पछिल्लो तीन महिनामै नेपाल भित्रिए १३ अर्ब ६२ करोड रुपैयाँ मूल्यका आठ लाख स्मार्टफोन
कात्तिक ९, २०८२ १७:३७
काठमाडौँ । पछिल्लो तीन महिनामा आठ लाख थान स्मार्टफोन नेपाल आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा १३ अर्ब ६२ करोड रुपैयाँ बराबर मूल्यका स्मार्टफोन भित्रिएका हुन् ।
यसबाट सरकारले कूल दुई अर्ब ५४ करोड रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । दशैँ तिहारलाई लक्षित गर्दै भदौमा सर्वाधिक स्मार्टफोन आयात भएका थिए । स्मार्टफोन बजारका लागि दशैँ तिहार सिजनको समय मानिन्छ ।
साउनमा तीन अर्ब ४१ करोड रुपैयाँ बराबरका एक लाख ९८ हजार ३३३ थान स्मार्टफोन नेपाल भित्रिएका थिए । दशैँ तिहारलाई लक्षित गर्दै भदौमा पाँच अर्ब ४५ करोड रुपैयाँ बराबरका तीन लाख १० हजार ३६० थान स्मार्टफोन आयात भएको उल्लेख छ ।
असोजमा भने चार अर्ब ७५ करोड रुपैयाँ बराबरका दुई लाख ९६ हजार १६७ थान स्मार्टफोन आयात भएको विभागले जनाएको छ । सरकारले स्मार्टफोन आयातबाट भदौमा सबैभन्दा धेरै राजश्व सङ्कलन गरेको देखिन्छ ।
साउनमा ६३ करोड ७९ लाख, भदौमा एक अर्ब र असोजमा ८८ करोड ६३ लाख रुपैयाँ भन्सार सङ्कलन भएको छ । जबकि अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिमा (साउन, भदौ र असोज) नौ अर्ब ८३ करोड रुपैयाँ बराबरका ६ लाख ५५ हजार ६३१ थान स्मार्टफोन भित्रिएका थिए ।
जसबाट सरकारले एक अर्ब ८३ करोड रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको थियो । गत वर्ष साउनमा तीन अर्ब ४६ करोड रुपैयाँ बराबरका दुई लाख २५ हजार १६३ थान स्मार्टफोन नेपाल भित्रिएका थिए ।
गत वर्षको भदौमा तीन अर्ब २४ करोड रुपैयाँ बराबरका दुई लाख २९ हजार ७९५ थान र असोजमा तीन अर्ब १२ करोड रुपैयाँ बराबरको दुई लाख ६७३ थान स्मार्टफोन नेपाल आएका थिए । सरकारले त्यस वर्ष साउनमा ६४ करोड ६२ लाख, भदौमा ६० करोड ४५ लाख र असोजमा ५८ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
नेपाली बजारमा चीन र भारतबाट सर्वाधिक मात्रामा स्मार्टफोन आयात हुने गरेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १७:३८
