अब नेपालमा पनि १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र टिकटक चलाउन पाउने
कात्तिक २७, २०८२ ११:४८
काठमाडौँ । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ । नेपालमा ‘फ्यामिली पेयरिङ फिचर’ सुरु गरेपछि टिकटकले परिवारको सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचरहरू उपलब्ध गराएको हो ।
फ्यामिली पेयरिङ मार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रिन-टाइम म्यानेजमेन्ट टुल प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्नेछन् । साथै दैनिक स्क्रिन-टाइम लिमिट राख्न र शेड्युल ब्रेक राख्न पनि मिल्नेछ ।
डाइरेक्ट मेसेजिङ, भिडिओमा कमेन्ट, अकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडिओ डाउनलोड गर्न पाउने जस्ता सेटिङ नियन्त्रण गर्न पनि यसबाट सकिनेछ । सजिलो सेटअपदेखि डिजिटल सुरक्षासम्म, प्रयोगकर्ता र समुदायको सुरक्षा सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता टिकटकले दोहोर्याएको छ।
१६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्टमा डाइरेक्ट मेसेजिङ स्वत: बन्द हुन्छ । अनि राति पुश नोटिफिकेसन पनि म्युट हुन्छ । टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फिडको व्यवस्था गर्छ ।
१८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रिन-टाइम लिमिट पनि डिफल्ट रूपमा सेट हुन्छ । यस प्रणालीले किशोर-किशोरीका लागि अनुपयुक्त मानिएका कन्टेन्टहरू छानेर हटाउँछ र प्रयोगकर्ता सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधि प्रयोग गर्छ ।
यससँगै अब अभिभावकहरूले आफ्ना बच्चाको प्राइभेसी सेटिङ हेर्न सक्नेछन् र बच्चाले पब्लिक भिडिओ पोस्ट गरेमा नोटिफिकेसन पनि पाउनेछन् । यी टुलहरूले अनलाइन व्यवहार, स्वस्थ स्क्रिन-टाइम र उनीहरूले हेरेको कन्टेन्टको उपयुक्तताबारे परिवारबिच संवाद बढाउन मद्दत गर्नेछ ।
यी टुलहरू केवल प्यारेन्टल कन्ट्रोलका लागि मात्र नभई किशोर-किशोरीमा अनुशासित र जिम्मेवार डिजिटल बानीको विकास गर्न परिवारसँग संवाद सुरु गर्ने माध्यम समेत भएको टिकटकले स्पष्ट पारेको छ ।
प्रयोगकर्ताको वेलबिङमा निरन्तर साथ दिने प्रतिबद्धताअन्तर्गत टिकटकले यस वर्षको सुरुवातमा गाइडेड मेडिटेसन नामक नयाँ इन-ऐप सुविधा सार्वजनिक गरेको थियो । जसको उद्देश्य सबै उमेरका मानिसहरूलाई माइन्डफुलनेस अभ्यासहरू सजिलै उपलब्ध गराउनु हो ।
यो सुविधा हाल कायम रहेको ‘स्लिप आवर्स’ सेटिङसँग जोडिएको छ र रातिको समयमा प्रयोगकर्तालाई शान्त र मार्ग निर्देशित अभ्यासमार्फत विश्राम गर्न प्रोत्साहित गर्छ । जसले राम्रो निद्रा र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ ।
स्वस्थ स्क्रिन-टाइम बानीको विकास गर्न १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा यो सुविधा स्वतः सक्रिय हुन्छ र राति १० बजेपछि फर यु फीडको ठाउँमा मेडिटेसनको सुझाव देखिन्छ । वयस्कहरूले यो विकल्प स्क्रिन टाइम सेटिङमार्फत आफैँ सक्रिय गर्न सक्छन् ।
यी टुलहरू मार्फत टिकटकले किशोर र वयस्क सबैलाई व्यक्तिगत दिनचर्या बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ । जसले मनोरञ्जनलाई अधिकतम बनाउँछ र लामो समय स्क्रिन प्रयोगका कारण हुन सक्ने नकारात्मक असरलाई कम गर्दछ ।
टिकटकका यी नयाँ सुधारहरू पहिले नै रहेको सुरक्षा संरचनामा थपिएका हुन् । जसमा किशोर- किशोरीहरूको सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षा उपायहरू छन् । जसमा उमेरअनुसारको कन्टेन्ट फिल्टर, स्क्रिन-टाइम लिमिट र सीमित मेसेजिङ लगायत छन् । टिकटकले डिजिटल सेफ्टी पार्टनरशिप फर फ्यामिलीजमार्फत परिवारलाई घरमा डिजिटल बानी सम्बन्धी मार्गदर्शन र स्रोत उपलब्ध गराइरहेको छ ।
फ्यामिली पेयरिङ जस्ता भरोसा र र उमेरअनुसार सुरक्षा नियन्त्रणको सुविधा मार्फत टिकटकले परिवारलाई सुरक्षित वातावरणमा नयाँ पुस्तालाई अन्वेषण, सिर्जना तथा अर्थपूर्ण रूपमा जोडिन सहयोग गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ ११:४८
