close

अब त्रिभुवनसँगै देशभरका सबै विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाई-फाई

टेकपाना टेकपाना

कात्तिक १३, २०८२ १३:४२

अब त्रिभुवनसँगै देशभरका सबै विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाई-फाई

काठमाडौँ । नेपाल टेलिकमले देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरू फ्रि वाई-फाई सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्वसाधारण यात्रुलाई लक्षित गर्दै निःशुल्क इन्टरनेट सेवा दिने भएको हो । 

कम्पनीका अनुसार ११ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसको सुरुवात गरिएको छ । नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाई-फाई इन्टरनेट सेवाको सुरुवात गरेका थिए । 

उक्त फ्रि वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतीक्षा स्थल लगायतका क्षेत्रहरूमा रहेको छ । देशभर सञ्चालनमा रहेका ३ वटा अन्तरराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रु लक्षित निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सम्झौता भइसकेको छ । 

सेवाको कभरेज रहेको स्थानमा NT-CAAN Free WiFi एसएसआईडी  भएको वाई-फाईमा कनेक्ट गरेर आवश्यक निर्देशन पूरा गरेपछि नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १३:४२