close

सिन्धुपाल्चोकका आदित्यले गाएको भन्दै RONB समेतले प्रशंसा गरेको गीत एआईबाट बनाइएको पुष्टि

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

कात्तिक २६, २०८२ १९:३

सिन्धुपाल्चोकका आदित्यले गाएको भन्दै RONB समेतले प्रशंसा गरेको गीत एआईबाट बनाइएको पुष्टि

काठमाडौँ । ‘पहिलो हाँसो पहिलो बोल सब याद छ…’ । यो गीत केही दिनयता सामाजिक सञ्जालमा अत्यधिक भाइरल बनेको छ । टिकटक, फेसबुक स्टोरी, रिल्सदेखि पसल र रेस्टुरेन्टसम्म यही गीत गुन्जिरहेको छ ।

कसैले यसलाई आफ्नो जीवनसँग मिल्ने बताएका छन् भने कतिपयले गीत सुन्दा आँसु झरेको प्रतिक्रिया दिएका छन् । टिकटकमा लोकप्रिय भएपछि धेरैले युट्युबमा गएर गीत खोज्न थालेका छन् । यो गीत अहिले युट्युबका विभिन्न च्यानलमा लाखौँ पटक हेरिएको छ ।

फरक-फरक म्युजिक भिडिओ प्रयोग गरेर पनि यो गीत अपलोड गरेको देखिन्छ । कतिपय भिडिओमा आर्यन सिग्देल र सदीक्षा पाण्डे फिचर्ड ‘यस्तो पो होस् माया’ गीतको भिडिओ राखिएको छ भने केहीले पल शाह र मिस पबी फिचर्ड ‘थाहै भएन’ गीतको भिडिओ प्रयोग गरेका छन् । 

यो गीत पहिलो पटक २ नोभेम्बरमा युट्युबमा सार्वजनिक भएको देखिन्छ । ‘आयान श्रेष्ठ’ र ‘आदित्य श्रेष्ठ’ नामका दुई युट्युब अकाउन्टमार्फत कोल्याब गरेर गीत सार्वजनिक गरिएको हो । यीमध्ये अकाउन्ट ‘आदित्य श्रेष्ठ’ भने सिन्धुपाल्चोक बाह्रबिसेका हुन् । गीत यस सामग्री तयार पार्दासम्म दुई लाख एक हजारभन्दा बढी पटक हेरिएको छ ।

टिकटकमा भाइरल बनेपछि ४ नोभेम्बरमा सोही दुई अकाउन्टको कोल्याबमार्फत यो गीत ​ पुनः अपलोड गरिएको छ । पुनः अपलोड गरिएको संस्करण १३ लाखभन्दा बढी पटक हेरिएको छ ।

‘दिया प्रोडक्सन’, ‘कमल सुनार’, ‘विश्वास नेपाल’ लगायतका युट्युब च्यानलहरूले पनि गीत अपलोड गरेका छन् । अधिकांश भिडिओहरूले लाखौँ भ्युज पाएका छन् । गीत पहिलो पटक सार्वजनिक गर्ने आदित्य श्रेष्ठले उक्त गीत आफ्नै लेखन र स्वरमा तयार भएको दाबी गरेका छन् । तर, सामाजिक सञ्जालमा धेरैले उक्त गीत एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट तयार पारिएको हुनसक्ने शंका व्यक्त गरेका छन् । यसको जवाफमा श्रेष्ठले आफूले नै लेखेको र गाएको गीत भएको दाबी गर्दै विभिन्न भिडिओमार्फत प्रतिक्रिया दिएका छन् । ​

 

६ नोभेम्बरमा एक भिडिओ सार्वजनिक गर्दै श्रेष्ठले उक्त गीतको लिरिक्स र गीत आफैँले लेखेको, तर लगानी गर्ने पैसा नभएका कारण ढिलो गरेर सार्वजनिक गरेको दाबी गरेका हुन् । भिडिओमा उनले भनेका छन्, “यो गीतको लिरिक्स म आफैँले लेखेको हो । गीत पहिल्यै रेकर्ड भएको थियो । मसँग लगानी गर्ने पैसा नभएर चाहिँ यो गीत केही ढिला गरेर रिलिज गरेको हो ।” हेर्नुहोस् भिडिओ । ​

