राष्ट्र बैँकले सार्वजनिक गर्यो नेसनल पेमेन्ट इकोसिस्टमको रोडम्याप, इमेलमा सुझाव दिन सकिने
असोज २७, २०८२ १२:२४
काठमाडौँ । नेपाल राष्ट्र बैँकले 'नेसन पेमेन्ट स्विच (एनपीएस) एन्ड नेसनल पेमेन्ट इकोसिस्टम-मास्टर रेफ्रेन्स डकुमेन्ट' तयार पारेको छ । देशको डिजिटल भुक्तानी प्रणालीलाई एकीकृत, सुरक्षित र समावेशी बनाउने उद्देश्यका साथ केन्द्रीय बैँकले यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
यस प्रतिवेदनमा नेपालको राष्ट्रिय भुक्तानी इकोसिस्टमको विस्तृत परिकल्पना प्रस्तुत गरिएको छ र नेसनल पेमेन्ट स्विचको आर्किटेक्चर तथा भूमिकालाई स्पष्ट पारेको छ । हालको डिजिटल भुक्तानी परिदृश्यमा देखिएको विभाजित अवस्था, क्लोज-लुप सिस्टमहरूको बाहुल्यता र पूर्ण अन्तर सञ्चालन (full interoperability) को कमी जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न एनपीएसलाई केन्द्रीय स्विचिङ पूर्वाधारको रूपमा डिजाइन गरिएको हो ।
भुक्तानी तथा फर्छ्यौट ऐन, २०७६ को दफा २१ अनुसार सबै संस्था र तिनीहरूका भुक्तानी उपकरणहरू एनपीएसमा एकीकृत हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
एनपीएसको प्रमुख उद्देश्य नेपालमा अन्तर सञ्चालन योग्य खुद्रा भुक्तानी इकोसिस्टम (कार्ड र गैर-कार्ड दुवै) लागु गर्नु र सीमापार भुक्तानीका लागि अन्तर्राष्ट्रिय नेटवर्क प्रदायकहरूसँग जोड्नु रहेको छ । यसमा मुख्य रूपमा तीन वटा भागहरू समावेश छन्: खुद्रा भुक्तानी स्विच (आरपीएस), सीमापार भुक्तानीका लागि एनपीआईएक्स र नेसनल कार्ड स्विच (एनसीएस) ।
राष्ट्र बैँकका अनुसार रिटेल पेमेन्ट स्विच गैर-कार्डमा आधारित खुद्रा कारोबारहरूको रुटिङ र फर्छ्यौटका लागि डिजाइन गरिएको कोर स्विच हो । नोभेम्बर २०२१ देखि सञ्चालनमा रहेको यो प्रणालीलाई क्लोज-लुप सिस्टम (भुक्तानी सेवा प्रदायकहरूको अन्तर सञ्चालन), विभिन्न क्यूआर योजना र सीमापार भुक्तानीहरूको अन्तर सञ्चालन सुनिश्चित गर्न डिजाइन गरिएको छ ।
यस्तै क्रस-बोर्डर पेमेन्ट एनपीएस भित्रको सीमापार इन्जिन हो, जसले अन्तर्राष्ट्रिय भुक्तानी साझेदारहरूसँग सहकार्य गरी सीमापार कारोबारको रुटिङ र प्रशोधन गर्दछ । हाल सञ्चालनमा रहेको एनपीआईएक्समा व्यक्ति-देखि-व्यापारी (पीटुएम) प्राप्ति (acquiring) सेवाहरू छन् भने व्यक्ति-देखि-व्यक्ति (पीटुपी) भुक्तानी हाल क्लोज युजर ग्रुप परीक्षण चरणमा रहेको छ ।
यसैगरी नेसनल कार्ड स्विच र नेपाल पे कार्ड योजना नेपालभित्र सञ्चालित कार्डहरूको स्थानीय रुटिङ र फर्छ्यौटको लागि डिजाइन गरिएको अन्तर सञ्चालनयोग्य कार्ड स्विच हो । आन्तरिक कार्ड योजनासहित यो १८ चैत, २०८१ देखि सञ्चालनमा छ ।
नेपाल पे कार्ड
नेसनल कार्ड स्विच (NCS) अन्तर्गत नेपालपे (NEPALPAY) नामक ईएमभी (EMV) अनुरूपको आन्तरिक कार्ड योजना ल्याइएको छ । यो कार्ड योजनाले डेबिट, क्रेडिट र प्रिपेड कार्डहरूलाई सपोर्ट गर्दछ ।
नेपाल पे कार्डको अन्तर्राष्ट्रिय स्वीकार्यता डिस्कभर फाइनान्सियल सर्भिसेस (डीएफएस) नेटवर्कमार्फत सुनिश्चित गरिने कुरा प्रतिवेदनमा उल्लेख छ ।
एनपीएस-एनसीएस कार्ड स्विचले नेपाली मर्चेन्ट टर्मिनलहरूमा प्रयोग गरिएका सबै कार्डहरूको आन्तरिक रुटिङ सुनिश्चित गर्नेछ । पहिलो चरणमा भिसा, मास्टरकार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरूको अन्तर्राष्ट्रिय कारोबार रुटिङ हालकै व्यवस्थाबाट हुने भए पनि दोस्रो चरणमा सबै कार्ड सम्बन्धी अन्तर्राष्ट्रिय रुटिङ एनपीएस-एनसीएस मार्फत नै हुने राष्ट्र बैँकले जनाएको छ ।
मुख्य फाइदा: अन्तर सञ्चालन र लागत कटौती
एनपीएसको परिकल्पनाले भुक्तानी पूर्वाधारको सबलीकरण र अन्तर सञ्चालनलाई बढावा दिन्छ । जसले बैँक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई प्रत्येक योजनाको लागि छुट्टै सदस्यता लिनुपर्ने आवश्यकतालाई कम गर्दछ ।
एनपीएस मार्फत सम्पूर्ण खुद्रा कारोबारहरूको नेट फर्छ्यौट (Net Settlement) रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणालीमा सुनिश्चित गरिनेछ । यसले प्रणालीगत जोखिम र परिचालन लागत दुवैलाई कम गर्ने लक्ष्य राखेको छ ।
यो एकीकृत भुक्तानी इकोसिस्टमले विद्यमान नेटवर्कहरूको सह-अस्तित्व र अन्तर सञ्चालनलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । जसले गर्दा इनोभेसन र प्रतिस्पर्धा फस्टाउन सक्छ । यसरी एनपीएस नेपालको वित्तीय इकोसिस्टमका लागि डिजिटल मेरुदण्डको रूपमा स्थापित हुनेछ, जसले नागरिक, व्यवसाय र समग्र अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ । राष्ट्र बैँकले यस प्रतिवेदन उपर सरोकारवालाबाट इमेल ([email protected]) मार्फत राय तथा सुझाव समेत माग गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १२:२५
