काठमाडौँ । माइक्रोसफ्टले हालै विन्डोज १० को सपोर्ट बन्द गरिसकेको छ । यदि तपाईं अझै पनि माइक्रोसफ्टको पुरानो अपरेटिङ सिस्टम विन्डोज १० चलाइरहनुभएको छ भने अब तपाईंले विन्डोज ११ मा अपग्रेड गर्नुपर्ने हुन्छ ।
तर त्यसअघि तपाईंको पीसी माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज ११ का लागि उपयुक्त छ कि छैन भनी निश्चित गर्नुहोस् । विन्डोज ११ सफलतापूर्वक इन्स्टल गर्नका लागि डिभाइसमा हार्डवेयर र सुरक्षासम्बन्धी आवश्यक मापदण्ड पूरा भएको हुनुपर्छ ।
आफ्नो डिभाइसमा विन्डोज ११ सपोर्ट हुन्छ कि हुँदैन भन्ने जाँच्नका लागि माइक्रोसफ्टले विभिन्न विकल्प उपलब्ध गराएको छ । यदि तपाईंको डिभाइसले आवश्यक योग्यताका आवश्यकता पूरा गरेन भने विन्डोज १० नै प्रयोग गर्नपर्ने हुन्छ वा नयाँ पीसी लिनुपर्ने हुन्छ ।
पहिलो विकल्पः माइक्रोसफ्ट पीसी हेल्थ चेक एप प्रयोग गर्नुहोस्
विन्डोज ११ घोषणा गरेपछि माइक्रोसफ्टले पुराना डिभाइसले उक्त ओएस सपोर्ट गर्छन् कि गर्दैनन् भन्ने जाँच्न हेल्थ एप सर्वजनिक गरेको थियो । तर, उक्त एपले त्यसबेला आवश्यक जानकारी दिन सकेन । यसले गर्दा कम्पनीले नै सो एपलाई अस्थायी रूपमा हटायो । पछिल्लो समय भने यो एप उपलब्ध भएको छ । यसको सहायताले तपाईंले आफ्नो डिभाइस विन्डोज ११ सपोर्ट गर्छ कि गर्दैन भन्ने जाँच्न सक्नुहुन्छ ।
पीसी हेल्थ चेक एप कसरी प्रयोग गर्ने ?
-
सबैभन्दा पहिले माइक्रोसफ्टको पीसी हेल्थ चेक (PC Health Check) एप डाउनलोड गर्नुहोस् । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
-
त्यसपछि फाइल खोल्नुहोस्, सेवाका सर्तमा एग्री गर्नुहोस् र इन्स्टलमा क्लिक गर्नुहोस् ।
-
यति भएपछि ‘Open PC Health Check’ भनिएको बक्समा टिक लगाउनुहोस् र ‘Finish’ मा क्लिक गर्नुहोस् ।
-
अनि एपको होमपेजमा तपाईंले ‘PC health at a glance’ को अप्सन देख्नुहुन्छ । शीर्षमा रहेको बक्समा ‘Introducing Windows 11’ लेखिएको हुन्छ । त्यसमुनि ‘Check now’ मा क्लिक गर्नुहोस् ।
-
अब यदि तपाईंको डिभाइस विन्डोज ११ का लागि उपयुक्त छ भने तपाईंले नि:शुल्क विन्डोज ११ अपडेट डाउनलोड गर्न सक्नुहुन्छ । यदि तपाईंको डिभाइस अनुकूल छैन भने तपाईंले ‘This PC doesn't currently meet Windows 11 system requirements’ अर्थात् यो पीसीले हाल विन्डोज ११ प्रणाली आवश्यकता पूरा गर्दैन भन्ने नोटिस देख्नु हुनेछ ।
दोस्रो विकल्पः ‘WhyNotWin11’ एपबाट जाँच गर्नुहोस्
ओपन सोर्स एप भनिने ‘WhyNotWin11’ पीसी हेल्थ चेक एपको राम्रो विकल्प हो । यो माइक्रोसफ्टसँग सम्बद्ध नभएको एक थर्ड पार्टी डेभलपरले निर्माण गरेको एप हो ।
