close

पठाओ, बुद्ध एयर, क्लासिक टेक आदि कम्पनीले सामाजिक सञ्जालमा एकपछि अर्को किन माग्दैछन् माफी ?

टेकपाना टेकपाना

कात्तिक २४, २०८२ १०:५०

पठाओ, बुद्ध एयर, क्लासिक टेक आदि कम्पनीले सामाजिक सञ्जालमा एकपछि अर्को किन माग्दैछन् माफी ?

काठमाडौँ । पछिल्ला केही दिनदेखि विभिन्न कम्पनीहरूले सामाजिक सञ्जाल प्लेटफर्ममा माफी माग्दै ‘अफिसियल अपोलोजी स्टेटमेन्ट’ सार्वजनिक गरिरहेका छन् । कम्पनीको लेटरहेडसहित आधिकारिक जस्तो देखिने ती वक्तव्यमा कम्पनीहरूले ग्राहक तथा सुभेच्छुकलाई सम्बोधन गरेका छन् । 

तर कम्पनीहरूले माफी माग्दा कुनै गल्ती वा सेवामा कमी कमजोरी भएको भन्ने विषय चाहिँ छैन । कम्पनीहरूले आफ्नो सेवा गुणस्तरीय भएको र यसले सेवाग्राहीलाई फाइदा पुर्‍याएको भन्दै माफी मागेका छन् । माफी माग्ने सामान्य शैलीभन्दा फरक स्वरूपमा लेखिएका यी वक्तव्यले धेरैको ध्यान खिचिरहेका छन् ।

यस्तै ट्रेन्ड गर्दै राइड शेयरिङ एप ‘पठाओ’ ले शनिबार सामाजिक सञ्जालमा आधिकारिक रूपमा माफी सहित स्टेटमेन्ट सार्वजनिक गरेको छ । तर, पोस्टमा कुनै गल्ती, आलोचनाका कारण माफी मागेको भने छैन । 

पठाओले स्टेटमेन्टको पहिलो लाइनमा नै भनेको छ, “यहाँको सबैभन्दा राम्रो र सुरक्षित राइड शेयरिङ प्लेटफर्म भएकोमा माफी माग्न चाहन्छौँ ।” उक्त माफीको स्टेटमेन्टमा कम्पनीले आफ्नो सेवाको बारेमा घुमाउरो तरिकाले तारिफ गरिरहेको छ । 

 

 

यही अपोलोजी स्टेटमेन्टको ट्रेन्ड पछ्याउँदै आइतबार बिहान बुद्ध एयरले सामाजिक सञ्जालमा माफी मागेको पोस्ट राखेको छ । स्टेटमेन्टमा बुद्ध एयरले भनेको छ, “प्रिय यात्रु महानुभावहरू, विगत २८ वर्षदेखि हामीले बुद्ध एयरमार्फत नेपालमा हवाई यात्रा अत्यन्त सहज बनाएकोमा दोषी ठहरिएका छौँ ।” बुद्ध एयरले आफ्ना सेवाहरूका बारेमा उल्लेख गर्दै उत्कृष्ट सेवा प्रदान गरेकोमा ग्राहक वर्गसँग माफी मागेको भनेको छ । 

स्प्यारो एसएमएस, नथिङ फोन, क्लासिक टेक, भोजमान्डु सहित विभिन्न आईटी कम्पनी, कर्पोरेट हाउस, कन्सल्टेन्सी, रिसोर्टसम्मले यस्तै किसिमका अपोलोजी पोस्ट गरेका छन् । यसरी अपोलोजी ट्रेन्ड भएपछि फोहोरको रिसाइकलिङको काम गर्दै आएको कम्पनी ‘खालीसिसि’ ले आफ्नो सामाजिक सञ्जालमा कर्पोरेट हाउसहरूले अपोलोजी लेटर लेखेर काम सिद्ध्याएको भए अब उक्त कागजहरूलाई आफूले रिसाइकलिङ गर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको छ ।

 

 

यसरी माफी माग्नुपर्ने केही कारण नहुँदा पनि माफी माग्ने नाममा कम्पनीहरूले सामाजिक सञ्जालमा गरिरहेको यो प्रचार शैलीलाई धेरैले मन पराएका छन् । केही प्रयोगकर्ताले भने उक्त ट्रेन्ड किन चलिरहेको छ र कम्पनीहरूले माफी किन मागिरहेका छन् भन्दै प्रश्न गरेका छन् । केही प्रयोगकर्ताहरूले भने कम्पनीहरूको राम्रो सेवा नहुँदा पनि अपोलोजी स्टेटमेन्ट टेन्डलाई पछ्याउँदै अनावश्यक प्रचार गरिरहेको भन्दै आलोचना पनि गरेका छन् । 

 

भारतमा पनि चल्दैछ, यो ट्रेन्ड

पछिल्ला केही दिनदेखि भारतमा कर्पोरेट हाउस, चलचित्र, आईटी क्षेत्रदेखि सबै किसिमको उद्योगमा अपोलोजी स्टेटमेन्टको ट्रेन्ड चलिरहेको छ । जहाँ कम्पनीहरूले आफ्ना आधिकारिक सामाजिक सञ्जालबाट आफ्नो गुणस्तरीय सेवाका लागि ग्राहकहरूसँग माफी मागिरहेका छन् । 