 

उक्त गीत श्रेष्ठले नै बनाएको आशय दिनेगरी विभिन्न युट्युब च्यानलहरूले सामग्री तयार पारेका छन् । युट्युबर कमल सर्गम चौँलागाईले त उक्त गीत एआईबाट तयार नै पारिएको होइन भन्ने दाबी सहित बुधबार बिहान भिडिओ समेत सार्वजनिक गरेका छन् । "यो गीतको वास्तविकता नबुझेर कतिपयले यो गीत एआईबाट बनेको समेत भनेका छन् । हुन त एआईबाट तोडमोड गरेर अहिले टिकटकमा हाल्नाले एआईबाट बनेको जनमानसमा पुग्यो । तर यसको वास्तविकता भने कसैले खोजेनन् ।" उक्त गीतको सर्जक सिन्धुपाल्चोकको आदित्य श्रेष्ठ रहेको र आफूले उनीसँग कुराकानी गरेको पडकास्ट छिट्टै सार्वजनिक गर्ने उनले भिडिओमा बताएका छन् । हेर्नुहोस् भिडिओ ।  

यस्तै सोमबार दिउँसो ३ बजे फेसबुक पेज रुटिन अफ नेपाल बन्दले सिन्धुपाल्चोकका श्रेष्ठले गाएको गीत चर्चामा आएको भन्दै पोस्ट राखेको थियो । तर, कमेन्टमा फेसबुक प्रयोगकर्ताले उक्त गीत एआईबाट तयार पारेको भन्दै प्रतिक्रिया दिन थालेपछि पोस्ट डिलिट गर्‍यो ।

यो गीतमा सिम्रन परियार र केही कलाकारले ‘कभर सङ’को रूपमा गाएका समेत छन् ।  

गीतको लिरिक्स र एआई प्रयोगको प्रमाण 

सामाजिक सञ्जालमा उक्त गीत एआईबाट तयार पारिएको विभिन्न दाबीपछि टेकपानाले पनि उक्त गीतको वास्तविकता बुझ्ने प्रयास गर्‍यो । प्राय एआईबाट सिर्जित गीतहरूको भाषा अस्पष्ट हुन सक्छन् । त्यसैले सबैभन्दा पहिला गीतका लिरिक्सहरू निकालेर त्यसको विश्लेषण गर्‍यौँ । यसका लागि हामीले २ नोभेम्बरमा आदित्य श्रेष्ठले सार्वजनिक गरेको गीतलाई आधार मान्यौँ । यसरी उक्त गीतको लिरिक्स उतार्दा अर्थ नदिने खालका धेरै शब्दहरू प्रयोग भएको देखियो । ​

 

गीतको लिरिक्स 

पहिलो हाँसो पहिलो बोल सब याद छ 

हिजोका बाचा आजको शून्यता साथ छ 

(गीतको सबैभन्दा सुरुको अन्तरामा  “पहिलो हाँसो पहिलो बोल सब याद छ”  मा बोली हुनुपर्नेमा बिग्रिएर बोल भएको छ । )

 

जीवनको रङ नै हरायो अचानक 

तिमी बिना बाँच्नु पर्यो कति कठिन 

 

हावाको लहरमा सुन्छु तिम्रो आवाज

शून्य कोठामा प्रतिध्वनि जस्तो गाजा 

सम्झनाको बादल मनमा जम्छ 

रातको निद्रा फेरि कहाँ बस्छ

(“शून्यको कोठामा प्रतिध्वनि जस्तो गाजा”मा गाजाको अर्थ प्रष्ट छैन ।)

 

तिम्रो आँखा सम्झँदा हृदय बोल्छ

संसार उज्यालो भए पनि मन ढाक्छ

 

यो शून्यताले के कथा सुनाओस् 

तिम्रो बिनाको जिन्दगी कसरी चलाओस्

( “तिम्रो बिनाको जिन्दगी कसरी चलाओस्” मा तिमी हुनुपर्नेमा भाषा नमिलेको देखिन्छ ।)

 

