close

टिकटकले ३ महिनामै हटायो नेपालबाट अपलोड भएका २४ लाख बढी भिडिओ

टेकपाना टेकपाना

कात्तिक ९, २०८२ १३:५१

टिकटकले ३ महिनामै हटायो नेपालबाट अपलोड भएका २४ लाख बढी भिडिओ

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक अवधिमा नेपालबाट मात्रै २४ लाख ७६ हजार ३४५ भिडिओ हटाएको छ । कम्पनीले हालै सार्वजनिक एक प्रतिवेदनमार्फत अप्रिलदेखि जुनसम्मको अवधिमा कम्युनिटी गाइडलाइन उल्लङ्घन गरेका भिडिओ ठुलो सङ्ख्यामा हटाइएको जानकारी दिएको हो ।

प्रतिवेदन अनुसार नेपालमा हटाइएका भिडिओमध्ये ९९.८ प्रतिशत टिकटक आफैँले सक्रिय रूपमा पहिचान गरी हटाएको थियो । यीमध्ये ९८.४ प्रतिशत भिडिओ पोस्ट भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट हटाइएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी रूपमा टिकटकले सोही अवधिमा कूल १८ करोड ९५ लाख ७८ हजार २२८ भिडिओ हटाएको छ । जुन प्लेटफर्ममा अपलोड भएका कूल सामग्रीको करिब ०.७ प्रतिशत हो । विश्वभर ९९.१ प्रतिशत भिडिओ सक्रिय रूपमा हटाइएको थियो भने ९४.४ प्रतिशत २४ घण्टाभित्रै हटाइएका थिए ।

भिडिओका अतिरिक्त टिकटकले प्लेटफर्मको दुरुपयोग रोक्न सात करोड ६९ लाख ९१ हजार ६६० नक्कली अकाउन्ट पनि हटाएको  प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी १३ वर्षभन्दा कम उमेर भएको आशङ्का गरिएका दुई करोड ५९ लाख ४ हजार ७०८ अकाउन्ट पनि सोही अवधिमा बन्द भएका छन् ।

गलत सूचना, संवेदनशील सामग्री र सुरक्षा मापदण्डको उल्लङ्घन गरेका कारण अधिकांश भिडिओ हटाइएको कम्पनीले जनाएको छ । प्रतिवेदनका अनुसार हटाइएका कूल भिडिओमध्ये ४५ प्रतिशत गलत सूचना, ३०.६ प्रतिशत संवेदनशील वा वयस्क सामग्री र १४ प्रतिशत सुरक्षा तथा शिष्टताको मापदण्ड विपरीतका थिए । साथै २३.८ प्रतिशत भिडिओ सम्पादित मिडिया तथा एआई-निर्मित सामग्री भएको आधारमा हटाइएको थियो । यहाँ क्लिक गरेर पूरा प्रतिवेदन पढ्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १३:५२