यसरी जुरेको थियो गुगलको भाइरल इमेज एडिटर नानो बनानाको🍌नाम, जसबाट बनिसके ५ अर्ब बढी तस्वीर
कात्तिक २१, २०८२ १०:४७
काठमाडौँ । इन्टरनेटमा 'नानो बनाना' को नामले परिचित गुगलको भाइरल इमेज एडिटरको नामकरण पछाडि कुनै ठुलो योजना नरहेको पाइएको छ । यो रोचक उपनाम वास्तवमा मध्यरातमा राखिएको एउटा सामान्य 'प्लेसहोल्डर' (placeholder) बाट सुरु भएको थियो, जसलाई इन्टरनेटमा भाइरल भएपछि गुगलले सार्वजनिक रूपमा अपनाएको हो ।
प्रोडक्ट हेड डेभिड शेरनले 'मेड बाई गुगल पोडकास्ट'को हालैको एक एपिसोडमा यो रहस्यको पर्दा उघारेका छन् । एआई मोडेलको आधिकारिक नाम जेमनाई २.५ फ्ल्याश इमेज (Gemini 2.5 Flash Image) हो ।
प्रोडक्ट म्यानेजर नीनाले यो मोडेललाई बेन्चमार्क वेबसाइट एलएम एरिना (LM Arena) मा गुमनाम रूपमा परीक्षणका लागि प्रस्तुत गर्दा यो नाम आएको थियो । मोडेललाई गुमनाम राख्न उनले अस्थायी लेबल भर्नुपर्ने थियो, र रातको २:३० बजे नीनाको दिमागमा 'नानो बनाना' आयो ।
यो मोडेल चाँडै भाइरल भयो र मानिसहरूले लगातार यही चञ्चले नाम प्रयोग गरिरहे । फलस्वरूप गुगलले अन्ततः यो नामलाई नै सार्वजनिक रूपमा ग्रहण गर्यो । यो नामको लागि नीनालाई बधाई दिँदै शेरनले यो नाम शानदार रहेको बताएका छन् ।
भाइरल उपनामलाई कम्पनीले अझ अगाडि बढाएको छ । जेमनाई एपभित्र प्रयोगकर्ताहरूलाई मोडेलको उपस्थिति जनाउन केराको आइकन (🍌) प्रयोग गरिएको छ ।
'नानो बनाना' को सफलताको मुख्य कारण मोडेलको चरित्रलाई निरन्तरता दिन सक्ने क्षमता (character consistency) र अनुहारको यथार्थता (facial consistency) मा रहेको छ । डेभिड शेरनका अनुसार, ठुलो सफलता तब हासिल भयो, जब उनले मोडेलले बनाएको तस्बिरमा चरित्रलाई 'एआईको टाढाको भाइ' जस्तो नभई वास्तवमै आफू जस्तै देखिएको पाए ।
हामी मानवहरू अनुहारमा हुने सानो परिवर्तन (जस्तै नाकको आकार, चाउरी, दाँतको अवस्थिति) प्रति धेरै संवेदनशील हुने भएकाले एआईबाट उच्च स्तरको सटीकता (precision) हासिल गर्नु कठिन हुने गरेको थियो । त्यस्तोमा यो नयाँ क्षमताले नै मोडेललाई भाइरल बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
हालसम्म जेमनाई एपमा यो मोडेलबाट ५ अर्बभन्दा बढी तस्बिरहरू सिर्जना भइसकेका छन् । यो मोडेल विश्वव्यापी रूपमा फैलिएका विभिन्न ट्रेन्डहरूको स्रोत बनेको छ ।
थाइल्याण्डबाट सुरु भएको ९० शब्दको फिगरिन (Figurine Prompt) प्रम्प्ट विश्वव्यापी रूपमा फैलियो र किम कार्दशिन तथा गोर्डन राम्से जस्ता सेलिब्रेटीहरूले समेत यसलाई प्रयोग गरे । त्यसैगरी प्रयोगकर्ताहरूले आफूलाई पोलारोइड (Polaroid Style) तस्बिरमा देखाउने ट्रेन्ड पनि भाइरल भयो ।
नानो बनानामार्फत पुराना, च्यातिएका वा पानीका दाग लागेका ब्ल्याक एन्ड ह्वाइट तस्बिरलाई पनि हालैका नयाँ क्यामेराबाट खिचिएझैँ पुनः स्थापित गर्न सकिन्छ । कतिपय मानिसहरूले दिवङ्गत भइसकेका आफन्तहरूलाई (जस्तै: हजुरआमालाई बेबी शावरमा वा बुबालाई कन्भोकेसन समारोहमा) फोटोमा ल्याएर सम्मान गर्न यो प्रविधि प्रयोग गरेका छन् ।
गुगलले यो शक्तिशाली उपकरणको विकासमा बोल्ड हुनुका साथै जिम्मेवार समेत रहने दर्शन अपनाएको छ । जिम्मेवारी सुनिश्चित गर्न यसबाट सिर्जित सबै एआई तस्बिरहरूमा उत्पत्तिको प्रमाण (provenance) समावेश हुन्छ ।
जेमिनी एपबाट आउने हरेक तस्बिरको तल्लो दायाँ कुनामा देखिने वाटरमार्क हुन्छ, जसले यो एआईद्वारा सिर्जित हो भन्ने जानकारी दिन्छ । यद्यपि यो सजिलै मेट्न वा क्रप गर्न सकिने कुरा गुगलले स्वीकार गरेको छ ।
यस बाहेक त्यस्ता तस्विरमा अदृश्य सिन्थआईडी (SynthID) अर्थात् वाटरमार्क पनि प्रयोग गरिएको हुन्छ, जुन मानवीय आँखाले देख्न सक्दैन । सिन्थआईडी एक 'अटुट' अदृश्य वाटरमार्क हो । यदि तस्बिर क्रप गरिए पनि वा अर्को सेवा टुलमा अपलोड गरी सम्पादन गरिए पनि यो कायम रहन्छ र गुगलले पत्ता लगाउन सक्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ ११:५३