माया अझै बग्छ समयको धारमा 

रोइ रोइ ढाक्छु सम्झनाको भरमा

भुल्न खोज्दा अझै झन झल्किन्छ मुटुमा

यो प्रेम अब बाँकी छ पीडाको रूपमा

 

रातो जुन पनि आज रुन्छ मसँग

उनी पनि बुझ्छ यो पीडाको सँग

कसरी भनौ सपना बिनाको जीवन

अझै तिम्रो नाममा बारिएको धड्कन

(“उनी पनि बुझ्छ यो पीडाको सँग”को भाषा मिलेको छैन ।)

 

संगीत सुनाउछु आफैँलाई सम्झाएर 

पछुतोको आँसु झर्छ दिल भरेर 

समय रोकिँदैन बाटा बदल्छ 

तर प्रेमको छाँया कहिले हराउँदैनौ 

 

हिँड्ने रहर हरायो गीत मन छ 

मनको कुरा शब्दमा कहिले पूर्ण छैन 

तिमी जान्थ्यौ भनेर थाहा भए पनि 

किन अझै आशा बाधिरहेछ यो मनि

(“हिँड्ने रहर हरायो गीत मन छ ” यो अन्तरा कुनै अर्थ दिने खालको छैन । गीतको राइम मिलाउन “पनि र मनि” राखिएको छ । तर मनिको भने मन जस्तो देखिन्छ ।)

 

कसरी भन म तिम्रो यादमा हराए

दिनरात सपना भित्र डुब्न थालेँ

संसार बिर्सिए पनि यो मनले छैन

त्यो पुरानो प्रेम अझै बुझ्न सकेन

 

माया अझै बग्छ समयको धारमा

रोइ रोइ ढाक्छु सम्झनाको भरमा

भुल्न खोज्दा अझै झन् झल्किन्छ मुटुमा

यो प्रेम अब बाँकी छ पीडाको रूपमा

 

तिम्रो नामले हावामा लेख्छु म तर बग्छ त्यो अक्षर रोएर पनि

जीवन बगिरहेको छ आफ्नै तरिकाले तर मुटु तिम्रै नामको गीतले ढाकेको छ

 

साँझको घाम जस्तै ओझेल पर्यो प्रेम

तर जली रहेको छ भित्रे त्यो नेम 

कसरी बिर्सूँ तिम्रो दृष्टिको मादकता 

त्यो त मेरो अस्तित्वकै भाग्य त

(“तर जली रहेको छ भित्रे त्यो नेम” यो अन्तराको अर्थ के हो बुझ्न सकिँदैन ।)

 

वर्षौ बिते तर घाउ उस्तै छ

मुस्कानको आवरण भित्र दु:ख लुकेको छ

समयले सिकायो बाच्न तिम्रो बिना पनि

तर मनले मानेन त्यो सत्य कहिल्यै सही 

(“तर जली रहेको छ भित्रे त्यो नेम” यहाँ नेमको अर्थ बुझ्न सकिँदैन ।”)

 

अब यो गीत अन्त्य होइन सम्झना हो 

अधुरो प्रेमको अन्तिम आत् कथा हो 

(यहाँ ‘आत् कथा’ को अर्थ बुझिँदैन ।)

 

म सायद भुल्ने छैन जीवन भर 

किनकि माया कहिले मर्दैन बस रुप बदल्छ

समय सँगै बग्दै रहन्छ ।

 

साँझ पखको उज्यालोमा तिम्रो झल्को आयो

मन भित्र हजारौँ कुरा फेरी जाग्यो

भुल्ने प्रयास गर्दा पनि भुलिन्न तिमि

यो माया कति गहिरो रहेछ बुझ्नै सकिनँ । 

 यसरी विश्लेषण गर्दा गीतमा बुझ्न नसक्ने र अनावश्यक किसिमको धेरै शब्दहरू प्रयोग भएकाले एआईबाट सिर्जित भएको हुनसक्ने तर्फ इङ्कित गर्‍यो । ४ नोभेम्बरमा आदित्य श्रेष्ठ र आयान श्रेष्ठको युट्युब च्यानलमा राखिएको गीतको बायोमा अहिले भने च्याटजीपीटीले लिरिक्स तयार पारिएको उल्लेख छ । त्यसैले उक्त गीत एआईबाट नै लेखिएको पुष्टि भयो ।

