close

कम चर्चित, तर बढी उपयोगी विन्डोज कम्प्युटरको स्टिकी नोट्स, के हो र यसलाई कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १३:११

कम चर्चित, तर बढी उपयोगी विन्डोज कम्प्युटरको स्टिकी नोट्स, के हो र यसलाई कसरी प्रयोग गर्ने ?

काठमाडौँ । प्रविधिको संसारमा जटिल एप्लिकेसनहरूको भीडभाडमा उत्पादनशीलता बढाउने एउटा साधारण, तर शक्तिशाली टुल हो विन्डोज स्टिकी नोट्स (Windows Sticky Notes) ।

विन्डोजमा इनबिल्ट भएर आउने यसलाई धेरै प्रयोगकर्ताहरूले सामान्य डिजिटल स्क्र्याचप्याडको रूपमा मात्र लिने गरेका छन् । तर जति चर्चा हुनुपर्ने, त्यति भएको पाइँदैन ।

विन्डोज स्टिकी नोट्स एउटा डेस्कटप नोट्स एप्लिकेसन हो, जुन विन्डोज ७ देखिका भर्सनमा समावेश छ । यसको अवधारणा पोस्ट-इटबाट प्रेरित छ ।

पोस्ट-इट कागजको सानो, प्रायः ३ इन्चको वर्गाकार टुक्रा हुन्छ, जसमा महत्त्वपूर्ण टिपोट लेखेर जहाँ पनि टाँस्न सकिन्छ । तर यसरी धेरै स्टिकी कागजहरू प्रयोग गर्दा कार्यस्थल अस्तव्यस्त हुनसक्छ । यसै समस्याबाट बच्न, स्टिकी नोट्स एपले तपाईँको कम्प्युटरको स्क्रिनमा भर्चुअल नोटहरू राख्ने अनुमति दिन्छ ।

यो एप मूलतः सन् २००२ मा विन्डोज एक्सपी ट्याब्लेट एडिसनमा सुरु भएको थियो र पछि विन्डोज भिस्टाको लागि ग्याजेटको रूपमा समावेश गरिएको थियो । सन् २०१६ मा विन्डोज १० को एनिभर्सरी अपडेटमा यसलाई युनिभर्सल विन्डोज प्लेटफर्म एपमा परिवर्तन गरियो, जसले गर्दा यसमा पेन इनपुट, तस्विर र आधारभूत टेक्स्ट फर्म्याटिङ जस्ता नयाँ सुविधाहरू थपिए ।

स्टिकी नोट्स कसरी प्रयोग गर्ने ?

स्टिकी नोट्स एप सामान्यतया विन्डोज इन्स्टलेसनकै क्रममा डिफल्ट वा इन्स्टल भएरै आउँछ । स्टार्ट मेनुमा गएर सर्च बक्समा sticky notes टाइप गर्दा यो एप भेटिन्छ ।

टास्कबारमा रहेको विन्डोज सर्च बक्सबाट पनि यसलाई पत्ता लगाउन सक्नुहुन्छ । यदि तपाईँ बारम्बार यो एप प्रयोग गर्नुहुन्छ भने एप आइकनलाई सधैँ देखिने गरी Pin to Start वा Pin to taskbar विकल्प चयन गर्न सक्नुहुन्छ ।

यदि एपमा समस्या आयो वा भेटिएन भने माइक्रोसफ्ट स्टोरमा Microsoft Sticky Notes सर्च गरेर पुनः इन्स्टल गर्न सकिन्छ ।

एप मुख्यतया नोट्स लिस्ट (Notes list) र इन्डिभिजुअल नोट सेक्सन (individual note section) गरी दुई भागमा आउँछ । नोट्स लिस्ट खुलेपछि माथि बायाँ कुनामा रहेको प्लस (+) चिन्हमा क्लिक गरेर नोट सिर्जना गर्न सकिन्छ ।

तपाईँले यसमा चाहेजति नोटहरू बनाउन सक्नुहुन्छ र तिनीहरूलाई कस्टमाइज पनि गर्न सक्नुहुन्छ । तीन थोप्लाको आइकनमा क्लिक गरेर Notes list चयन गरी सबै नोटहरूको सूची हेर्न सकिन्छ ।

स्टिकी नोट्सलाई माइक्रोसफ्ट अकाउन्टसँग सिङ्क गर्न पनि मिल्छ । यसका लागि नोट्स लिस्टमा रहेको गियर सेटिङ्स आइकनमा क्लिक गर्नुहोस् र Sign in बटन थिच्नुहोस् । आफ्नो माइक्रोसफ्ट अकाउन्ट चयन गरेर Sync Now बटन क्लिक गर्नुहोस् ।

एक पटक लग इन गरिसकेपछि तपाईँ आफ्ना नोटहरूलाई क्लाउडमा सिङ्क गर्न सक्नुहुन्छ र विभिन्न उपकरणहरूबाट यसमा पहुँच पाउन सक्नुहुन्छ ।

डेस्कटपमा आउटलुकएप को नोट्स खण्डमा तथा आईफोन, आईप्याड र एन्ड्रोइड डिभाइसमा वननोट (OneNote) एप भित्रको Sticky Notes खण्डमा यसलाई फेला पार्न सकिन्छ ।

स्टिकी नोट्सको सेटिङ्समा रहेको General खण्डमा गएर Enable insights स्विच अनु भयो भने यसले तपाईँका नोटहरूमा लेखिएका वेबसाइटहरूलाई स्वतः हाइपरलिङ्कमा रूपान्तरण गर्न मद्दत गर्दछ ।

स्टिकी नोट्स एपलाई डिफल्ट रूपमा अन्य एप विन्डोजको माथि तैरिरहेको अवस्थामा राख्न सकिँदैन । यो सुविधा प्रयोग गर्न तपाईँलाई माइक्रोसफ्ट पावरटोयज (Microsoft PowerToys) जस्तो अर्को एप इन्स्टल गर्नुपर्ने हुन्छ ।

पावरटोयजमा Always On Top सुविधा इनेबल गरेपछि तपाईँले नोटलाई चयन गरी डिफल्ट शर्टकट Windows + Control + T थिचेर त्यसलाई सधैँ टपमा राख्न सक्नुहुन्छ ।

यो एप जटिल परियोजना व्यवस्थापनको लागि नभई, तत्काल क्याप्चर गर्नुपर्ने ग्राहकको अनुरोध, इमेल गरिरहेको बेला आएको विचार वा छोटो कोड स्निपेट जस्ता कार्यहरूका लागि उपयुक्त हुन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १३:११