आईफोन १७ मा लोभिँदै ग्राहक, चीनमा सस्तो र अमेरिकामा महँगो मोडेलको उच्च माग
कात्तिक ४, २०८२ ९:३६
काठमाडौँ । बजारमा आएको छोटो समयमै एप्पलको पछिल्लो आईफोन १७ सिरिजमा उच्च माग देखिएको छ । एक नयाँ बजार अनुसन्धान प्रतिवेदनअनुसार सबैभन्दा सस्तो बेसिक आईफोन १७ र सबैभन्दा महँगो आईफोन १७ प्रो म्याक्स दुवैको बिक्री उत्साहजनक रहेको छ ।
काउन्टरपोइन्ट रिसर्चको उक्त प्रतिवेदनमा बजारमा उपलब्ध भएको पहिलो १० दिनमा आईफोन १७ सिरिजको बिक्री अघिल्लो वर्षको आईफोन १६ सिरिजको तुलनामा १४ प्रतिशतले बढेको उल्लेख छ ।
प्रतिवेदनले बेसिक मोडेल आईफोन १७ को माग विशेषगरी चीनमा अत्यधिक रहेको देखाएको छ । यसको बिक्री अघिल्लो वर्षको आईफोन १६ को तुलनामा ३१ प्रतिशत अर्थात् एक तिहाइले बढेको छ । चिनियाँ उपभोक्ताहरूले यसको उत्कृष्ट मूल्य प्रस्तावप्रति न्यानो प्रतिक्रिया देखाएको काउन्टरपोइन्ट रिसर्चको विश्लेषण छ ।
उता, अमेरिकामा आईफोन १७ प्रो म्याक्सले सबैभन्दा बढी लोकप्रियता हासिल गरेको छ । त्यहाँका प्रमुख तीन क्यारियरहरूले अधिकतम सब्सिडी १०% (१०० डलर) ले बढाउँदा अल्ट्रा-प्रिमियम ग्राहक लोभिएका हुन् । काउन्टरपोइन्ट रिसर्चका अनुसार प्रो म्याक्स मोडेलको मागमा गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ ।
यसैबिच आईफोन एयरको बिक्री तथ्यांक भने अझै स्पष्ट भएर आएको छैन ।
पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८२ ९:३८
