सस्तो सामान देखाएर अग्रिम भुक्तानी नआएको भन्दै स्क्रिन शेयर गर्न लगाएर अकाउन्ट ह्याक गरिँदै
कात्तिक २०, २०८२ १३:४१
काठमाडौँ । पछिल्लो समय अनलाइनमा सस्तो सामान देखाएर अग्रिम भुक्तानी माग्ने र रकम प्राप्त नभएको भन्दै स्क्रिन शेयर गर्न लगाएर अकाउन्ट नै ह्याक गर्ने प्रवृत्ति बढेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गर्दै यस किसिमका घटनाबाट बच्न सचेत गराएको हो ।
प्रहरीका अनुसार यस्तो ठगीमा अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रिम भुक्तानी गर्न लगाउने गरिन्छ । र, पैसा आएको छैन भनी ह्वाट्सएप कलमा स्क्रिन शेयर गर्न लगाउने र त्यहाँ देखिने ओटीपी लिई अकाउन्ट नै ह्याक गरी ठगी गर्ने कार्य हुन्छ । प्रहरीले यस्ता अपराध बढिरहेको भन्दै सावधान रहन अनुरोध गरेको छ ।
“कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन शेयर गर्ने, ओटीपी दिने कार्य नगरौँ, ठगी हुनबाट बचौँ,” काठमाडौँ प्रहरीले सूचनामा भनेको छ । यस किसिमका ठगी तथा अपराधका घटना भएको गरेमा १०० मा फोन गरी जानकारी गराउन सकिनेछ ।
यस्ता प्रकृतिका ठगीका उजुरी देशभरका प्रहरी कार्यालयमा बढेका छन् । साइबर ब्युरोमा मात्रै यस्ता घटना लिएर पुग्ने पीडित दिनहुँ पुग्ने गरेका छन् । अपरिचितको विज्ञापन वा मेसेज रिक्वेस्ट स्वीकार गरेर अग्रिम रकम पठाउँदा ठगिने जोखिम रहने प्रहरीको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत कारोबार गर्दा पेज वा अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेर मात्र भुक्तानी गर्न प्रहरीले अनुरोध गरेको छ । भेरिफाइड ब्याज भएका अकाउन्ट पनि नक्कली हुन सक्ने भएकाले पोस्ट, रिभ्यु, वेबसाइट र कारोबार प्रक्रियालाई आधार मान्न सुझाइएको छ ।
ठगीमा परेमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन वा नजिकको प्रहरी चौकीमा प्रमाणसहित उजुरी दिन प्रहरीको अनुरोध छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १४:४५
