close

माइक्रोसफ्टले विन्डोज १० को सपोर्ट बन्द गरेपछि पनि सेक्युरिटी अपडेट पाइरहने तरिका

टेकपाना टेकपाना

असोज २९, २०८२ २२:४

माइक्रोसफ्टले विन्डोज १० को सपोर्ट बन्द गरेपछि पनि सेक्युरिटी अपडेट पाइरहने तरिका

काठमाडौँ । माइक्रोसफ्टले आधिकारिक रूपमा १४ अक्टोबर, २०२५ मा विन्डोज १० को सपोर्ट (support) बन्द गरिसकेको छ । तर, तपाईँले आफ्नो कम्प्युटरलाई विन्डोज ११ मा अपग्रेड गर्न सकिरहनु भएको छैन भने एक्सटेन्डेड सेक्युरिटी अपडेट्स (Extended Security Updates - ESU) कार्यक्रममा साइन अप गर्न सक्नुहुन्छ ।

यो कार्यक्रममा इनरोल गर्दा तपाईँँले १३ अक्टोबर, २०२६ सम्म महत्त्वपूर्ण सेक्युरिटी प्याचहरू प्राप्त गर्न सक्नु हुनेछ । यो कार्यक्रमले तपाईँको डिभाइसलाई क्रिटिकल र महत्त्वपूर्ण सेक्युरिटी अपडेटहरू प्रदान गरी मालवेयर र साइबर आक्रमणको जोखिम कम गर्न मद्दत गर्दछ ।

कसरी हुने इनरोल ?

ईएसयू कार्यक्रममा सहभागी हुनका लागि तपाईँको डिभाइसले केही निश्चित पूर्व सर्त भने पुरा गरेको हुनु पर्छ । जसअनुसार तपाईँको कम्प्युटरमा विन्डोज १० भर्सन 22H2 (होम, प्रोफेसनल, प्रो एजुकेसन वा वर्कस्टेसन एडिसन) चलिरहेको हुनुपर्छ ।

यसमा उपलब्ध सबै पछिल्ला विन्डोज अपडेटहरू भएको हुनुपर्छ, जसमा अगस्ट २०२५ को प्याच KB5063709 पनि समावेश छ । साथै तपाईँले आफ्नो डिभाइसमा माइक्रोसफ्ट अकाउन्टमा लगइन गरेको पनि हुनुपर्छ । जुन एडमिनिट्रेटर अकाउन्ट हुनुपर्छ ।

तर ईएसयूमा इनरोल हुनका लागि तपाईँको कम्प्युटर विन्डोज ११ सँग कम्प्याटिबल हुनुपर्छ भन्ने जरुरी छैन । यो उपभोक्ता ईएसयू कार्यक्रम व्यावसायिक डिभाइसहरूमा चाहिँ प्रयोग गर्न सकिँदैन ।

यति भइसकेपछि तपाईँ विन्डोज १० ईएसयूमा तीन तरिकाले इनरोल गर्न सक्नुहुन्छ । यदि तपाईँ वनड्राइभमा आफ्नो पीसी सेटिङ ब्याकअप गर्दै हुनुहुन्छ भने निःशुल्क रूपमा यो कार्यक्रममा इनरोल गर्न सक्नुहुन्छ । यो विकल्प माइक्रोसफ्ट ३६५ सब्सक्रिप्सन बिना पनि उपलब्ध छ ।

अर्को विकल्प हो शुल्क तिरेर कार्यक्रममा सहभागी हुने । तपाईँ एक पटकको ३० अमेरिकी डलर भुक्तानी गरेर पनि ईएसयूमा इनरोल हुन सक्नुहुन्छ ।

यस बाहेक यदि तपाईँले माइक्रोसफ्ट रिवार्ड्स कार्यक्रम अन्तर्गत १,००० पोइन्टहरू जम्मा गर्नुभएको छ भने ती पोइन्टहरू रिडिम गरेर पनि ईएसयूमा इनरोल हुन सक्नुहुन्छ ।

एउटै माइक्रोसफ्ट अकाउन्ट प्रयोग गरी १० वटासम्म कम्प्युटरहरूमा ईएसयू लाइसेन्स प्रयोग गर्न सक्नुहुन्छ । विन्डोज १० ईएसयूमा इनरोल गर्ने प्रक्रियाका लागि निम्न चरणहरू अपनाउन सक्नु हुन्छ । तपाईँले जुनसुकै विकल्प रोजे पनि इनरोलमेन्टको प्रक्रिया भने एउटै हुन्छ ।

यसका लागि सबैभन्दा पहिला आफ्नो कम्प्युटरको Settings खोल्नुहोस् र Updates & Security मा क्लिक गर्नुहोस् । त्यहाँ रहेको Windows Update मा गएर Check for Updates मा क्लिक गर्नुहोस् । यसले तपाईँको डिभाइसका लागि पछिल्ला अपडेटहरू उपलब्ध भए नभएको सुनिश्चित गर्दछ ।

यदि तपाईँको डिभाइस योग्य छ भने तपाईँले एक सपोर्ट नोटिफिकेसन अन्तर्गत ईएसयूमा इनरोल गर्नका लागि लिंक देख्नु हुनेछ । उक्त सूचना अन्तर्गत Enroll Now मा क्लिक गर्नुहोस् र त्यसपछि Next मा क्लिक गर्नुहोस् । यदि तपाईँ लोकल अकाउन्टबाट लगइन हुनुहुन्छ भने, तपाईँलाई आफ्नो माइक्रोसफ्ट अकाउन्टमा साइन इन गर्न प्रेरित गरिनेछ ।

यहाँ तपाईँले आफ्नो रोजाइको इनरोलमेन्ट विकल्प (जस्तै: Back up your PC settings, Redeem Microsoft Rewards points, वा One time purchase) चयन गर्न सक्नुहुन्छ ।

विकल्प चयन गरेपछि Next चयन गर्नुहोस् र अन-स्क्रिनमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस् । प्रक्रिया समाप्त भएपछि Done मा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि अब तपाईँ सफलतापूर्वक इनरोल हुनुभयो कि भएन भनेर सुनिश्चित गर्नका लागि पुनः Windows Update सेटिङमा जानु होस् र your PC is enrolled to get extended security updates भन्ने सूचना हेर्नुहोस् ।

सेक्युरिटी अपडेट प्राप्त गरिरहन तपाईँले हरेक ६० दिनमा एक पटक त्यो विन्डोज १० डिभाइसमा आफ्नो माइक्रोसफ्ट अकाउन्टमा लग इन गर्नुपर्नेछ ।ईएसयूले तपाईँलाई सुरक्षा प्रदान गरे पनि यो कुनै स्थायी समाधान भने होइन ।

माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई अन्ततः विन्डोज ११ मा अपग्रेड गर्न कै लागि बाध्य पार्छ । किनकि ईएसयू कार्यक्रम सन् २०२६ मा समाप्त भएपछि विन्डोज १० मा कुनै नयाँ फिचर, सुविधा वा प्रोग्रामको लागि सपोर्ट उपलब्ध हुने छैन ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ २२:२९