डिसेम्बरदेखि वयस्क प्रयोगकर्तासँग यौनिक कुराकानी पनि गर्न तयार हुँदै च्याटजीपीटी
कात्तिक २३, २०८२ १४:१९
काठमाडौँ । च्याटजीपीटी भेरिफाइड वयस्क प्रयोगकर्तासँग इरोटिका अर्थात् यौनजन्य कुराकानीमा संलग्न हुन तयार हुने भएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै केही सुरक्षा प्रतिबन्धहरू खुकुलो पार्ने घोषणा गरेका हुन् ।
यस परिवर्तनले च्याटबटलाई अझ इरोटिका, मित्रवत् तथा मानव-समान प्रतिक्रियाहरू दिन अनुमति दिनेछ । अल्टम्यानका अनुसार कम्पनीको यो कदम वयस्क प्रयोगकर्ताहरूलाई वयस्कको रूपमा व्यवहार गर्ने सिद्धान्तमा आधारित छ ।
सुरुमा मानसिक स्वास्थ्य समस्याहरूको सन्दर्भमा सावधानी अपनाउनका लागि च्याटजीपीटीलाई एकदम प्रतिबन्धात्मक बनाइएको थियो । यस्तो प्रतिबन्धले मानसिक स्वास्थ्य समस्या नभएका धेरै प्रयोगकर्ताहरूका लागि च्याटजीपीटीलाई कम उपयोगी तथा कम रमाइलो बनाएको अल्टम्यानले स्वीकार गरेका छन् ।
उनले डिसेम्बरमा उमेर-गेटिङ (age-gating) पूर्ण रूपमा लागु गर्ने क्रममा भेरिफाइड वयस्कहरूका लागि इरोटिका जस्ता थप कुराका लागि अनुमति दिइने बताएका छन् । यो घोषणा ओपनएआईको धेरै महिना लामो प्रयासपछिको एक उल्लेखनीय मोड हो । जहाँ कम्पनीले च्याटजीपीटीसँग मानसिक रूपमा अस्थिर केही प्रयोगकर्ताहरूले विकास गरेको चिन्ताजनक सम्बन्धलाई सम्बोधन गर्न खोजिरहेको थियो ।
अल्टम्यानले यी समस्याहरूमाथि प्रारम्भिक सफलताको दाबी गर्दै ओपनएआई च्याटजीपीटी वरपरका गम्भीर मानसिक स्वास्थ्य समस्याहरूलाई कम गर्न सक्षम भएको बताएका छन् । यद्यपि, कम्पनीले आफ्नो यो दाबीको पक्षमा पर्याप्त प्रमाण भने उपलब्ध गराएको छैन ।
ओपनएआईका प्रवक्ताका अनुसार कम्पनीले इरोटिक सुविधाहरू वयस्क प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध होऊन् भन्ने सुनिश्चित गर्नको लागि उमेर-पूर्वानुमान प्रणालीमा निर्भर रहनेछ।
यदि उमेर-पूर्वानुमान प्रणालीले कुनै वयस्कलाई गल्तीले नाबालिगको रूपमा चिन्ह लगायो भने च्याटजीपीटी प्रयोगकर्ताहरूले यसलाई सच्याउनका लागि च्याटबटमा आफ्नो सरकारी परिचय पत्रको तस्विर अपलोड गर्नुपर्ने हुन सक्छ ।
ओपनएआई आफ्नो प्रयोगकर्ता आधार बढाउनुपर्ने दबाबमा छ । हाल च्याटजीपीटीका ८० करोड साप्ताहिक सक्रिय प्रयोगकर्ता भए पनि कम्पनी व्यापक रूपमा अपनाइने गुगल र मेटाका एआई सञ्चालित उत्पादनहरू निर्माण गर्ने दौडमा छ ।
क्यारेक्टर एआईले च्याटबटहरूलाई रोमान्टिक वा इरोटिक भूमिका खेल्न अनुमति दिने कार्य इङ्गेजमेन्ट बढाउने एक प्रभावकारी रणनीति भएको देखाइसकेको छ । लाखौँ प्रयोगकर्ता बनाइसकेको क्यारेक्टर एआईमा मानिसहरूले दैनिक औसत दुई घण्टा च्याटबटसँग कुरा गर्छन् ।
अल्टम्यानले ओपनएआई 'इङ्गेजमेन्टका लागि अप्टिमाइज' नगरेको दाबी गरे पनि च्याटजीपीटीलाई थप इरोटिक बनाउँदा यसले निश्चित रूपमा प्रयोगकर्ताहरूलाई आकर्षित गर्न सक्छ । यद्यपि ओपनएआईले इरोटिकालाई आफ्नो एआई भ्वाइस, इमेज वा भिडिओ जेनेरेसन उपकरणहरूमा विस्तार गर्छ वा गर्दैन भन्ने कुरा चाहिँ स्पष्ट भइसकेको छैन ।
पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १४:१९
