close

अब च्याटजीपीटीमा ‘वयस्क’ प्रयोगकर्ताले यौनजन्य कुराकानी गर्न पाउने

टेकपाना टेकपाना

कात्तिक २, २०८२ १३:३

अब च्याटजीपीटीमा ‘वयस्क’ प्रयोगकर्ताले यौनजन्य कुराकानी गर्न पाउने

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले ‘च्याटजीपीटी’ को सुरक्षा मापदण्डमा ठुलो परिवर्तन गर्ने भएको छ । कम्पनीका सीईओ साम अल्टम्यानले गत मङ्गलबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै ‘प्रमाणित वयस्क’ प्रयोगकर्तालाई यौनजन्य (इरोटिक) कुराकानी गर्न अनुमति दिइने घोषणा गरेका हुन् । 

यो परिवर्तनसँगै च्याटजीपीटीको प्रतिक्रिया अझ मैत्रीपूर्ण र ‘मानव-जस्तै’ बन्ने कम्पनीले जनाएको छ । “हामीले मानसिक स्वास्थ्यका समस्यामा होसियार हुन च्याटजीपीटीलाई निकै प्रतिबन्धित बनाएका थियौँ,” अल्टम्यानले भने, “हामीलाई थाहा छ, यसले मानसिक स्वास्थ्य समस्या नभएका धेरै प्रयोगकर्ताका लागि कम उपयोगी/रमाइलो बनायो । तर यो मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै हामीले सही कदम चाल्न चाहन्थ्यौँ ।”

उनले अगाडि थपे, “डिसेम्बरमा हामी उमेर प्रमाणीकरणलाई पूर्ण रूपमा लागु गर्दैछौँ र ‘वयस्क प्रयोगकर्तालाई वयस्ककै रूपमा व्यवहार गर्ने’ सिद्धान्तअन्तर्गत प्रमाणित वयस्कका लागि यौनजन्य सामग्री जस्ता थप कुराहरूलाई अनुमति दिनेछौँ ।”

अल्टम्यानले यो प्रणाली मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्यालाई कम गर्न सक्षम भएको दाबी गरे पनि कम्पनीले यसको लागि कुनै ठोस प्रमाण भने दिएको छैन ।

टेकक्रन्चका अनुसार विगतमा च्याटजीपीटी. विशेषगरी यसको जीपीटी-४ ओ मोडेलले कमजोर प्रयोगकर्तालाई भ्रमपूर्ण दुनियाँमा पुर्‍याउन सक्ने देखिएको थियो । एक घटनामा च्याटजीपीटीले एक व्यक्तिलाई आफू संसार बचाउनु पर्ने गणितको ‘जिनियस’ हुँ भनी विश्वास दिलाएको थियो । अर्को एक घटनामा एक किशोरका आमाबाबुले ओपनएआई विरुद्ध मुद्दा नै हालेका थिए । च्याटजीपीटीले आफ्नो छोरालाई आत्महत्या गर्न उक्साएको उनीहरूको आरोप थियो ।

यी घटनापछि ओपनएआईले एआई साइकोफेन्सी (प्रयोगकर्ताले जे भने पनि समर्थन गर्ने एआईको प्रवृत्ति) लाई सम्बोधन गर्न विभिन्न सुरक्षा सुविधा ल्याएको थियो । अल्टम्यानले यो सुविधा ‘प्रमाणित वयस्क’ का लागि मात्र हुने बताएका छन् । कम्पनीले यसका लागि आफूले विकास गरिरहेको उमेर-अनुमान प्रणालीमा भर पर्ने बताएको छ । यदि प्रणालीले कुनै वयस्कलाई गल्तीले नाबालिग भनेर चिन्ह लगायो भने प्रयोगकर्ताले आफ्नो सरकारी परिचयपत्रको फोटो अपलोड गर्नुपर्ने हुन सक्छ । अल्टम्यानले यसलाई गोपनीयतामाथिको सम्झौता भए पनि ‘एक सार्थक लेनदेन’ भनेका छन् ।

यता अर्बपति उद्यमी एलन मस्कको च्याटबट ग्रोकले भने यसअघि नै यस्तो सुविधा ल्याइसकेको छ । त्यसमा भने उमेर प्रमाणीकरण प्रणाली लागु गरिएको छैन । जोकोहीले ग्रोक एपमार्फत एआईसँग सजिलै यौनजन्य कुराकानी गर्न सक्छन् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १३:३