फ्याक्टचेकः कम्मरमा पेस्तोल लुकाइरहेको देखिने भाइरल भिडिओ तथा फोटोको वास्तविकता के हो ?
असोज २६, २०८२ २२:१०
काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जालमा टीओबी अङ्कित टी-शर्ट लगाएको र अर्का एक व्यक्तिबाट पेस्तोल लिएर कम्मर पछाडि लुकाइरहेको देखिने एक फोटो भाइरल भइरहेको छ । टी-शर्टकै कारण ती व्यक्ति शनिबारदेखि नै चर्चाको केन्द्रमा छन् ।
छेउमा बाइकमा बसेका युवकले ती पुरुषले बन्दुक राखेको हेरिरहेको जस्तो देखिन्छ । सामाजिक सञ्जालमा उक्त तस्बिरहरू भाइरल भएपछि टेकपानाले त्यसको तथ्यजाँच गरेको छ । तथ्यजाँचका क्रममा उक्त तस्बिर जेन-जी आन्दोलनमा टीओबी (टिबेटन ओरिजिनल ब्लड) समूहको नेतृत्व गरेका तेन्जिङ दावाको भएको पाइएको छ । तर दावाको उक्त तस्बिर कुन समयमा खिचिएको भने कुरा चाहिँ यकिन साथ पुष्टि हुन सकेन ।
दाबी
सामाजिक सञ्जालमा फेसबुक प्रयोगकर्ता ‘Prakashchandra Joshi’ ले आइतबार दिउँसो ३:०५ बजे बन्दुकसहितको एक तस्बिर पोस्ट गरे । उक्त तस्बिरलाई आधार बनाएर उनले २३ भदौमा प्रहरीबाट मात्र नभइ अन्य व्यक्तिबाट पनि गोली चलेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । उनले लेखेका छन्, “यो photo देखिसकेपछि.....भाद्र २३ गते चलेका सबै गोली प्रहरीको बन्दुकबाट मात्रै नभएर कतै अन्तबाट पनि चलेका थिए भन्ने पो भयो त !!!” पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
सामाजिक सञ्जाल प्रयोगकर्ता ‘Sharmila Acharya’ ले "कुन चाहिं आतङ्ककारी हो यो??" भन्दै सोही फोटो शेयर गरेकी छिन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
एमाले नेता महेश बस्नेतले पनि फेसबुकमा पेस्तोल देखिएको तस्बिर लिइएको भिडिओ पोस्ट गरेका छन् । उनले उक्त पोस्टमा लेखेका छन्, “यस्ता हतियारधारी आतङ्ककारीको प्रवेश गराएर जनताको हत्या गरि देशलाई खरानी पार्ने र तत्कालीन सरकारलाई दोष लगाउने षडयन्त्रकारीहरू सुदन गुरुङ,बालेन शाह,गृहमन्त्री ओम प्रकाश अर्याल र सुशीला सरकारले सम्पूर्ण घटनाको जनतालाई सहि जानकारी गराई यसको जीम्मा समेत लिनुपर्छ । यो विषयको उजागर गर्ने पत्रकार दिवाकर शाहलाई हार्दिक धन्यवाद छ ।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट । उक्त भिडिओमा Tenzing-ad टिकटक अकाउन्टको वाटरमार्क देख्न सकिन्छ ।
हामीले सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त फोटो तथा भिडिओमा टीओबीको टी-शर्ट देखेपछि ‘TOB Biker’ सर्च गर्दा एउटा क्यापकट नामक एपमार्फत एडिट गरिएको भिडिओ फेला पर्यो । दिउँसो करिब २ बजे ‘The Voice of Gen Z’ नामक टिकटक अकाउन्टमा फेला पारेको उक्त भिडिओ अहिले भने हटिसकेको छ ।
त्यसैले हामीले उक्त टिकटक अकाउन्टको इनबक्समा भिडिओ माग्यौँ । उनले उक्त भिडिओ आइतबार बिहान मात्र Tenzing_ad नामको युजर अकाउन्टमा फेला पारेर आफूले डाउनलोड गरेको बताए । आफूले भने भिडिओबाट वाटरमार्क हटाएर सार्वजनिक गरेको सुनाए ।
