डीईएक्सको ‘लास्ट–माइल डेलिभरी सोलुसन’ सार्वजनिक, अब दराजमा नभएका सामानको पनि डेलिभरी दिने
कात्तिक १५, २०८२ ११:५८
काठमाडौँ । ई-कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा ‘लास्ट माइल डेलिभरी सोलुसन’ सार्वजनिक गरेको छ । दराजको प्लेटफर्ममा नभएका उत्पादनहरू विक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानको रूपमा यो नयाँ सेवा ल्याइएको हो ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित रुट प्लानिङ प्रणाली र रियल टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट (DEX) ले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर सहर डेलिभरी ४८ घण्टाभित्र पूरा गर्ने बताइएको छ ।
यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न सहयोग पुर्याएको कम्पनीले जनाएको छ । साथै, ९० प्रतिशतभन्दा बढी सफल नतिजा सहित (DEX)ले सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकीकृत समाधान प्रदान गरिरहेको छ । यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
दराजका अनुसार बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसको यो समाधान उपलब्ध गराएको हो । हालसम्म (DEX) ले नेपालका १०८ सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
डीईएक्स (DEX) ले विक्रेताहरूका लागि नगद प्रवाह (क्याशफ्लो) र पारदर्शी वित्तीय व्यवस्थापनमा पनि विशेष ध्यान दिएको बताइएको छ । यस अन्तर्गत विक्रेताहरूलाई हप्तामा धेरै पटक क्याश अन डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ । असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने दराजले जनाएको छ ।
“डीईएक्स (DEX) ले दक्षिण एसियाभरकै ‘लास्ट माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ,” दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरले भने ।
“ठुला स्तरका अनलाइन खुद्रा व्यवसायीहरू होऊन् वा तीव्र गतिमा वृद्धि उन्मुख स्वतन्त्र विक्रेताहरू, डीईएक्सले सबैका लागि सरल, छिटो, भरपर्दो र तथ्याङ्कमा आधारित डेलिभरी सुविधा तथा उत्कृष्ट प्रदर्शनीको सुनिश्चितता प्रदान गर्छ । हाम्रो उद्देश्य लजिस्टिकलाई अझ सरल बनाउँदै ग्राहक अनुभवलाई थप सुदृढ पार्ने र ईकमर्स उद्योगमा दिगो वृद्धि ल्याउने डेलिभरी पारिस्थितिकी तन्त्रको निर्माण गर्नु हो ।”
पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ ११:५८
