close

अवकाश प्राप्तलाई स्वयंसेवामा सहभागी हुन अनुरोध गर्दै काठमाडौँ महानगरले खुलायो अनलाइन आवेदन

टेकपाना टेकपाना

कात्तिक ९, २०८२ १५:८

अवकाश प्राप्तलाई स्वयंसेवामा सहभागी हुन अनुरोध गर्दै काठमाडौँ महानगरले खुलायो अनलाइन आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५ वर्ष माथिका अनुभवी व्यक्तिलाई ‘सिल्भर भोलेन्टियर कार्यक्रम’ मा आवेदन दिन अनुरोध गरेको छ । महानगरको विकासका लागि स्वयंसेवा गरेर आफ्नो अनुभव र सीपको योगदान दिन अनुरोध गर्दै अनलाइन आवेदन खुलाइएको हो ।

महानगरले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाश पश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याएको जनाएको छ । ‘सिल्भर भोलेन्टियर कार्यक्रम’ का बारेमा मेयर बालेन्द्र शाहले भनेका छन्,, “तपाईँ ४५ वर्ष पुरा हुनु भएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनु भएको छ ? अवकाशपछि विश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस्, सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।”

कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षण लगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने जनाइएको छ । महानगरले ‘कामपा-सिल्भर-भोलेन्टियर-कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो । कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिंकमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

आवेदनका लागि ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको नेपाली नागरिक, गैर आवासीय नेपाली तथा प्रचलित कानुन बमोजिम स्वीकृति लिएका विदेशी नागरिकले आवेदन दिन सक्नेछन् । उनीहरूमा कुनै क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेर विषयगत दक्षता हासिल गरेको अनुभव हुनपर्ने छ । 

महानगरले चाहेको क्षेत्रमा कम्तीमा एक वर्ष हप्ताको पाँच घण्टा समय दिन सक्ने तथा पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिले फाराम भर्न सक्नेछन् । फाराम भर्नका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १५:८