<iframe src="https://drive.google.com/file/d/1CsWhcAF_Z-3G0In96AOFPjyxObBllixQ/preview" width="640" height="480" allow="autoplay"></iframe>
डिओमा टीओबीसँगै चर्चामा आएका तेन्जिङ दावा देखिएका छन् । उनी टीओबीको टीशर्ट, ज्याकेट र झन्डासहित आफ्नो समूहको नेतृत्व गर्दै २३-२४ भदौको जेन-जी आन्दोलनमा पुगेका थिए । आइतबारदेखि भाइरल भिडिओमा दावा चुरोट खाँदै बाइकमा बसेका अर्का एक व्यक्ति भएको ठाउँमा आउँछन् । त्यसपछि बाइकमा बसेका ती व्यक्तिले दावालाई पेस्तोल दिन्छन् । त्यसपछि उनी आफ्नो कम्मर पछाडि बन्दुकलाई राखेर सोही बाइकको पछाडि बस्छन् र अर्को व्यक्तिले बाइक चलाउँछन् ।
२१ सेकेन्ड लामो उक्त भिडिओमा देखिएका व्यक्ति तेन्जिङ दावा नै हुन् भनेर स्पष्ट भएपछि हामीले उनलाई सम्पर्क गर्यौँ । आइतबार दिउँसो सम्पर्कमा आएका उनले टीओबीको टीशर्टमा देखिएको र बन्दुक बोकिरहेको व्यक्ति आफू नै रहेको स्वीकार गरे । तर उक्त भिडिओ जेन-जी आन्दोलनभन्दा धेरै पहिलाको भएको उनको दाबी छ ।
उनका अनुसार उक्त भिडिओ कम्तीमा दुई वर्ष पहिला म्युजिक भिडिओको लागि खिचिएको हो । उनले भने, “मैले पहिला त्यो बेलामा टिकटकटमा हालेको थिएँ । तर फोन हराएपछि मैले त्यो आईडी डिएक्टिभेट गरेँ । त्यो बेलाको भिडिओबाट रातारात कसरी भाइरल भयो थाहा भएन ।”
उक्त बन्दुक नक्कली रहेको दाबी उनले गरे । उनले भने, “यो गन एयरसफ्ट गन हो । प्लास्टिकको यो गनमा पहेँलो पहेँलो बुलेट हुन्छ । भृकुटीमण्डप, सपिङ मल, केएल टावरमा सजिलै पाइन्छ ।” हिपहप गीतहरूमा नक्कली बन्दुक, काठबाट बनेका हतियारहरू प्रयोग गर्नु सामान्य भएको उनको भनाइ छ ।
१० महिना पहिला सार्वजनिक भएको हाकिमको गीत ‘चिसो चिसो हावाले’ को शुटिङका लागि ‘प्रप’ (prop) आवश्यक पर्न सक्ने भएकाले उक्त गन लिएको र त्यसैका लागि भिडिओ खिचेको दावा बताउँछन् । हाकिम गुरुङको उक्त म्युजिक भिडिओमा दावाले पनि खेलेका छन् ।
तर पछि म्युजिक भिडिओको लोकेसन परिवर्तन भएर पूर्ण रूपमा मुस्ताङ छनोट भएको थियो र त्यसैले उक्त भिडिओ क्लिप म्युजिक भिडिओमा प्रयोग नगरिएको उनको भनाई छ ।
पछिल्लो समयमा उक्त तस्बिर भाइरल भएपछि आफू उक्त बन्दुक लिएर प्रहरी प्रधान कार्यालय नै जाने तयारीमा रहेको उनले बताएका थिए । “प्रहरीबाट त अहिलेसम्म केही कुरा आएको छैन । मेरो घरमा नै छ त्यो बन्दुक । त्यसलाई लिएर म प्रहरी प्रधान कार्यालयमा जाने तयारीमा छु । त्यहाँ गएर त्यो बन्दुक कस्तो हो भनेर पनि देखाउँछु ।”
आइतबार साँझसम्ममा उनले प्रमाणसहित उक्त भिडिओ आन्दोलनको समयको नभएको जानकारी गराउने बताए । आइतबार साँझ उनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । हामीले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईसँग बुझ्दा उनी आफैँ प्रहरीको सम्पर्कमा आएको र हाल नियन्त्रणमा रहेको बताए । त उक्त पेस्तोल लिएर आएको वा नआएको विषयमा उनले खुलाउन चाहेनन् ।
