पारस खड्काको फोटो दुरुपयोग गर्ने ‘हिमा बेट’ ले पोल-पोलमा टाँसेर गर्दैछ अवैध विज्ञापन
कात्तिक १६, २०८२ २०:२४
काठमाडौँ । नेपालमा जुवा तथा सट्टेबाजी खेल्न वा खेलाउन पूर्ण रूपमा प्रतिबन्धित रहे पनि अवैध बेटिङ प्लेटफर्मले खुल्लमखुल्ला भौतिक तथा डिजिटल विज्ञापन गरिरहेका छन् । नेपाल क्रिकेट टोलीका पूर्व कप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काको फोटो दुरुपयोग गरी अवैध विज्ञापन गरेर चर्चामा आएको ‘हिमा बेट’ ले अहिले भारतसँग सीमा जोडिएको बाँके जिल्लाको नेपालगञ्जसहित विभिन्न सार्वजनिक स्थानमा पोल पोलमा पोस्टर टाँसेर आफ्नो प्रचार गरिरहेको पाइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकास्थित मुक्तिपुर रोडमा रहेको शीखर आल्मुनियम डेकोरेटर अगाडिको पोलमा क्यूआर कोडसहितको पोस्टर टाँसिएको भेटिएको छ । उक्त पोस्टरमा भारतीय क्रिकेटर विराट कोहलीले ‘हिमा बेट’ को प्रचार गरेको जस्तो देखिने तस्बिर प्रयोग गरिएको छ, जसलाई हालै सम्पन्न एसिया कपलाई लक्षित गरी टाँसिएको थियो ।
आल्मुनियम पसल सञ्चालक अनुज अन्सारीले यसबारे जानकारी दिँदै भने, “पोस्टर हाम्रै पसल अगाडिको पोलमा टाँसिएको रहेछ ।” थप पुष्टि गर्न उनले फोटो पनि पठाएका छन् । अहिले उक्त पोस्टरको रङ्ग उडेको अवस्थामा भेटिए पनि टेकपानालाई ईमेलमा प्राप्त अन्य फोटोमा नेपालगञ्जका चार फरक ठाउँमा यसै बेटिङ प्लेटफर्मको खुल्लमखुल्ला प्रचार भइरहेको स्पष्ट देखिन्छ ।
यो त्यही बेटिङ प्लेटफर्म हो, जसले केही समयअघि पारस खड्काको फोटो राख्दै अवैध विज्ञापन गरेको थियो ।
यस प्लेटफर्मले आफ्नो वेबसाइटको होमपेजदेखि सामाजिक सञ्जालका विज्ञापन पोस्टमा खड्काको तस्बिर राखेर उनैले प्रचार गरेको देखाउने प्रयास गरेको थियो । आफ्नो नाम र तस्बिरको दुरुपयोग भएपछि खड्काले यस कार्यको विरोध गर्दै सार्वजनिक रूपमा आफ्नो धारणा राखेका थिए ।
उनले भनेका थिए, “विभिन्न सामाजिक संजालहरूमा मेरो अनुमति र जानकारी बिना विज्ञापन तथा अन्य प्रयोजनका निमित्त मेरो नाम, तस्बिर तथा मसँग सम्बन्धित चिन्हहरुको प्रयोगप्रति मेरो ध्यानाकर्षण भएको छ। यस्ता कार्यमा मेरो कुनै पनि संलग्नता नरहेको र बारम्बार रिर्पोट गर्दा पनि बेवास्ता गरेर मेरो मान-मर्यादामा क्षति पुर्याउने कार्य निन्दनीय छ ।”
उनले अगाडि लेखेका थिए, “कसैको मञ्जुरीबिना नाम, तस्बिर तथा सम्बन्धित चिन्हको प्रयोग कानुनले समेत निषेध गरेको छ । यस्ता भ्रामक सूचना नफैलाउन र सोको पछि नलाग्न समेत म सबैमा हार्दिक अनुरोध गर्दछु ।”
यसरी खुल्लमखुल्ला अवैध विज्ञापन भइरहेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापाले अनुसन्धान अगाडि बढाउने बताएका छन् । उनले टेकपानासँग भने, “म पनि यहाँ भर्खर भर्खर आएको हुँ । यसलाई प्राथमिकतामा राखेर फलोअप गर्छौं । सम्भवतः एसिया कप र अब आउने नेपाल प्रिमियर लिगलाई लक्षित गरी विज्ञापन गरिएको हुनुपर्छ ।”
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पनि बेटिङ अवैध भएकाले अनुसन्धान अगाडि बढ्ने बताएका छन् । श्रेष्ठले भने, “बेटिङ अवैध हो । भौतिक रूपमा भइरहेको प्रचारलाई सम्बन्धित क्षेत्रमा बुझेर अनुसन्धान अगाडि बढ्छ । अनलाइनबाट भइरहेको विज्ञापनबारे पनि हामी अनुसन्धान गरिरहेका छौं ।”
