के फोनलाई लगातार चार्ज गरिरहँदा ब्याट्री बिग्रन्छ ? यस्तो छ एप्पल, गुगल र सामसङको राय-सुझाव
कात्तिक २३, २०८२ २०:३७
काठमाडौँ । विगतमा स्मार्टफोन प्रयोगकर्तालाई फोन रातभर चार्जरमा नछोड्न सल्लाह दिइन्थ्यो । किनभने रातभर चार्जमा छोड्दा त्यति बेलाका ब्याट्रीमा गम्भीर क्षति हुने सम्भावना थियो ।
तर हालका स्मार्टफोन मोडेलमा आकस्मिक ओभरचार्जिङबाट जोगाउने सुरक्षा प्रणाली जडान गरिएको हुन्छ । यद्यपि धेरै प्रयोगकर्तालाई अहिले पनि आफ्नो डिभाइसलाई लामो समयसम्म चार्ज गर्दा ब्याट्री बिग्रन्छ कि बिग्रिँदैन भन्ने बारे जिज्ञासा रहन्छ ।
यस विषयमा प्रविधि म्यागजिन सीनेटलाई एप्पल, गुगल र सामसङका विज्ञले आफ्नो राय दिएका छन् । सङ्क्षिप्तमा भन्नुपर्दा फोनलाई सधैँ चार्जमा राखी रहँदा तपाईँको ब्याट्री नष्ट हुँदैन ।
आधुनिक स्मार्टफोन स्मार्ट चार्जिङ प्रणाली प्रयोग गरी निर्माण गरिएका हुन्छन् । यसले गर्दा ब्याट्री पूर्ण रूपमा भरिएपछि पावर आपूर्तिलाई नियन्त्रित गर्छ वा काट्छ । यसले पुरानो डिभाइसमा हुने ‘ओभरचार्जिङ’को क्षतिलाई पूर्णतया रोक्छ । त्यसैले यदि तपाईँ रातभर आफ्नो आईफोन वा एन्ड्रोइड फोन चार्जरमा छोड्नुहुन्छ भने चिन्ता लिनु पर्दैन ।
यद्यपि ‘ब्याट्री नष्ट हुँदैन’ भन्नुको तात्पर्य चार्जमा राखी रहँदा यसले कुनै असर पार्दैन भन्ने पनि होइन । ब्याट्री लामो समयसम्म प्रयोगमा आइरहँदा स्वाभाविक रूपमा कमजोर हुँदै जान्छ । र, तपाईँको चार्ज गर्ने तरिकाले यो प्रक्रियाको गति निर्धारण गर्छ ।
फोनलाई निरन्तर १०० प्रतिशतमा राखी रहँदा ब्याट्रीमा थप भोल्टेज स्ट्रेस पर्न सक्छ । वास्तवमा ब्याट्रीको आयु घटाउने वास्तविक शत्रु भनेको ताप हो । यो बुझाइले तपाईँलाई फोनको आयु बढाउन मद्दत गर्न सक्छ ।
ब्याट्री हेल्थ तपाईँले कति पटक फोन चार्ज गर्नुभयो भन्नेमा मात्र निर्भर हुँदैन । यो भोल्टेज, तापक्रम र मर्मत-सम्भार कसरी व्यवस्थापन भएको छ भन्नेमा पनि भर पर्छ । लिथियम-आयन ब्याट्री शून्य प्रतिशत र १०० प्रतिशत जस्ता सीमामा पुग्दा सबैभन्दा छिटो खिइन्छन् ।
लामो समयसम्म फुल चार्ज गर्दा ब्याट्रीको क्याथोड र इलेक्ट्रोलाइटमा अतिरिक्त भोल्टेज तनाव पर्छ । यही कारणले गर्दा धेरै डिभाइसले ‘ट्रिकल चार्जिङ’ प्रयोग गर्छन् वा १०० प्रतिशतमा पुगेपछि अस्थायी रूपमा चार्ज रोक्छन् । र, आवश्यक पर्दा मात्र पुन: सुरु गर्छन् ।
तर, सबैभन्दा ठुलो खतरा ओभरचार्जिङ नभई तापक्रम नै हो । तपाईँको फोन चार्जमा लगाइ रहँदा ब्याकग्राउन्डमा एपहरू चलिरहेका छन् भने त्यहाँ ऊर्जा तापमा परिणत हुन्छ ।
यसले ब्याट्री भित्रको रासायनिक प्रक्रियालाई तीव्र बनाउँछ । यदि तपाईँ गर्मीको दिनमा गेमिङ गर्दै, स्ट्रिमिङ गर्दै वा चार्ज गर्दै हुनुहुन्छ भने यसले बढी ताप उत्पन्न गर्छ । र, ब्याट्री डेड हुने समस्या उच्च हुन्छ ।
एप्पलले लिथियम-आयन ब्याट्रीलाई ‘कन्जुमेबल कम्पोनेन्ट्स’का रूपमा वर्णन गरेको छ । यसको अर्थ समयसँगै ब्याट्रीको गुणस्तर खस्किँदै जानु सामान्य प्रक्रिया हो । यही गिरावटलाई कम गर्न आईफोनमा ‘अप्टिमाइज्ड ब्याट्री चार्जिङ’ फिचर प्रयोग गरिएको हुन्छ ।
