तस्करी गरी ल्याइएका करिब १ करोड मूल्य बराबरका मोबाइल पार्ट्ससहित २ जना नियन्त्रणमा
कात्तिक २६, २०८२ १२:८
काठमाडौँ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट करिब एक करोड बराबरका मोबाइल पार्ट्ससहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीको टोलीले मङ्गलबार सामान सहित संलग्न दुई जनालाई समातेको हो ।
नियन्त्रणमा लिइएकाहरूमा धनगढी-१९, खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भारत घर बताउने २५ वर्षीय आसुतोषकुमार गुप्ता छन् । सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाइकलमा राखी भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले त्यस क्रममा ९ लाख ८ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका चौधरीले भातरबाट अवैध रूपले ल्याएका मोबाइल पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एन्ड सप्लायर्समा दिने गरेको बताएका थिए । सो पश्चात् प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेको थियो ।
त्यस क्रममा बिल बिजक नभएका ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरका मोबाइल पार्ट्ससहित सप्लायर्सका सञ्चालक गुप्तालाई समेत नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ १२:८
