काठमाडौँ । नथिङका सीईओ कार्ल पेईले आफ्नो स्मार्टफोन स्टार्टअपले एप्पल र सामसङ जस्ता ठुला कम्पनीहरूको प्रभुत्वको बजारमा प्रवेश गर्न जेन-जी युवा उपभोक्तालाई लक्षित गरिरहेको बताएका छन् । पेईले स्मार्टफोन उद्योग नयाँ कम्पनीहरूका लागि प्रवेश गर्न कठिन रहेको र यसमा धेरै असफल प्रयासहरू भएको उल्लेख गर्दै यस्तो रणनीति सार्वजनिक गरेका हुन् ।
बिजनेस इन्साइडरका अनुसार पाँच वर्ष पुरानो उनको स्टार्टअप कम्पनी नथिङको मूल्य अहिले १.३ अर्ब अमेरिकी डलर रहेको छ । कम्पनीले अझै बजारमा स्थान बनाउने उपाय खोजिरहेको सीईओ पेईले बताए ।
आफ्नो कम्पनीको सफलताका लागि निश्चित प्रयोगकर्ता वर्ग छान्नुपर्ने बताएका उनको भनाई छ । यस सम्बन्धमा उनले भने, "हाम्रा प्रयोगकर्ताहरू धेरै युवा छन् ।"
पेईका अनुसार युवा उपभोक्ताहरूले फरक देखिने र आफ्नो डिभाइसहरूमा 'आफ्नै पहिचान' खोज्ने चाहनाले गर्दा नथिङका उत्पादनहरूसँग राम्रोसँग जोडिएका छन् । नथिङका प्रयोगकर्ताहरूको औसत उमेर २६ वर्ष छ ।
यस विपरीत सामसङका प्रयोगकर्ताहरूको औसत उमेर ४५ वर्ष रहेको पेईले बताए । एप्पलको हकमा भने समाचार साइट नाइन टु फाइभ म्याक अनुसार यसका लगभग ७० प्रतिशत प्रयोगकर्ताहरू १८ देखि ४४ वर्षको बीचमा पर्छन् ।
जेन जी युवा पुस्ता माझ एप्पलको ब्रान्ड शक्ति पहिला जस्तो बलियो नरहेको पेईको बुझाई छ । नथिङ कम्पनीले आफ्नो लागि बजारमा एउटा विशेष स्थान बनाइरहेको छ ।
कम्पनीमा हाल ८०० देखि ९०० कर्मचारीहरू छन् । पेईका अनुसार नथिङको आम्दानी यस वर्ष १ अर्ब डलर पुग्ने दिशामा छ ।
फोन २ र फोन ३ जस्ता कम्पनीका स्मार्टफोन मोडलहरू मूल्यका हिसाबले ३०० डलरभन्दा कमदेखि ७०० डलरसम्मका छन् । यी फोनहरूको संरचना र डिजाइन आईफोनसँग मिल्दोजुल्दो भए पनि यिनीहरूको पछाडिको भाग पारदर्शी हुन्छ, जसले गर्दा केही आन्तरिक हार्डवेयरहरू पनि देखिने गर्छन् ।
सन् २०२५ को पहिलो त्रैमासिकसम्ममा विश्वव्यापी स्मार्टफोन बजारमा सामसङ शीर्ष स्थानमा रहेको थियो, एप्पल नजिकैको दोस्रो स्थानमा थियो र त्यसपछि केही चिनियाँ कम्पनीहरू थिए ।
नथिङका सीईओ कार्ल पेईले आफ्नो कम्पनीले छिट्टै एप्पललाई पछि पार्ने अपेक्षा नगरेको बताएका छन् । उनले गति महत्त्वपूर्ण रहेको र दुई कम्पनी कसरी सहअस्तित्वमा रहन सक्छन् भन्नेबारे सोचिरहेको बताए ।
नथिङले नयाँ 'फर्म फ्याक्टर' (new form factors) खोजिरहेको छ, जुन एप्पलका उत्पादनहरूसँग प्रतिस्पर्धा गर्नुको सट्टा तिनीहरूसँगै प्रयोग गर्न सकियोस् । स्मार्टफोन बाहेक नथिङ कम्पनीले हाल घडी, हेडफोन र कपडाहरू पनि प्रदान गर्दछ ।
पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १२:१०