यसरी पोस्ट गर्नेमा ‘टी सिरिज’, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तेरे इश्क मे’, ‘अडानी अम्बुटा सिमेन्ट’, ‘हल्दिराम’, ‘स्कोदा’, ‘बनाना लिफ’, ‘फक्सवागन’ लगायतका कम्पनीहरू छन् । 

 

यसरी सुरु भएको थियो अपोलोजी स्टेटमेन्ट ट्रेन्ड

हाल नेपाल, भारतमा चलिरहेको अपोलोजी ट्रेन्डको पछाडि भने गत वर्षको अक्टोबरमा फिलिपिनो कन्टेन्ट क्रियटर जेन बारानगानको विवादसँग जोडिएको छ । जेन फिलिपिनो-अमेरिकन पक गायिका ओलिभिया रोडिग्रोको  कन्सर्टमा सहभागी भएकी थिइन् । 

कन्सर्टको क्रममा जेनले मोबाइलको ब्याक क्यामेराको फ्लाश लाइट आफूतिर फर्काएर ठुलो स्वरले गीत गाउँदै भिडिओ बनाएकी थिइन् । यसरी फ्लाश लाइट दर्शकतिर फर्काउँदा कन्सर्टमा सहभागी हुने अन्यलाई स्टेजतर्फ असर गरेको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि जेनले सामाजिक सञ्जालमा माफी मागेकी थिइन् । उनले लेखेकी थिइन्, “सबै जनासँग म मेरो क्रियाकलापप्रति माफी माग्न चाहन्छु । ‍- जेन”

जेनले माफी माग्दा लेखेको चिठी निकै छोटो भएको र माफी माग्दा गम्भीर नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । साथै उनको उक्त पोस्ट निकै भाइरल समेत भयो । उक्त पोस्टपछि फिलिपिन्सका कयौँ ब्रान्डहरूले जेनकै शैलीमा मार्केटिङ र प्रमोसन गर्न थाले । 

 

उनको उक्त शैलीलाई नै फलो गरेर विभिन्न उद्योगदेखि मानव अधिकारका लागि काम गर्ने संस्थाहरूसम्मले पनि उक्त ट्रेन्डलाई पछ्याए । सामान्य पोस्टबाट कम्पनीहरूले आफ्नो लोगो सहितको लेटरहेडबाट नै यस्तो शैलीमा स्टेटमेन्ट दिए । 

सामाजिक सञ्जालमा कम्पनीहरूले आधिकारिक पत्रसहित माफीको नाममा सोसल मिडिया मार्केटिङ गर्ने ट्रेन्ड हालै चलेपनि आफ्नो कमजोरी देखाएजस्तो गरेर ब्रान्डको प्रचार गर्ने चलन भने लामो समयदेखि चल्दै आएको छ । यस्तो किसिमको प्रचारलाई ‘हम्बलब्रागिङ’ को रूपमा पनि लिने गरिन्छ । जहाँ आफ्नो केही कमजोरी देखाए जसरी व्याख्या गरिन्छ, तर वास्तवमा आफ्ना राम्रा पक्षहरू देखाउने गरिन्छ । 

सन् २०१० को दशकदेखि नै ट्वीटर (हालको एक्स) लगायतका सामाजिक सञ्जालमा सेलिब्रेटी र विभिन्न कम्पनीहरूले घुमाउरो तरिकाबाट आफ्नो प्रचार गर्ने गरेको देखिन्छ ।  विभिन्न ब्रान्डहरूले आफ्ना सबै उत्पादन बिक्री भइसकेको भन्दै ग्राहकहरूसँग माफी माग्ने, धेरै ग्राहक आएर फुर्सद नभएको भन्दै गुनासो गरेका पोस्टहरू हम्बलब्रागिङकै उदाहरणहरू हुन् । 

सन् २०१८ मा टेस्ला मोडेल ३ तयार पार्ने क्रममा विभिन्न कठिनाइ आएपछि टेस्ला कम्पनीका मालिक एलन मस्कले मोडेल ३ लाई ‘प्रोडक्सन हेल’को रूपमा व्याख्या गरेका थिए । मोडेल ३ बजारमा आएपछि उच्च माग भएपछि उनले यसलाई ‘डेलिभरी लजिस्टिक हेल’ बताएका थिए । उनले ट्वीटरमा एक पोस्ट गर्दै उत्पादन सीमित भएको तर बजारमा ठुलो माग भएको र सबैलाई उत्पादन पुर्‍याउन समस्या भएको भन्दै यस्तो व्याख्या गरेका थिए । 

तर उनले ट्वीटमार्फत डेलिभरी गर्न समस्या भएको भन्दा पनि उत्पादन भन्दा धेरै माग भएको देखाएर मोडेल ३ को सफलतालाई घुमाउरो तरिकाले सामाजिक सञ्जालमा देखाएको भनेर चर्चा भएको थियो । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १०:५०