म्युजिक र भोकलमा पनि एआईको प्रयोग

 

हामीले यो गीतमा एआईको प्रयोग भएको आशंकापछि सङ्गीतकार अर्जुन पोखरेलसँग कुराकानी गर्‍यौँ । उनले उक्त गीतमा प्रयोग भएको अडियो एआईबाट नै तयार भएको कुरामा आफू स्पष्ट रहेको बताए ।

“सामान्य स्रोताहरूले एआईको प्रयोग गरेको नोटिस नगर्न सक्छन् । तर हामीलाई प्राविधिक पक्षका बारेमा थाहा हुन्छ । यो गीत सुनेपछि मैले धेरै टुलहरू र आफ्नै गीतहरूलाई एआईबाट मोडिफाई गरेर यो गीत एआईबाट नै बनेको हो भन्नेमा कन्फर्म भएँ ।” 

उनले ‘पहिलो हाँसो’ गीत भाइरल हुन थालेपछि आफूले पनि गायकको बारेमा खोजेको बताए । “पछिल्लो समयमा मैले काम गरिरहेका चलचित्रका गीतहरूका लागि केही नयाँ किसिमको भोइस टोन भएका गायकहरू खोजिरहेको छु । सुरुमा यो गीत सुन्ने बित्तिकै एआईले गाएको जस्तो लाग्यो । तर रियलमा नै कोही व्यक्ति रहेछन् कि भनेर खोजेँ । आदित्य श्रेष्ठ भन्ने व्यक्तिले गाएको भनिएको रहेछ । उहाँले गाएका पुराना गीतहरू हेरेपछि यो गीतमा भएको आवाज र उहाँले गाएको पुराना गीतमा भएको आवाज फरक भएको पाएँ ।”  

गायक पोखरेलले उक्त गीत भाइरल भएपछि आफ्ना चर्चित गीतका लिरिक्सहरू कम्पोज गराउने, कम्पोज आफैँले गरेर एआईलाई गाउन दिने लगायतका काम गरेको बताए । उनले थपे, “यो गीत आएपछि मैले एआईमार्फत धेरै टेक्निकल कुराहरू कन्फर्म गरेँ । चलेका गायक, गायिका र  नेपालमा प्राविधिक रूपमा यसको बारेमा जान्ने केही व्यक्तिहरूसँग पनि छलफल गरेँ ।” उनले आफूले कम्पोज गरेर दिँदा आफ्नै आवाजलाई मिलाएर एआईले गीत बनाउन सक्ने फिचरहरूबारे थाहा पाएको सुनाए । 

पोखरेलले उक्त गीत एआईबाट नै बनाएको बताएपछि हामीले यो गीत एआई गीत बनाउने प्लेटफर्ममा खोज्ने प्रयास गर्‍यौँ । त्यसका लागि सहजै गीत बनाउन र नि:शुल्क प्रयोग गर्न  सकिने एआई टुलहरू एक्स्प्लोर गर्न थाल्यौँ । यसरी खोज्ने क्रममा एआईबाट गीतहरू सहजै बनाउन सकिने एप ‘सुनो एआई’ मा यो गीतको लिरिक्सहरू फेला पार्‍यौँ । तर सुनो एआईमा ‘PluralisticSWing2129’ प्रयोगकर्ताको नामबाट ३ नोभेम्बर बिहान ७:३२ मा उक्त गीत सार्वजनिक भएको छ । उक्त गीत त्यहीँबाट बनाएको हुनसक्ने शङ्का गर्‍यौँ । 

तर ‘पहिलो हासो पहिलो बोल’ गीत २ नोभेम्बर साँझ ६:०१ मा पहिलोपटक सार्वजनिक भएको देखिएको छ । गीत सार्वजनिक भएको केही घण्टापछि उक्त गीत सुनो एआईमा राखिएको गीतको लिरिक्स उस्तै भएपनि मेलोडी, एरेन्जमेन्ट, बिट भएकाले आदित्य श्रेष्ठको नै सो युजर आईडी हो भनेर पुष्टि गर्न सकिएन । उक्त गीत सुन्न यहाँ क्लिक गर्नुहोस् । 
 