यस्तै र्यापर डीएनएक्सले उक्त भिडिओ ५ महिना पुरानो भएको देखिने गरी एक भिडिओ पोस्ट गरेका छन् । जसमा सो भिडिओ ५ अप्रिल २०२५ मा क्यापकटबाट सेभ गरिएको प्रमाण समावेश छ । हेर्नुहोस्, भिडिओ र स्क्रिनशट ।
भिडिओको प्राविधिक तथा परिस्थितिजन्य विश्लेषण
भिडिओ काठमाडौँको बबरमहलस्थित आर्क ब्रिजमा साँझको समयमा खिचिएको हो । जहाँ बत्तीहरू बलेको र पृष्ठभूमिमा सवारीसाधन सामान्य रूपमा चलिरहेको स्पष्ट देखिन्छ । जेन-जी आन्दोलनका क्रममा उक्त क्षेत्र तनावग्रस्त रहेको थियो भने सवारी आवागमन अवरुद्ध थियो । तर, भिडिओमा देखाइएको शान्त र सामान्य वातावरणले यो दृश्य आन्दोलनको समयको हो भन्ने दाबीसँग मेल खाँदैन ।
यो भिडिओ एकै शटमा खिचिएको नभई, कम्तीमा चार फरक कोणबाट खिचिएका क्लिपहरूलाई ‘क्यापकट’ प्रयोग गरी जोडिएको छ । भिडिओ खिच्ने व्यक्तिको छायाँ देखिनुले यो लुकेर खिचिएको नभई, योजनाबद्ध र भिडिओमा देखिने पात्रहरूको जानकारीमा खिचिएको प्रस्ट हुन्छ । जसले कुनै आपराधिक घटनाको भन्दा पनि प्रदर्शन वा मनोरञ्जनका लागि बनाइएको भिडिओतर्फ सङ्केत गर्छ ।
कुनै गम्भीर आपराधिक क्रियाकलाप वा हतियारको कारोबारका लागि काठमाडौँको यस्तो व्यस्त र खुला सार्वजनिक स्थान छनोट गर्ने कुरा तर्क सङ्गत देखिँदैन । भिडिओमा बन्दुक लिने र दिने व्यक्ति एउटै बाइकमा सँगै जानुले पनि यो कुनै वास्तविक हतियार ‘डिल’ नभएको कुरालाई बल पुर्याउँछ । किन कि यथार्थमा उनीहरू बाइकमा अन्यत्रै गएर कुनै अँध्यारो, एकान्त वा गोप्य ठाउँमा हतियारको लेनदेन गर्न सक्थे ।
भिडिओमा भौतिक नियमहरू (Physics) प्राकृतिक देखिने र दावा स्वयँले स्वीकार गरेकाले यो एआई-निर्मित नभई वास्तविक नै हो । केहीले दावाले फोन समाएको भिडिओलाई एआईबाट बन्दुक समाएको जस्तो देखाइएको दाबी गरेका छन् । तर, त्यो स्मार्टफोन देखिएको फोटो भने एआई सिर्जित हो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भिडिओमा Tenzing_ad नामक टिकटक वाटरमार्क छ, जुन दावाकै आधिकारिक अकाउन्ट हो । कुनै पनि व्यक्तिले आपराधिक कार्यको प्रमाण आफैँले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु अस्वाभाविक र अविश्वसनीय कुरा हो ।
दावाले म्युजिक भिडिओको बिरोलका लागि भिडिओ खिचेको तर पछि मुस्ताङकै क्लिप प्रयोग गरिएको दाबी गरेका छन् । अहिले उनको म्युजिक भिडिओमा सो क्लिप वा त्यही हतियार देखिने अन्यत्रको क्लिप समावेश छैन ।
यस्तै हामीले आइतबारदेखि भाइरल उक्त भिडिओ तथा फोटोहरू सामाजिक सञ्जालमा खोज्दा हालसालै मात्र भाइरल भएको पाइयो । टीओबी अङ्कित टीशर्ट, ज्याकेट र झन्डा बोकेका मानिसहरूका भिडिओ तथा फोटोहरू भने जेनजी आन्दोलनकै क्रममा छ्यापछ्याप्ती पोस्ट भएका थिए, जुन अहिले पनि सहजै भेटिन्छन् ।