हिमा बेट लामो समयदेखि नेपालमा सक्रिय छ । अघिल्लो वर्ष भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा समेत यस प्लेटफर्मले व्यापक चर्चा पाएको थियो । त्यस क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको प्रहरी टोलीले हिमाबेट, मेटाबेट, ट्याब ६६ लगायतका प्लेटफर्ममार्फत सट्टेबाजी खेलाएको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको थियो । अहिले त्यही जिल्लामा भौतिक रूपमै पोल पोलमा पोस्टर टाँसेर विज्ञापन गरेको भेटिएको छ ।
नेपालमा सट्टेबाजी तथा जुवा प्रतिबन्धित रहे पनि सट्टेबाजीका प्लेटफर्म सञ्चालकहरूले सरोगेट विधि र खुल्लम्खुल्ला अवैध बेटिङको प्रचार गरिरहेका छन् । नेपाल सरकारले अनलाइन सट्टेबाजीका प्लेटफर्म अवैध मान्दै निषेध गरेको तीन वर्ष बढी भइसकेको छ । यसअघि हिमा बेटले नेपाली प्रयोगकर्तालाई नै लक्षित गरी डोमेनमा नेपालको छोटो फर्म (एनपी) राखेको थियो । उक्त वेबसाइट पनि प्रतिबन्ध लागेपछि पछाडि आर अक्षर थपेर ‘हिमाबेटएनपीआर डटकम’ राखेर यस प्लेटफर्मले व्यापक रूपमा प्रचार गरेको छ ।
सामाजिक सञ्जालमा पोस्ट बुस्ट गरेर यो प्लेटफर्मले लाखौँ प्रयोगकर्तामाझ पहुँच पुर्याएको छ । टेकपानाले गत वर्ष हिमाबेटले लाखौं खर्च गरेर हिमालमा गई विज्ञापन तयार पारेको समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा २१ जनवरी २०२५ मा उक्त प्लेटफर्मले सार्वजनिक गरेको भिडिओको चर्चा गरिएको थियो । सो भिडिओमा ६४ लाखभन्दा बढी भ्युज थियो ।
यस प्लेटफर्मको वेबसाइटभरि खुल्लमखुल्ला नेपाली खेलाडीको फोटो पोस्टर राखेको थियो । यद्यपि पारस खड्काले सामाजिक सञ्जालमा पोस्ट राखेपछि भने उक्त पोस्टर यस प्लेटफर्मको होमपेजबाट गायब छ ।
यस प्लेटफर्मले कारोबार सहज बनाउन नेपालीका विभिन्न बैंक अकाउन्ट पनि राख्ने गरेको देखिन्छ ।
ग्राहक सेवा प्रतिनिधिमा पनि नेपाली नम्बर नै राखिएको छ ।
यस वेबसाइटको ‘अबाउट अस’ सेक्सनमा यसलाई ‘उत्कृष्ट सट्टेबाजीको प्लेटफर्म’ भनी खुला रूपमा भनिएको छ भने कस्टमर सपोर्टमा लाइभ च्याट गर्दा उनीहरूले यो अनलाइन क्यासिनो प्लेटफर्म भएको दाबी गर्छन् ।
हुइज लुकअपका अनुसार नेपाली प्रयोगकर्तालाई केन्द्रित गरी यो हिमाबेटएनपी डटकम डोमेन २०२३ मा पहिलो पटक दर्ता गरिएको थियो । यस प्लेटफर्मले सुरुवातदेखि नै फरक फरक डोमेन प्रयोग गर्दै आएको छ र पुरानो डोमेनलाई नयाँमा रिडाइरेक्ट गरेर प्रतिबन्ध छल्ने रणनीति अपनाएको देखिन्छ ।
नेपालमा जुवा ऐन २०२० को दफा २ ले जुवालाई सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी स्पष्ट उल्लेख गरेको छ र दफा ३ ले जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाएको छ । त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ ले जुवा खेल्न खेलाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था गरेको छ ।
यसो त नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ सालदेखि यस्ता बेटिङ साइटमाथि प्रतिबन्ध लगाउँदै आएको छ र कतिपय साइट खोल्दा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्री रहेकोले पहुँचमा रोक लगाएको सूचना देखिन्छ ।
तर, प्राधिकरणको अनुगमन फितलो हुँदा बेटिङ साइट निर्वाध रूपमा चलिरहेका छन् । यसको अर्को उदाहरण वनएक्स बेट हो । प्राधिकरणले आधिकारिक साइट ब्लक गरे पनि उक्त प्लेटफर्मले ‘वनएक्सबेट एनपी डटकम’ डोमेन मार्फत सञ्चालन गरिरहेको छ । सिमिलर साइट्सका अनुसार उक्त साइटमा मासिक ३५ लाखदेखि ४५ लाख प्रयोगकर्ताले भिजिट गर्छन् र यो नेपालमा सबैभन्दा बढी भिजिट हुने १५ औं वेबसाइट पनि हो ।
यसरी अवैध बेटिङ साइट खुल्ला रूपमा चलिरहँदा नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण मूकदर्शक बनेको देखिन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ २०:२४
