अब जासुसी सफ्टवेयर पेगाससले ह्वाट्सएप प्रयोगकर्तालाई निशाना बनाउन नपाउने
कात्तिक २, २०८२ ९:२९
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको एक अदालतले इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुपलाई मेटाको मेसेजिङ सेवा ह्वाट्सएपलाई लक्षित गर्नबाट स्थायी रूपमा रोक लगाउने आदेश दिएको छ । अमेरिकी जिल्ला न्यायाधीश फिलिस ह्यामिल्टनले शुक्रबार जारी गरेको २५ पृष्ठको फैसलामा एनएसओ ग्रुपलाई ह्वाट्सएप 'ब्रेक' (तोडफोड) गर्ने प्रयासहरूमाथि स्थायी निषेधाज्ञा लगाएकी हुन् ।
निषेधाज्ञा आदेशसँगै न्यायाधीश ह्यामिल्टनले हालै सम्पन्न भएको निर्णायक मण्डलको परीक्षणमा तोकिएको जरिबाना रकममा एनएसओलाई ठुलो राहत पनि दिएकी छन् । यस वर्षको सुरुमा एक निर्णायक मण्डलले एनएसओ ग्रपले मेटालाई १ करोड ६७ लाख अमेरिकी डलरभन्दा बढी तिर्नुपर्ने फैसला गरेको थियो ।
न्यायाधीश ह्यामिल्टनले एनएसओले मेटालाई तिर्नुपर्ने दण्डात्मक क्षतिपूर्तिको रकम १ करोड ६७ लाख अमेरिकी डलरबाट घटाएर लगभग ४० लाख अमेरिकी डलरमा झारेकी छन् । यो दण्डात्मक क्षतिपूर्तिमा ९७% को कटौती हो ।
न्यायाधीशले अदालतसँग एनएसओ ग्रुपको व्यवहार विशेष रूपमा गम्भीर (particularly egregious) भनी निर्धारण गर्न पर्याप्त प्रमाण नभएकाले दण्डात्मक क्षति अनुपातलाई ९:१ मा सीमित गरिएको बताएकी छिन् । यो फैसला सन् २०१९ को घटनासँग सम्बन्धित छ, जसमा मानव अधिकार अभियन्ता र पत्रकारहरू लगायत १४०० भन्दा बढी ह्वाट्सएप प्रयोगकर्तालाई लक्षित गरिएको थियो ।
यो निषेधाज्ञा एनएसओका लागि ठुलो चुनौतीको रूपमा आउन सक्ने ठानिएको छ । एनएसओ ग्रुपले लामो समयदेखि आफ्नो प्रमुख ह्याकिङ उपकरण पेगासस मार्फत मानव अधिकार हननमा सहयोग पुर्याएको आरोप खेपिरहेको छ । पेगाससले निगरानीका लागि प्रयोग हुने सफ्टवेयरमा रहेका कमजोरीहरूको फाइदा उठाउँछ, जसले ह्वाट्सलाई यसको ठुलो लक्ष्यहरूमध्ये एक बनाएको थियो ।
एनएसओले ह्वाट्सएप माथि कारबाही गर्नबाट रोक्ने कुनै पनि निषेधाज्ञाले एनएसओको सम्पूर्ण उद्यमलाई जोखिममा पार्नेछ र एनएसओलाई व्यवसायबाट बाहिर निकाल्न बाध्य पार्ने भन्दै पहिले नै अदालतमा तर्क पेस गरिसकेको छ ।
आफ्नो उत्पादनले गम्भीर अपराध र आतङ्कवादसँग लड्न मद्दत गर्ने कुरामा लामो समयदेखि जोड दिँदै आएको एनएसओले दण्डात्मक क्षतिपूर्तिमा भएको ९७% कटौतीको स्वागत गरेको छ । यद्यपि, कम्पनीले निषेधाज्ञाको निर्णयको समीक्षा गर्ने र सोही अनुसार अर्को कदम निर्धारण गरिने बताएको छ ।
एनएसओ ग्रुपले निषेधाज्ञा आफ्ना ग्राहकहरूलाई लागु नहुने दाबी गरेको छ । कम्पनीका अनुसार ग्राहकहरू (विभिन्न देशका सरकार तथा सरकारी निकाय) ले सार्वजनिक सुरक्षाको रक्षा गर्न कम्पनीको प्रविधि प्रयोग गर्ने कार्य जारी राख्नेछन् ।
मेटाका अधिकारीहरूले पनि यो निर्णयको स्वागत गरेका छन् । ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले एक्समा एक पोस्ट गर्दै भनेका छन्, "आजको फैसलाले स्पाइवेयर निर्माता एनएसओलाई ह्वाट्सएप र हाम्रा विश्वव्यापी प्रयोगकर्ताहरूलाई फेरि कहिल्यै निशाना बनाउन नपाउने गरी प्रतिबन्ध लगाउँछ ।" उनले नागरिक समाजका सदस्यहरूलाई लक्षित गरेकोमा एनएसओलाई जवाफदेही बनाउन ६ वर्षको कानुनी लडाइँ लड्नु परेको र त्यसपछि यो प्रशंसनीय फैसला आएको बताएका छन् ।
एनएसओ ग्रुपले हालै आफूलाई अमेरिकी लगानीकर्ताहरूले अधिग्रहण गरिरहेको कुराको पुष्टि गरेको थियो । अक्टोबरको सुरुमा प्रकाशित टेकक्रन्चको एक रिपोर्ट अनुसार कम्पनी हलिउड निर्माता रोबर्ट सिमोन्ड्सको नेतृत्वमा रहेको एक समूहले खरिद गरेको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ ९:२९