यसले तपाईँ दैनिक रूपमा कसरी फोन प्रयोग गर्नुहुन्छ भन्ने सिक्छ र तपाईँले अनप्लग गर्नुभन्दा ठिक अघिसम्म चार्जिङलाई लगभग ८० प्रतिशतमा रोकेर उच्च भोल्टेजमा बस्ने समय घटाउँछ । एप्पलले डिभाइसलाई ० देखि ३५ डिग्री सेल्सियसको बीचमा राख्न र तापक्रम नियन्त्रणका लागि चार्ज गर्दा केही मोटो केस हटाउन पनि सुझाव दिँदै आएको छ ।
सामसङ र अन्य एन्ड्रोइड निर्माताले पनि यस्तै सुविधा प्रदान गर्छन् । सामसङले ‘वन यूआई’ को सेटिङमा ‘ब्याट्री प्रोटेक्ट’ नामक सुविधा दिएको छ । यसलाई एक्टिभ गर्दा लामो चार्जिङ साइकलमा तनाव कम गर्न चार्जिङ ८५ प्रतिशतमा सीमित हुन्छ ।
गुगल, वनप्लस र साओमी जस्ता अन्य निर्माताले एडप्टिभ चार्जिङ वा ब्याट्री केयर समान विकल्प दिएका हुन्छन् । यिनले प्रयोगकर्ताको बानीको आधारमा गतिशील रूपमा पावर डेलिभरीलाई ढिलो गर्छन् वा चार्जलाई सीमित गर्छन् । यसले गर्दा लामो समयसम्म फोन चार्जमा छोडेपनि सुरक्षित रहन्छ ।
यी सबै सुरक्षात्मक उपाय हुँदाहुँदै पनि केही अवस्थामा ब्याट्रीको खिइने गति तीव्र हुन सक्छ । सबैभन्दा सामान्य कारक उच्च तापक्रम नै हो । थोरै समयको लागि भए पनि फोनलाई सिधै घाममा, कारमा वा सिरानी मुनि राखेर चार्ज गर्दा तापक्रम असुरक्षित तहमा पुग्न सक्छ ।
गेमिङ वा फोरके भिडिओ एडिट जस्ता हेभी काम गर्दै चार्जमा राख्दा तापक्रम बढ्ने र ब्याट्री छिटो खिइने सम्भावना हुन्छ । साथै सस्तो वा अनधिकृत केबुल र एडप्टरले अस्थिर करेन्ट प्रवाह गर्न सक्छन् ।
यसले ब्याट्रीका सेललाई अनावश्यक दबाब दिन्छ । यदि ब्याट्री धेरै वर्ष पुरानो छ भने त्यो यस प्रकारको तनावप्रति स्वाभाविक रूपमा बढी संवेदनशील हुन्छ ।
तपाईँले आफ्ना चार्जिङ शैली पूर्ण रूपमा परिवर्तन गर्नु पर्दैन । तर केही थोरै सुधारले ब्याट्रीको आयु बढाउन मद्दत गर्न सक्छ ।
यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने अप्टिमाइज्ड चार्जिङ, सामसङ प्रयोगकर्ता हुनुहुन्छ भने ब्याट्री प्रोटेक्ट जस्ता फोनका बिल्ट-इन अप्टिमाइजेसन टुल एक्टिभ गर्न सक्नुहुन्छ ।
यी टुलले तपाईँको चार्जिङ स्टाइल सिकेर फोन रातभर चार्ज गर्दा पनि १०० प्रतिशत नपुग्ने बनाउँछन् । त्यस्तै चार्ज गर्दा फोनलाई चिसो राख्नुहोस् । एप्पलका अनुसार १६ देखि २२ डिग्री सेल्सियसको बीचमा ब्याट्रीले राम्रो काम गर्छ । यदि फोन तातो भयो भने त्यसको केस हटाउनुहोस् वा राम्रो हावा लाग्ने ठाउँमा सार्नुहोस् ।
यसलाई सिरानी मुनि वा ल्यापटप जस्ता अन्य इलेक्ट्रोनिक्सको नजिक नराख्नुहोस् र रातभर ताप जम्मा गर्ने वायरलेस चार्जरबाट जोगिनुहोस् । आफ्नो फोन निर्माता वा विश्वासिलो ब्रान्डका गुणस्तरीय चार्जर र केबुल मात्र प्रयोग गर्नुहोस् ।
ब्याट्रीलाई १०० प्रतिशतमा पुर्याउनैपर्छ भन्ने चिन्ता लिनु पर्दैन । लिथियम-आयन ब्याट्रीका लागि २० देखि ८० प्रतिशतको चार्ज उत्तम हो । सम्भव भएसम्म फोनलाई शून्य प्रतिशतसम्म न्यून वा १०० प्रतिशतसम्मको फुल चार्ज नगर्नु होस् ।
पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ २०:३७