यसको इन्टरफेस माइक्रोसफ्टको जस्तो सरल नभए पनि तपाईंको डिभाइसले विन्डोज ११ सपोर्ट गर्छ कि गर्दैन भनेर जाँच गर्न मद्दत गर्छ । यदि माइक्रोसफ्टको टुलले स्पष्ट कारण दिएन भने तपाईं यो एप प्रयोग गर्न सक्नुहुन्छ । एप प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।
तेस्रो विकल्पः माइक्रोसफ्टको सिस्टम स्पेसिफिकेसन हेर्नुहोस्
यदि तपाईं सफ्टवेयर डाउनलोड नगरी म्यानुअल रूपमा जाँच गर्न चाहनुहुन्छ भने तपाईं माइक्रोसफ्टको आधिकारिक वेबसाइटमा वा तल दिइएको तालिकामा विन्डोज ११ का लागि आवश्यक सिस्टम स्पेसिफिकेसन हेर्न सक्नुहुन्छ ।
विन्डोज ११ चलाउनका लागि न्यूनतम आवश्यकता यस्ता छन् ।
|
Spec |
Requirement |
|
Processor |
1GHz or faster with 2 or more cores on a compatible 64-bit processor or system on a chip |
|
RAM |
4GB |
|
Storage |
64GB or larger storage device |
|
System firmware |
UEFI, Secure Boot-capable |
|
TPM |
Trusted Platform Module (TPM) version 2.0 |
|
Graphics card |
Compatible with DirectX 12 or later with WDDM 2.0 driver |
|
Display |
HD (720p) display greater than 9 inches diagonally, 8 bits per color channel |
|
Internet connection and Microsoft account |
For Windows 11 Home edition: internet connectivity; Microsoft account to complete device setup on first use. For all Windows 11 editions: Internet access to perform updates and to download and use some features; Microsoft account for some features |
पीसीले विन्डोज ११ धानेन भने भने के गर्ने ?
यदि तपाईंको पीसीले विन्डोज ११ धानेन वा चलेन भने आफ्नो डिभाइसमा उक्त ओएस धान्ने न्यूनतम आवश्यकता पूरा छैनन् भन्ने बुझ्नु पर्छ । खासगरी पुराना डिभाइसमा ‘TPM 2.0’ चिप वा ‘Secure Boot’ सुविधा नहुँदा यस्तो समस्या आउन सक्छ ।
यसलाई समाधान गर्ने दुई मुख्य तरिकाहरू छन् । कि तपाईंले हार्डवेयर अपग्रेड गर्नुपर्यो, कि नयाँ डिभाइस लिनुपर्यो । हार्डवेयर अपडेट गर्न तपाईंले आफ्नो कम्प्युटरको ‘BIOS/UEFI’ सेटिङमा गएर ‘TPM 2.0’ र ‘Secure Boot’ फिचर एक्टिभ गर्न सक्नुहुन्छ । तर, यो तपाईंको कम्प्युटरमा हुने मदरबोर्डले सपोर्ट गर्नुपर्छ । त्यसबाहेक तपाईंले र्याम वा स्टोरेज कम्पोनेन्ट पनि अपडेट गर्नुपर्ने हुनसक्छ ।
यदि तपाईंको पीसीको मुख्य हार्डवेयर (जस्तै प्रोसेसर) विन्डोज ११ सँग मिल्दो छैन भने नयाँ कम्प्युटर खरिद गर्ने विचार गर्नु उपयुक्त हुन्छ । न्यूनतम इन्स्टलमेन्ट रिक्वायरमेन्टलाई बाइपास गर्ने अनौपचारिक तरिकाहरू छन् । तर हामी त्यसो गर्न सुझाव दिंदैनौं । आधिकारिक आवश्यकता छोड्दा सुरक्षा जोखिमका साथै डिभाइसको पर्फमेन्स खस्किने जोखिम उच्च हुन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ १९:४
