close

कोशी प्रदेशमा म्याद सकिएका सवारी कागजातको जरिबाना मिनाहा

टेकपाना टेकपाना

कात्तिक १७, २०८२ ९:१९

कोशी प्रदेशमा म्याद सकिएका सवारी कागजातको जरिबाना मिनाहा

काठमाडौँ । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका कारण यातायात कार्यालयहरू बन्द रहँदा म्याद सकिएका सवारीसाधनका कागजातमा लाग्ने जरिबाना मिनाहा गर्ने निर्णय गरेको छ । हालैको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्यालय बन्द रहेको अवधिभित्र म्याद सकिएका सवारीसाधनका कागजातमा जरिबाना नलाग्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीका दुई शाखा र झापाको बिर्तामोडस्थित कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जरिबाना लाग्ने अवधि शून्य मानेर सोही अवधिअनुसार म्याद थप गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, इटहरीका दुवै कार्यालय र बिर्तामोड कार्यालयका सर्भर नष्ट भएकाले रोकिएको ड्राइभिङ लाइसेन्स वितरण सर्भर पुनःस्थापना भएपछि मात्र सुरु गरिने भएको छ । हाल ती कार्यालयहरूमा सीमित प्रशासनिक कार्यबाहेक अन्य सेवा स्थगित रहेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ ९:१९