close

फ्याक्ट चेक संयन्त्र बनाउन सञ्चारमन्त्रीको आग्रह, तर प्रेस काउन्सिल भन्छः बजेट र जनशक्ति छैन

टेकपाना टेकपाना

असोज २६, २०८२ १४:४०

फ्याक्ट चेक संयन्त्र बनाउन सञ्चारमन्त्रीको आग्रह, तर प्रेस काउन्सिल भन्छः बजेट र जनशक्ति छैन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाल र सञ्चार माध्यममा आउने विभिन्न विषयवस्तु र भ्रामक सामग्रीको तथ्य जाँच गर्नका लागि आवश्यक संयन्त्र बनाउन अनुरोध गरेका छन् । आइतबार प्रेस काउन्सिल नेपालको भ्रमणका क्रममा उनले तथ्य जाँचका लागि संयन्त्र बनाउन अनुरोध गरेका हुन् ।

मन्त्रीको आग्रहपछि यो विषयमा छलफल गर्ने तयारी गरिएको काउन्सिलका प्रवक्ता दीपक खनालले बताए । उनले भने, "यसका लागि मन्त्री ज्यूले केही सहकार्य गर्नु पर्‍यो भने सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।"

प्रेस काउन्सिलले अहिले पनि आफ्नो अनुगमनका लागि तथ्य जाँच गरिरहेको प्रवक्ता खनालले बताए । उनले भने, " समाचार आएपछि सम्बन्धित व्यक्तिलाई फोन गरेर बुझ्ने वा लिखित जवाफ मागेर तथ्य जाँच गरिरहेका हुन्छौँ ।" 

तर पछिल्लो समय मिडिया र सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रामक समाचार तथा जानकारी फैलिरहेका छन् । एआई लयातका प्रविधिको प्रयोग गरेर भ्रम फैलाउने काम पनि भइरहेका छन् ।

तर तत्काल तथ्य पत्ता लगाउन सक्ने प्राविधिक संयन्त्र काउन्सिलसँग नरहेको उनले बताए । यस्तो संयन्त्र निर्माण गर्नका लागि बजेट र जनशक्ति समेत नरहेको उनको भनाइ छ । यसका लागि प्राविधिक जनशक्ति आवश्यक परेमा सहयोगका लागि तयार रहेको सञ्चारमन्त्रीले बताएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १४:४१