close

तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक २४, २०८२ १९:३६

तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

काठमाडौँ । ३ सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका छन् । बैँकले कोर बैङ्किङ सफ्टवेयर स्तरोन्नति गर्ने भन्दै केही दिन सेवा अवरुद्ध हुने सूचना जारी गरेको भए पनि लाखौँ ग्राहकको दैनिक कारोबार महिना दिनसम्म प्रभावित भएको हो ।

बैँकले ३० असोजमा एक सूचना जारी गर्दै बैङ्किङ सेवा ३ देखि १० कात्तिकसम्म अवरुद्ध हुने जानकारी दिएको थियो । प्रयोगमा रहेको कोर बैङ्किङ सफ्टवेयरलाई टी२४ बाट आर२३ मा स्तरोन्नति गर्न लागिएकाले सेवा अवरुद्ध हुने भनिएको थियो । तोकिएको १० कात्तिकभित्र सेवा सञ्चालनमा नआएपछि बैँकले १३ कात्तिकमा अर्को सूचना जारी गर्दै ११ कात्तिकदेखि नै कारोबार सञ्चालनमा आएको जानकारी दियो । उक्त सूचनामा मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ सेवा ‘समय सापेक्ष सुरक्षित, गुणस्तरीय तथा उच्चस्तरीय’ बनाउने उद्देश्यले गरिएको स्तरोन्नतिमा केही समय ढिलो हुन गएको भन्दै ग्राहकहरूसँग क्षमायाचना समेत मागिएको थियो ।

तर, ११ कात्तिकदेखि सञ्चालन भएको भनिए पनि बैँकको सेवा प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको थिएन । सेवा सहज नभएपछि ग्राहकले बैँकको सामाजिक सञ्जालमा गुनासो पोख्न खोज्दा बैँकले कमेन्ट नै लिमिट गरेको थियो । सेवाग्राहीको गुनासो आउने क्रम जारी रहेपछि बैँकले २० कात्तिकमा पुन: एक पोस्ट राख्दै नयाँ सफ्टवेयर भएकाले भनेकै समयमा पूर्ण रूपमा सञ्चालन गर्न नसकिएको जानकारी दियो ।

२० कात्तिकमा जारी गरिएको अर्को सूचनामा भनियो, “हिमालयन बैँक लिमिटेडले हाल प्रदान गर्दै आइरहेको भन्दा अझ सुदृढ, सुरक्षित र उच्चस्तरको सेवा प्रदान गर्ने उद्देश्यले मिति २०८२ कार्तिक ०३ देखि १० गते सम्म आफ्नो Core Banking Software T24 Release R19 लाई T24 Release R23 मा स्तरोन्नति गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरी मिति २०८२ कार्तिक ११ गतेबाट मुख्य बैङ्किङ कारोबार नियमित रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदछौँ । तथापि नयाँ सफ्टवेयर भएकोले शाखाहरूबाट सेवा प्रदानमा अपेक्षितभन्दा केही बढी समय लाग्ने गरेको भन्ने गुनासोप्रति बैँक संवेदनशील रहेको तथा सम्पूर्ण सेवा प्रभावकारी रूपमा प्रदान गर्ने तर्फ प्राथमिकताका साथ काम भइरहेको समेत जानकारी गराउँदछौँ ।”

बैँकले आफ्नो कोर बैङ्किङ सफ्टवेयरका साथै मोबाइल बैङ्किङ र अनलाइन बैङ्किङ पनि एकै पटक स्तरोन्नति गर्ने प्रक्रियामा रहेकाले त्यसमा केही प्राविधिक समस्या आएको बताएको थियो । यद्यपि प्रभावकारी रूपमा यही दिनदेखि सञ्चालनमा आउँछ भन्ने खुलाएको थिएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेको गुनासो र विभिन्न सञ्चार माध्यमले राखेका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै बैँकले त्यस्ता सूचनामा विश्वास नगर्न आग्रह गरेको थियो ।