सुनो एआईबाट प्रयोगकर्ताले केही प्रम्प्ट दिएर केही मिनेटमा नै गीत तयार पार्न सक्छन् । यो एआईमा कस्तो किसिमको आवाज बनाउने र कस्तो जनराको गीत बनाउने भनेर छान्न सकिन्छ । प्रम्प्टबाट तयार पारिएको लिरिक्सलाई म्यानुअल्ली पनि इडिट गर्न सकिन्छ । त्यसपछि सुनो एआईले फरक फरक कम्पोजिसन, आवाजमा कयौँ गीतहरू तयार पारिदिन्छ ।

गीतको थम्नेलदेखि सबै कुरा सोही एआईले गर्न सक्छ । यस्तै आफ्नै आवाज राखेर त्यसलाई एआईले मोडिफाई गरेर सङ्गीत राखेर पूर्ण गीत बनाउने सुविधा पनि सुनो एआई भर्सन ४.५ मा उपलब्ध छ । यो एआईबाट तयार पारिएको गीत डाउनलोड गरेर विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । यस्तै सोही प्लेटफर्ममा सार्वजनिक पनि गर्न सकिन्छ । सङ्गीतकार पोखरेलले ‘पहिलो हाँसो पहिलो बोल’ गीतलाई पनि त्यस्तै गरेर श्रेष्ठले भोकल दिएर एआईमार्फत मोडिफाई गरेर गीत तयार पारिएको हुनसक्ने बताए ।

एआई म्युजिक डिटेक्ट टुलले आंशिक एआईको प्रयोग देखायो

हामीले उक्त गीत एआईबाट तयार भएको हो वा होइन पत्ता लगाउन ‘सब्मिट हब’ टुलमा राखेर हेर्‍यौँ । यो टुलले गीतको ध्वनिका अधिकांश भाग एआईबाट प्रयोग भएको र आवास भने मानिसको नै रहेको हुनसक्ने विश्लेषण गर्‍यो ।  

 

उक्त टुलले ध्वनि र आवाजलाई छुट्टा छुट्टै विश्लेषण गरेको छ । जहाँ ध्वनीमा ५७% एआईको प्रयोग र केही प्रतिशत मानवले नै तयार पारेको ध्वनी हुनसक्ने विश्लेषण गरेको छ । ७६% आवाजमा पनि मानिसको आवाज प्रयोग भएको देखिएको छ । तर उक्त आवाज पनि पूर्ण रूपमा मानवको मात्र भएको देखिएको छैन । 

हामीले यो टुलले दिने नतिजा सही छ कि छैन भनेर क्रस भेरिफाई पनि गर्‍यौँ । यसका लागि सबैभन्दा पहिला सुनो एआईमा प्रम्प्ट दिएर गीत तयार पार्‍यौँ । हामीले परीक्षणका लागि तयार पारेको गीत सुन्न यहाँ क्लिक गर्नुहोस् । उक्त गीतलाई सब्मिट हबले पूर्ण रूपमा एआईबाट बनेको देखायो ।   

त्यसपछि हामीले सुनो एआईमा आफ्नो आवाज दिएर त्यही गीतको कभर गीत बनायौँ । सो गीतलाई पनि सब्मिट हबमा राख्दा केही प्रतिशत मानवीय संलग्नता समेत देखायो । भोकल राखेर तयार पारेको गीत सुन्न यहाँ क्लिक गर्नुहोस् ।

हामीले चार वर्षअघि सार्वजनिक ‘फुलबुट्टे सारी’ गीतको फिमेल भर्सनको गीत राखेर हेर्‍यौँ । यो गीत भने उक्त एपले पूर्ण रूपमा मानव निर्मित भएको डिटेक्ट गर्‍यो । 

 

  


युट्युब च्यानलको फोटोदेखि गीत गाएको भिडिओ बनाउन एआईको प्रयोग

‘पहिलो माया पहिलो बोल’ का गायक दाबी गरेका आदित्य श्रेष्ठको फेसबुक अकाउन्टमा उनले २ नोभेम्बरदेखि नै सो गीत गाएको भिडिओहरू राखेका छन् । 

