म्यानमारका अनलाइन स्क्यामिङ सेन्टरबाट १४ नेपालीको उद्धार, थप ११ जनालाई फर्काउने तयारी
कात्तिक १९, २०८२ ०:२०
काठमाडौँ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले विभिन्न प्रलोभनमा परी म्यानमार पुगेर अनलाइन स्क्यामिङ केन्द्रमा अवैध रूपमा काम गरिरहेका १४ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको छ । दूतावासले म्यानमार तथा थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूको उद्धार गरेको हो ।
दूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार म्यानमारको म्यावडीबाट उद्धार गरिएका नेपालीहरूलाई थाइल्याण्डको ताक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बैंकक ल्याइएको थियो । उनीहरूलाई बुधबार नेपाल एयरलाइन्समार्फत नेपाल फर्काइएको हो ।
म्यानमारमा रहेका थप ११ जना नेपालीलाई पनि यथाशीघ्र नेपाल फर्काउनका लागि म्यानमार तथा थाइल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ केन्द्रहरूबाट १९ अक्टोबरपछि ३८ जना नेपालीसहित २८ मुलुकका २००० भन्दा बढी विदेशीहरूलाई उद्धार गरी थाइल्याण्ड प्रवेश गराइएको थियो । ती ३८ जना नेपालीलाई स्वदेश फर्काउनका लागि पनि थाइल्याण्डका सम्बन्धित निकायहरूसँग दूतावासले समन्वय गरिरहेको जनाएको छ ।
यसैबिच, दूतावासले नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा नपर्न सम्पूर्ण नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ । कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नआउनका लागि पनि दूतावासले सचेत गराएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ ०:२०