यस लामो अवरोधका विषयमा ग्राहकले सामाजिक सञ्जाल लिङ्क्डइन लगायतका माध्यममा आफ्नो आक्रोश पोखेका छन् । लिङ्क्डइनमा प्रजिना नामकी ग्राहकले गुनासो पोख्दै भनेकी छन्, “हिमालयन बैँकको मोबाइल र वेब बैङ्किङ सेवा हप्तौँदेखि अवरुद्ध हुनु अस्वीकार्य छ । करिब २० अक्टोबरदेखि ग्राहकहरूले साधारण अनलाइन कारोबार समेत गर्न पाएका छैनन् । यति ठुलो वित्तीय संस्थाले आफ्ना ग्राहकलाई लामो समयसम्म अन्धकारमा राख्नु हुँदैन । ‘सिस्टम अपग्रेड’ लाई पारदर्शिता, समयरेखा वा वैकल्पिक समाधान बिना हप्तौँको अवरोधको बहाना बनाउन सकिँदैन । ब्याकअप योजना कहाँ छ ? दैनिक अपडेट कहाँ छन् ? कसरी एक प्रमुख वाणिज्य बैँक यति लामो समयसम्म कुनै देखिने प्रतिक्रिया वा जिम्मेवारी बिना अफलाइन जान सक्छ ?”

त्यस्तै देवेन्द्र खनालले चाडपर्वको समयमा बैँकको सेवा अवरुद्ध हुँदा असहजता भएको गुनासो गरेका छन् । उनले भनेका छन्, “कात्तिक ३ गतेदेखि एचआईएमबी मोबाइल एप र इन्टरनेट बैङ्किङ दुवै मर्मतका कारण अनुपलब्ध छन् । यो अवरोध अहिले तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सहित नौ दिनसम्म लम्बिएको छ । जुन धेरै ग्राहकका लागि सबैभन्दा महत्त्वपूर्ण समय पनि हो । एक प्रमुख बैङ्कले चाडपर्वको समयमा यस्ता अत्यावश्यक सेवा यति लामो समयसम्म निलम्बन गर्नु निकै निराशाजनक छ । आज ११ कात्तिकमा पनि एपले अझै काम गरिरहेको छैन र स्पष्ट समयरेखा बिनाको मेसेज मात्रै देखाइरहेको छ । ग्राहकको दृष्टिकोणबाट हेर्दा सेवाको यो लामो अवरोधले कमजोर योजनालाई प्रतिविम्बित गर्छ र यसले ठुलो असुविधा निम्त्याएको छ ।”

अर्का ग्राहक प्रज्ञानराज राजभण्डारीले सञ्चारमाध्यमको अभाव भएको बताएका छन् । उनले लेखेका छन्, “अरू सबैजस्तै, म मोबाइल बैङ्किङ एपको दैनिक प्रयोगकर्ता हुँ । तर, हिमालयन बैँक लिमिटेडले ३ कात्तिकमा आफ्नो प्रणाली माइग्रेसनका कारण अचानक मर्मतमा जाँदा म थोरै अचम्मित भएँ किनभने त्यो नेपालमा चाडपर्वको मुख्य समय थियो । डाउनटाइम १० कात्तिकसम्मका लागि तय गरिएको थियो । तर अहिले २४ कात्तिक पुगिसक्यो र म अझै पनि सिस्टममा एक्सेस गर्न समस्या भोगिरहेको छु । कुनै पनि उचित सञ्चार लाइन उपलब्ध गराइएको छैन । उनीहरूको वेबसाइटमा उपलब्ध सबै नम्बरमा डायल गर्दा त्यहाँ सधैँ ‘व्यस्त’ आउँछ । मैले उनीहरूको ग्राहक सेवा नम्बरमा सम्पर्क गर्ने प्रयास पनि गरेँ । तर त्यहाँबाट पनि कुनै प्रतिक्रिया आएन । मलाई लाग्छ के उनीहरूले आफ्ना ग्राहकहरूको साँच्चै ख्याल गर्छन् ?”

