पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा छनोट हुन नसके पनि नेपाली टिमले पाए कुल २५ लाख नगद
कात्तिक ११, २०८२ २१:३२
काठमाडौँ । पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया फल सिजन मा सहभागी तीन नेपाली टिम ग्लोबल च्याम्पियनसिपमा प्रवेश गर्न असफल भएपनि लाखाैँ रुपैयाँ नगदसहित स्वदेश फर्किएका छन् ।
नेपालका होरा ई-स्पोर्ट्स (Horaa Esports), फोर योनको रोयल जुत्ति (4YONKO ROYAL JUTTI) र नेपेक्स ई-स्पोर्ट्स (NEPEX Esports) प्रतियोगितामा सहभागी थिए । जसमध्ये होरा ई-स्पोर्ट्स र फोर योनको रोयल जुत्ति मात्र समूह चरण पार गर्दै अन्तिम चरणसम्म पुगेका थिए ।
यूएईमा छ दिनसम्म चलेको प्रतियोगिताबाट ६ टोलीले प्रतिष्ठित पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२५ का लागि आफ्नो स्थान सुनिश्चित गरेका छन् ।
उत्कृष्ट प्रदर्शनका आधारमा भर्चस.प्रो (Virtus.PRO), अल्फा गेमिङ (Alpha Gaming) र म्याड बुल्स (Mad Bulls) ले PMGC Gauntlet Stage मा स्थान सुरक्षित गरे । यस्तै, आर्क्रेड (Arcred), इनर सर्कल (Inner Circle) र गोट (GOAT) ले PMGC Rating Points का आधारमा पीमजीसी समूह चरणमा स्थान सुनिश्चित गरेका छन् ।
पीएमजीसीमा प्रवेश गर्न नसके पनि नेपाली टोलीहरूले कुल १८ हजार २५० अमेरिकी डलर (करिब २५ लाख ७५ हजार रुपैयाँ) नगद पाएका छन् । यसमध्ये होरा ई-स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै ११ हजार ७५० अमेरिकी डलर (करिब १६ लाख ५८ हजार रुपैयाँ) जितेको छ । त्यस्तै, फोर योनको रोयल जुत्तिले चार हजार ७५० डलर (करिब ६ लाख ७० हजार रुपैयाँ) र नेपेक्स ई-स्पोर्ट्सले एक हजार ७५० डलर (करिब दुई लाख ४७ हजार रुपैयाँ) नगद पुरस्कार प्राप्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ १३:३१
