सुरक्षा केसी, एलिना चौहान र समीक्षा अधिकारीको विषयलाई लिएर प्याराडाइम टिभी अर्को विवादमा
कात्तिक ८, २०८२ १२:२६
काठमाडौँ । युट्युब च्यानल प्याराडाइम टिभी पुनः अर्को विवादमा मुछिएको छ । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारी तथा भ्लगर सुरक्षा केसीको विषयलाई लिएर च्यानल विवादित बनेको हो ।
उत्सव सापकोटा, क्षितिज केसी लगायतका क्रियटर सहभागी एक एपिसोडमा भ्लगर केसी र गायिकाद्वय अधिकारी तथा चौहानको तस्बिर राखिएको थियो । सोही कार्यक्रममा सापकोटाले गरेको टिप्पणीप्रति सुरक्षा केसीले आपत्ति जनाएकी छिन् ।
सापकोटाले आफ्नो उद्देश्य कसैलाई होच्याउने नभएको र त्यो नितान्त ख्यालठट्टाका रूपमा रहेको तर्क गरेका छन् । यद्यपि, सुरक्षा केसीले त्यसमा बोलिएको विषय द्धिअर्थी भएको आरोप लगाएकी छिन् । उनले भनेकी छिन्, “प्याराडाइम, नाटक गर्न बन्द गर । जानी-जानी गरेको गल्तीको लागि माफी माग्न पर्दैन । यो पश्चाताप होइन, आफ्नो गल्ती लुकाउने प्रयास मात्र हो ।”
केसीको समर्थनमा विभिन्न क्रियटर तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले ऐक्यबद्धता जनाइरहेका छन् ।
यता, गायिका एलिना चौहानले उक्त क्लिप शेयर गर्दै आपत्ति जनाएकी छिन् । उनले लेखेकी छिन्, “तिमीहरू दोषीको साथमा छौ, न्यायको होइन । ‘घरेलु हिंसा’ र ‘बलात्कार’को विरुद्ध आवाज उठाउँदा ‘बिगार्छौ’ भन्नेहरू, ‘फसाउँछौ’ भन्नेहरू, शर्म लाग्दैन र ? तिमीहरू जस्ता पुरुष कसैलाई ‘डेट’ गर्न वा टीका लगाउन लायक पनि छैनौ । स्त्रीको पीडा मजाक होइन ।”
प्याराडाइम टिभीको च्यानलबाट प्रसारित उक्त भिडिओ भने अहिले नदेखिने बनाइएको छ । यद्यपि सामाजिक सञ्जाल प्रयोगकर्ताले सो भिडिओ विभिन्न प्लेटफर्ममा शेयर गरिरहेका छन् । यसअघि क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर प्याराइडाम टिभी विवादित बनेको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ १२:३९