ग्राहक सरोज शाहीले बैँकको ‘अपग्रेड’ प्रक्रियालाई ‘प्रकोप’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, “हिमालयन बैँकले आफ्नो प्रणाली ‘अपग्रेड’ गरिरहेको घोषणा गरेको दुई हप्ताभन्दा बढी भइसक्यो । असहजता नै फिचर थियो भने उनीहरूले त्यो लक्ष्य भेट्टाए भन्नुपर्छ । कुनै स्पष्ट सञ्चार छैन । एटीएमले काम गर्न छोडे । र यो सबै पछि ‘नयाँ’ इन्टरफेस हेर्दा यस्तो लाग्छ कि यो सिधै २००८ बाट टाइम ट्राभल गरेर आएको हो । उनीहरूले लाइभ एपमा वाटरमार्क सहितको एआई सिर्जित आर्ट गर्वका साथ प्रयोग गरेका छन् ।”

बैँकको प्रणाली अवरोधबारे नेपाल राष्ट्र बैँकले पनि आफ्नो जानकारीमा राखेको जनाएको छ । राष्ट्र बैँकका प्रवक्ता गुरुप्रसाद पौडेलले यसबारेमा नियामक निकाय संवेदनशील रहेको बताए । उनले भने, “सामान्यतः बैँकले २४ घण्टाभन्दा बढी समयका लागि सिस्टम अपग्रेड गर्नुपर्‍यो र सेवाहरू बन्द गर्नुपर्ने भयो भने राष्ट्र बैँकलाई पूर्व जानकारी गराएर मात्र गर्नुपर्छ । बैँकले हामीलाई त्यो प्रक्रिया पुर्‍याएको थियो । उनीहरूले पुरै सिस्टम अपग्रेड गर्ने क्रममा जति दिनको समय लाग्छ भनेका थिए, त्यो भन्दा अलि बढी समय लाग्यो ।”

उनले अगाडि भने, “सबै सेवा होइनन्, तर आंशिक कामहरू सहज रूपमा भएको छैन भनेर उनीहरूले जानकारी दिएका थिए । हामी यसबारे जानकारी लिन्छौँ ।” 

यस विषयमा अन्य बैङ्किङ विज्ञले पनि बैँकको तयारीमा कमजोरी देखिएको टिप्पणी गरेका छन् । एक बैङ्किङ उद्योगका जानकारका अनुसार कोर बैङ्किङ सफ्टवेयरमा नै समस्या आएका कारण स्टेटमेन्ट दिने लगायतका सहायक सेवा समेत प्रभावित भएका छन् । उनले बैँकले प्रयोग गरेको नयाँ प्रणाली अर्को एक कम्पनीले हेरिरहेको र यो समस्या प्रणालीको पूर्वाधार वा इम्प्लिमेन्टेसन पक्षमा हुन सक्ने आशङ्का व्यक्त गरे ।

नाम नखुलाउने सर्तमा कुरा गरेका एक साइबर सुरक्षा विज्ञले यसमा कुनै पनि सुरक्षा वा ह्याकिङसम्बन्धी समस्या नदेखिएको बताए । उनले भने, “यो साइबर सेक्युरिटीको कुरा भएन । हामीलाई यस विषयमा खासै जानकारी पनि छैन । डार्क वेबतिर पनि बैँक ह्याक भएको भन्ने जानकारी छैन । यो सेक्युरिटीको समस्या चाहिँ होइन ।” 

बैँकले सुरुमै घोषणा गरेको ३ देखि १० कात्तिकको समय नै लामो भएको उनले बताए । त्यसमाथि २२ औँ दिन हुँदा बैँकमा गम्भीर त्रुटि निम्तिएको हुनसक्ने औँल्याए । यसका पछाडि आन्तरिक परीक्षणमा बैँकको कमजोरी भएको वा विभिन्न डिभाइस र पब्लिक सिस्टमबिच नयाँ प्रणालीको कम्प्याटिबिलिटी मिलाउन समस्या आएको हुन सक्ने उनको आशङ्का छ ।

विज्ञहरूका अनुसार कोर बैङ्किङ प्रणाली अपग्रेडका लागि सात दिनको समय धेरै लामो मानिन्छ । हिमालयन बैँकको २२ दिनभन्दा लामो समयसम्मको अवरोधले ग्राहकलाई बैङ्किङ कारोबारका लागि शाखामै जानुपर्ने बाध्यता खडा गरिदिएको छ । बैँकको डिजिटल सेवाप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठेको छ । हाल बैँकले आफ्ना अवरुद्ध सेवाहरू (मोबाइल बैंकिङ / अनलाइन बैंकिङ) यथासीघ्र चाँडो सुरक्षित रूपमा सञ्चालन गर्न विज्ञबाट प्रयास जारी भइरहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १९:५६