तर ती गीतसँग भिडिओमा लिप्सिङ मिलिरहेको छैन । श्रेष्ठले राखेको भिडिओमा अन्य प्रयोगकर्ताहरूले एआईबाट तयार पारिएको स्पष्ट देखिएको भन्दै वास्तविक राख्न भनेका छन् । 

६ नोभेम्बरमा श्रेष्ठले राखेको भिडिओमा फेसबुक प्रयोगकर्ता ‘Pariyar Man Raj’ ले भनेका छन्, “साथी जो रियल छ नि भिडियो त्यही भिडियो सोसल मिडियामा हाल्ने काम गर्नु के । किन भनेपछि आजभोलि होइन खुट्टा तान्ने मान्छे धेरै छन् साथी । मैले तिमीलाई नराम्रो भन्न खोजेको होइन तिम्रो चेहरानी बराबर क्लियर देखिन्न के त्यही भएर भनेको ।” उक्त भिडिओमा लिप्सिङ नमिलेको स्पष्ट देखिएको छ । 


युट्युबमा आदित्य श्रेष्ठले अपलोड गरेको तस्बिर स्टुडियोभित्र खिचिएको जस्तो देखिए पनि, त्यो एआईबाट तयार पारिएको पुष्टि भएको छ । एआई इमेज पत्ता लगाउने टुल ‘Was It AI’ बाट जाँच्दा उक्त तस्बिर एआई-जेनेरेटेड (AI-generated) भएको देखिएको छ ।

 


एलिना चौहान र आदित्य श्रेष्ठको दाबी गर्दै ‘के गर्दै होलाउ नि’ बोलको गीत समेत आदित्य श्रेष्ठको युट्युब च्यानलमा राखिएको छ । तर उक्त गीतमा गायिका एलिना चौहानको आवाज भने छैन । यस्तै आदित्य श्रेष्ठ र आयान श्रेष्ठ नामको दुबै युट्युब च्यानलमा प्राय अरू गायकले गाएका गीतहरू राखिएका छन् । 

अन्ततः श्रेष्ठले स्वीकारे गीत एआईबाट तयार पारिएको वास्तविकता 

हाम्रो विश्लेषणबाट उक्त गीत एआईबाट तयार पारिएको धेरै आधार भेटिएपछि हामीले आदित्य श्रेष्ठसँग सम्पर्कको प्रयास गर्‍यौँ । तर सुरुमा उनी कुराकानीका लागि तयार भएनन् । ‘पहिलो माया पहिलो बोल’ गीत तयार पार्दा एआईको प्रयोग देखिएको र सो विषयमा समाचार तयार पारिरहेको जानकारी गराएर सम्पर्कमा आउन आग्रह गरेपछि मात्र उनी हामीसँग कुराकानीका लागि तयार भए । उनले उक्त गीतको लेखन, कम्पोजिसनदेखि सङ्गीतसम्म एआई नै प्रयोग भएको स्वीकार गरे । 

उनले टिकटकतिर भाइरल भएको टोन भने आफूले नभई आफ्नो भाइले एआईबाट मोडिफाई गरेर राखेको बताए । उनले थपे, “मैले त्यही म्युजिकमा भोइस दिएको हो । भाइले टिकटकतिर भाइरल भइरहेको टोनलाई एआईबाट अलि चेन्ज गरेको रहेको छ ।” आफूलाई भने एआईको बारेमा खासै जानकारी नरहेको उनले सुनाए । 

विगत चार वर्षदेखि आफू गायनमा सक्रिय रहेको श्रेष्ठले बताए ।  उनको आवाजमा ‘कस्तो माया गरेँ मैले’ लगायतका गीतहरू सार्वजनिक छन् । एआईबाट तयार पारिएको गीतमा आफ्नो आवाज भर्दा समस्यामा परेको बताउँदै उनले भने,  “म नराम्रो भएँ । मन नै कस्तो कड्किरहेको छ । फरक म्युजिकमा गाएको भए केही हुन्थ्यो होला, त्यही म्युजिकमा गाएँ नि त । त्यही भएर मलाई समस्यामा पार्‍यो ।”

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ २०:४०