मोबाइल नेटवर्क नभए पनि कल र एसएमएसको सुविधा दिने एनसेलको भोवाईफाई सेवा, यसरी गर्नुहोस् प्रयोग
कात्तिक १५, २०८२ ८:२९
काठमाडौँ । कहिलेकाहीँ मोबाइलको नेटवर्क कमजोर हुँदा फोनमा कुराकानी गर्न समस्या भएको छ ? वा तपाईँको घर, कोठा वा कार्यालयमा मोबाइल फोनको नेटवर्क राम्ररी टिप्दैन ? अथवा कहिलेकाहीँ कुनै ठाउँमा जाँदा, मोबाइलको सिग्नल नै नआएर समस्या पनि भोग्नुभएको होला ।
टावर सिग्नल कमजोर भएको अवस्थामा पनि वाईफाईको सुविधा छ भने अब चिन्ता लिनु पर्दैन । यस्तै समस्याको समाधान गर्न एनसेलले भोवाईफाई अर्थात् भ्वाइस ओभर वाईफाई सुविधा प्रदान गरेर गुणस्तरीय भ्वाइसका साथै एसएमएस सेवा दिँदै आएको छ ।
यो सुविधामा मोबाइल नेटवर्क कमजोर भएको स्थान वा समयमा पनि वाईफाईमार्फत कनेक्ट भएर सहजै कल गर्न र आएको फोन उठाउन सकिन्छ । वाईफाई भएको तर मोबाइलको टावर कमजोर भएको समयमा यसको उपयोग गरी सामान्य अवस्थामा जस्तै मोबाइलमा कुराकानी गर्न सकिन्छ ।
यसबाट फोन काटिने, आवाज नसुनिने जस्ता समस्या पनि भोग्नु पर्दैन । तर यसका लागि वाईफाईको सिग्नल भने बलियो हुन आवश्यक छ । “कमजोर नेटवर्क भएको ठाउँमा पनि गुणस्तरीय कल र जुन सुकै वाईफाई कनेक्सनमार्फत बिना कुनै अवरोध नेपालभर कल गर्न सकिने यो सेवा निकै उपयोगी हुन सक्छ,” एनसेलले भनेको छ ।
कम्पनीका अनुसार यो सेवा लिने ग्राहकको सङ्ख्या हाल ३५ हजार नाघिसकेको छ । यो सेवा प्रयोग गर्नका लागि अतिरिक्त शुल्क पनि लाग्दैन । ग्राहकहरूले विद्यमान भ्वाइस र एसएमएसको शुल्कमै यो सेवा लिएर कमजोर मोबाइल नेटवर्क भएका ठाउँ वा नेटवर्क नै नभएको तर, वाईफाई सेवा उपलब्ध रहेका स्थानमा यो सेवा लिन सक्छन् ।
यो सेवाको फाइदा लिन भोवाईफाई वा वाईफाई कलिङ प्रयोग गर्न मिल्ने स्मार्टफोन भने हुनुपर्छ । मोबाइलमा भएको यो सेवालाई ‘इनेबल’ गरेपछि सुरु गर्न सकिन्छ । जब ग्राहक मोबाइल नेटवर्कको दायरामा प्रवेश गर्छन्, भोवाईफाई सेवा बिना कुनै व्यवधान स्वतः मोबाइल नेटवर्कमा स्विच हुन्छ ।
यो प्रविधि विशेष गरी घरभित्र वा दुर्गम क्षेत्र, जहाँ मोबाइलको सिग्नल कमजोर छ वा सिग्नल नै छैन, ती क्षेत्रका लागि निकै उपयोगी मानिन्छ । एनसेल भोवाईफाई सेवा एप्पल आईफोन ८ वा सोभन्दा माथिका मोडेल, सबै अनर र जेडटीईका स्मार्टफोन, ६ वटा नथिङका ह्यान्डसेट र ५० भन्दा बढी सामसङ मोडेलहरूमा चल्छ ।
“साओमी, ओप्पो र भिभोका डिभाइसहरूमा पनि यो सेवा उपलब्ध गराउने तयारी गरिरहेका छौँ । यसपछि अझ धेरै प्रयोगकर्ताले यो सेवाको फाइदा लिन सक्नेछन्,” एनसेलले भनेको छ । यो सेवा सक्रिय गर्ने प्रक्रिया निकै सजिलो छ ।
प्रयोगकर्ताहरुले सर्वप्रथम आफ्नो स्मार्टफोनले भोल्टे र भोवाईफाई (वाईफाई कलिङ) सुविधा सपोर्ट गर्छ कि गर्दैन भन्ने सुनिश्चित गर्नुपर्छ । त्यसपछि फोनको सेटिङमा गएर सामान्यतया मोबाइल नेटवर्कभित्र रहने सिमकार्डमा गई भोवाईफाई वा वाईफाई कलिङ अन गर्नुपर्छ ।
त्यसपछि प्रयोगकर्ताले कुनै पनि वाईफाई नेटवर्कमार्फत आफ्नो एनसेल नम्बरबाट सामान्य रूपमा कल गर्न वा रिसिभ गर्न सक्छन् । यदि फोनको सेटिङमा भोवाईफाई वा वाईफाई कलिङ देखिन्छ भने त्यो फोनले भोवाईफाई सुविधा सपोर्ट गर्छ भनेर बुझ्नुपर्ने हुन्छ ।
भोवाईफाई सक्रिय गर्ने तरिका यो भिडियोमा पनि हेर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ ८:२९