तर बन्दुक बोकेको यो भिडिओ भने आइतबार गरिएका सामाजिक सञ्जाल पोस्टहरूमा मात्र देखिन्छ । हामीसँगको कुराकानीमा दावाले उक्त भिडिओ आफैँले म्युजिक भिडिओका लागि खिचेको र सामाजिक सञ्जालमा राखेको समेत स्वीकार गरेका छन् ।
तर, फोन हराएपछि आईडी डिएक्टिभेट गरेको र त्यस क्रममा सबै भिडिओ हटेको तथा आफूसँग पनि उक्त भिडिओ नरहेको दाबी उनले गरेका छन् । तर, अहिले जुन भिडिओ भाइरल भइरहेको छ, त्यसमा दावाको सन् २०२० देखि सक्रिय टिकटक अकाउन्टकै वाटरमार्क छ । एउटै युजरनेम भएका दुई ओटा फरक टिकटक आईडी एकै समयमा अस्तित्वमा नरहन सक्ने भएकाले आफ्नो पुरानो आईडी डिएक्टिभेट भएको उनको दाबी विश्वासिलो लाग्दैन ।
दावाको टिकटक आईडीमा राखिएको पहिलो भिडिओको मिति
त्यसैले उनको भनाइमा केही विरोधाभास पनि देखिन्छ । यसबाट उनले सम्भवतः जेन-जी प्रदर्शनपछि टीओबीलाई लिएर एउटा विवाद सिर्जना भइरहेको बेला हतियार देखिने अर्को भिडिओले झनै समस्यामा पार्नसक्ने ठानेर आफैँले जानाजान सो भिडिओ हटाएको वा प्राइभेट राखेको हुन सक्ने सम्भावना बलियो छ ।
दाबी
जेनजी आन्दोलनमा टीओबीका युवाले बन्दुक प्रयोग गरे ।
दाबीकर्ता
महेश बस्नेतसहितका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्यजाँच
भाइरल तस्बिर कुनै एआई प्रविधिबाट तयार पारिएको होइन । उक्त तस्बिर साँचो हो । भिडिओमा देखिएका व्यक्ति टीओबी समूहको नेतृत्व गर्दै जेनजी आन्दोलनमा सामेल भएका तेन्जिङ दावा हुन् ।
दावाले भिडिओ दुई वर्षअघि म्युजिक भिडिओका लागि खिचिएको दाबी गरेका छन् । प्रयोग गरिएको बन्दुक एयरसफ्ट गन (नक्कली बन्दुक) रहेको उनले बताए ।
दावाले भिडिओ पुरानो टिकटक अकाउन्टबाट हालेको र हाल सो डिएक्टिभेट गरेको बताएका छन् । तर भाइरल भिडिओमा देखिएको वाटरमार्क ‘Tenzing_ad’ युजरनेम भएको टिकटक अकाउन्ट उनले सो कुरा बताइरहँदा पनि सक्रिय नै थियो ।
र्यापर डीएनएक्सले उक्त भिडिओ कम्तीमा ६ महिना पुरानो भएको दाबी गरेका छन् । तर दावाले २ वर्ष पुरानो बताएका छन् । उक्त भिडिओ हालै मात्र सामाजिक सञ्जालमा राखिएको प्रमाण फेला परेको छ । त्यसैले उक्त भिडिओ कुन समयको हो भनेर यकिन गर्न सकिएन ।
निष्कर्ष
सामाजिक सञ्जालमा टीओबीको टिसर्टमा कम्मरमा बन्दुक राख्दै गरेको एक तस्बिर भाइरल भएको छ । टेकपानाले गरेको तथ्यजाँचमा उक्त भाइरल भएको तस्बिर वास्तविक भएको पत्ता लागे पनि कुन समयमा खिचिएको भन्ने पुष्टि हुन सकेन । भिडिओमा देखिएका व्यक्ति भने जेनजी आन्दोलनमा टीओबी समूहलाई नेतृत्व गरेका तेन्जिङ दावाको हो ।
दावाले टिकटकमा राखिएको भिडिओ दुई वर्षअघि म्युजिक भिडियोको लागि खिचिएको र प्रयोग गरिएको बन्दुक एयरसफ्ट (नक्कली) भएको दाबी गरेका छन् । दावाले उक्त भिडिओ राखेको टिकटक अकाउन्ट डिएक्टिभेट गरेको बताएका छन् । तर भाइरल भिडियो पोस्ट गर्ने ‘Tenzing_ad’ अकाउन्ट हाल पनि सक्रिय रहेको देखिन्छ । त्यसैले उनको सबै दाबीलाई विश्वास गर्न सक्ने आधार पनि देखिएन ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २६, २०८२ २२:१९
