close

सर्वसाधारणसँग माफी माग्दै अमन प्रतापले भनेः तर जो विरुद्ध अपशब्द बोलेँ, आइ डु नट रिग्रेट इट

टेकपाना टेकपाना

कात्तिक १०, २०८२ ९:३०

सर्वसाधारणसँग माफी माग्दै अमन प्रतापले भनेः तर जो विरुद्ध अपशब्द बोलेँ, आइ डु नट रिग्रेट इट

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा अपशब्दसहित बनाएको भिडिओलाई लिएर विवादित बनेका अमन प्रताप अधिकारीले त्यसप्रति कुनै पछुतो नरहेको बताएका छन् । सोमबार फेसबुकमा एक भिडिओ पोस्ट राख्दै उनले ती शब्दहरू २३ भदौमा स्कुल ड्रेसमा रहेका विद्यार्थीको हत्या गर्ने सरकार विरुद्ध रहेको स्पष्ट पारेका हुन् ।

जेन जी आन्दोलनको दोस्रो दिन अर्थात् २४ भदौको दिन जलिरहेको संसद् भवन अघि उनले बनाएको भिडिओ केही दिन अघि सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । संसद् भवन जलाउन भूमिका खेलेको र देशको विरुद्धमा बोलेको भन्दै कतिपयले उनको आलोचना गरेका थिए ।

अधिकारीले भाद्र २३ को दिन जेनजी आन्दोलनलाई समर्थन गर्दै आफू संसद भवन अगाडि पुगेको स्मरण गर्दै उनले भनेका छन्, "संसद भवन अगाडि गोली चल्यो । ड्याङ ड्याङ गोली चल्दा खेरि भागमभाग दौडादौड भयो । मेरै अगाडि-पछाडि र दायाँ-बायाँ चार जना स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू ढले । उनीहरूलाई गोली लाग्यो, उनीहरू त्यहीँ ढले र उनीहरू त्यहीँ सहिद भए ।"

त्यसपछि भाद्र २४ को दिन ती विद्यार्थीहरू झलझली आँखामा, मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर आफू फेरि संसद भवन पुगेको उनले बताएका छन् । "एन्टी करप्सन र अन्य केही मुद्दाहरू लिएर अगाडि बढेको जेनजी आन्दोलनलाई समर्थन गर्दै म त्यहाँ पुगेको थिएँ । एक दिन अगाडिको हत्याले त्यो आक्रोश यसरी बढेको थियो, आगो यसरी बढेको थियो... त्यहाँ म मात्रै होइन, लाखौँको सङ्ख्यामा जो आएका थिए, सबैमा त्यो आक्रोश थियो । किन कि जो सरकार थियो, त्यसले संसद् (भवन) भित्रबाट गोली प्रहार गरेको थियो ।"

अधिकारीेले आम सर्वसाधारणलाई सम्बोधन गर्दै भनेका छन्, "तपाईँ मेरा छोराछोरी त्यहीँ ढलेर सहिद भएका थिए । संसद् भवनभित्र सबै हुल जाँदा त्यो आक्रोश सबैमा देखिन्थ्यो । ममा पनि थियो, भित्र गइयो । भित्र जाने बित्तिकै मैले मोबाइल निकालेँ र ती तपाईँका मेरा छोराछोरी माथि गोली प्रहार गर्ने... मेरा छोराछोरी पनि भाद्र २३ का दिन त्यही आन्दोलनमा सरिक थिए, उनीहरू पनि त्यही सासद भन पनि पुगेका थिए । तर कति छोराछोरी त गोली लागेर मरे नि त, सहिद भए नि त । हो त्यो गोली हान्न आदेश दिने सरकार चलाउने र त्यो देश चलाइरहेको त्यो सरकार, त्यो देश चलाइरहेकाहरूलाई (लिएर) मैले 'तेरो देश सकियो' भनेर बोलेँ ।"

उनले आफ्नो आशय स्पष्ट पार्दैअगाडि भने, "त्यो उनीहरू माथि इङ्कित थियो, जसले त्यो सरकार, त्यो देश चलाइरहेका थिए र जसले त्यो गोली हान्ने आदेश दिएको थियो । त्यो केपी ओली ज्यूले सञ्चालन गरिरहेको देश थियो भन्छु म चाहिँ, उनीहरूले नै सञ्चालन गरिरहेको पार्लियामेन्ट थियो ।"

त्यतिखेरको आफ्नो आक्रोश ओलीलाई साथ दिने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायत समग्र रूपमा संसद विरुद्ध नै रहेको उनले बताए । "ती छोराछोरी मेरा आँखा अगाडि मरेका... त्यो आक्रोश थियो । त्यो आक्रोशमा मैले अपशब्द बोलेँ । अपशब्द कसलाई बोलेँ त मैले ? त्यो गोली हान्न आदेश दिने केपी ओली नेतृत्वको पार्लियामेन्ट, गभर्मेन्ट विरुद्ध थियो । तपाईँ हामी प्रति इङ्कित होइन । मेरो आँखा अगाडि ती छोराछोरी मरेको रिस रागको आक्रोश थियो, त्यो । अहिले तपाईँ मेरो फोनमा त्यो फेरि आइरहेको छ ।"

अहिले ती शब्दहरू सुन्दा एकदम अप्ठ्यारो लाग्ने भन्दै उनले त्यसप्रति माफी मागेका छन् । "त्यो सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो, आइ डु नट रिग्रेट इट । किनभने उहाँहरूले, उहाँहरूकै आदेशमा तपाईँ हाम्रा छोराछोरी मारिएका हुन् । त्यो हत्यारा विरुद्ध चाहिँ मैले त्यो अपशब्द बोलेको हो ।"

तर संसद भवन, सिंहदरबार, अदालत, व्यक्तिगत घर आदि जलाएको विषयमा प्रमाण निकाल्न चुनौती दिँदै उनले पुष्टि भए आफू जेल जान तयार रहेको बताएका छन् । तर जेनजी आन्दोलन भ्रष्टाचार विरुद्धको लडाई रहेको दलिल पेस गर्दै अधिकारीले त्यो लडाई आफूले अहिले पनि बोकेर हिँडेको स्पष्ट पारे ।

उनले भने "जो हत्याराहरू अहिलेसम्म पक्राउ गरिएका छैनन् नि... अहिलेको सरकार पनि, याद गर्नुस् है तपाईँहरूको काम पनि सही भैरहेको छैन ।"

हत्याराहरूलाई चाँडो पक्रिन आग्रह गर्दै उनले भदौ २३ को सबै कुुरा मेट्न लागिएको र हत्याराहरू भाग्न र छुट्न लागिसकेको प्रति चिन्ता व्यक्त गरे । " २४ भदौमा बिल्डिङ बलेको कुरा ठुलो भैरहेको छ । एउटा ज्यान र एउटा बिल्डिङ कहिल्यै बराबर हुँदैन ।"

 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ ९:३२