राजनीतिक दबाबपछि गत महिना नै 'क्रियटरहरूको एक उपसमूह' र 'खारेज गरिएका नीतिहरूका कारण टर्मिनेट गरिएका च्यानल'का यो पाइलट कार्यक्रम ल्याउने बताएको थियो । यो अवसर विशेष गरी कोभिड १९ र निर्वाचन सम्बन्धी नीतिको बारम्बार उल्लङ्घन गरेकोमा हटाइएका क्रियटरहरूका लागि ल्याइएको हो । उक्त नीति अहिले भने लागु छै ।

यो नयाँ पाइलट कार्यक्रम सुरु भइसकेको छ र आगामी केही हप्तामा योग्य क्रियटरहरूमा रोलआउट हुनेछ । तथापि, यो कार्यक्रम केही प्रकारका प्रतिबन्धहरूका लागि भने उपलब्ध हुनेछैन ।

यदि तपाईँ प्रतिलिपि अधिकार उल्लङ्घनका कारण प्रतिबन्धित हुनुभएको थियो भने तपाईँले यो मौका पाउनु हुने छैन । त्यस्तै यदि तपाईँ युट्युबको क्रियटरको उत्तरदायित्व सम्बन्धी नीति उल्लङ्घन गरेकोमा प्रतिबन्धित हुनुभएको थियो भने पनि यो पाइलट कार्यक्रम उपलब्ध हुनेछैन ।

यसका साथै यदि कसैले आफ्नो युट्युब च्यानल वा गुगल अकाउन्ट आफैँ मेटाएको छ भने यस समयमा नयाँ च्यानलका लागि अनुरोध गर्न सक्नेछैन । यदि च्यानल प्रतिबन्धित भएको छ भने त्यस्तो क्रियटर एक वर्षपछि मात्र नयाँ च्यानलका लागि आवेदन दिन योग्य हुनेछ ।

युट्युबका अनुसार धेरै जसो प्रतिबन्धित क्रियटरहरू दोस्रो मौका पाउन योग्य छन्। कम्पनीले भनेको छ, "युट्युब विगत २० वर्षमा विकसित भएको छ र हामीले पनि हाम्रो समुदायसँग सही काम गर्नका लागि आफ्नै लागि दोस्रो मौकाहरू पाएका छौँ ।"

युट्युबले सन् २०२० मा कोभिड खोप सम्बन्धी गलत जानकारी भएका भिडिओहरू हटाउने घोषणा गरेको थियो र पछि खोपको गलत जानकारीमा प्रतिबन्ध लगाउने गरी नीतिहरू विस्तार गरिएको थियो । अमेरिकाको क्यापिटलमा भएको ६ जनवरीको विद्रोहपछि, युट्युबले सन् २०२० को निर्वाचनको गलत जानकारी फैलाउने च्यानलहरूलाई स्ट्राइक दिने र तत्कालीन राष्ट्रपति ट्रम्पलाई नयाँ अपलोड गर्नबाट निलम्बन गरेको थियो ।

यद्यपि, कम्पनीले सन् २०२३ मा ट्रम्पको अकाउन्टमाथिको प्रतिबन्ध हटायो र कोभिड बारेका गलत जानकारीसम्बन्धी केही नीतिहरू खारेज गर्‍यो यसबाहेक युट्युबले गत महिना डोनल्ड ट्रम्पले सन् २०२१ मा दायर गरेको प्रतिबन्ध सम्बन्धी मुद्दाको किनारा लगाउन २ करोड ४५ लाख अमेरिकी डलर तिर्ने घोषणा पनि गरेको थियो । त्यसमध्ये दुई करोड २० लाख अमेरिकी डलर नयाँ ह्वाइट हाउस बलरुम निर्माण गर्न प्रयोग गरिनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १३:३३