निर्वाचनको सिस्टममा जोडियो राष्ट्रिय परिचय पत्र , अब मतदाता नामावली दर्ता अनलाइनबाटै
कात्तिक २७, २०८२ १२:४७
काठमाडौँ । आजैदेखि राष्ट्रिय परिचय पत्र नम्बर भएका नागरिकले निर्वाचन कार्यालय नगई अनलाइनबाट आफैँ मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केही बेर अघि मात्रै राष्ट्रिय परिचयपत्र नम्बर हालेर मतदाता नामावली दर्ता गर्ने प्रक्रियाको प्राविधिक परीक्षण सफल भएको जानकारी दिए ।
“केही बेर भयो हामीले मतदाता नामावलीको प्रि-इनरोलमेन्टका क्रममा राष्ट्रिय परिचयपत्र नम्बर हालेर नाम दर्ता गर्ने प्रक्रियाको प्राविधिक परीक्षण सकाएका छौँ । त्यो सफल पनि भएको छ । आजैबाट यो लागु गर्छौँ,” भट्टराईले टेकपानासँग भने ।
योसँगै राष्ट्रिय परिचय पत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ । सोमबारदेखि नै यो काम गर्न थालिएको थियो । बिहीबार मध्यान्न प्राविधिक परीक्षण सफल भएको हो ।
निर्वाचन आयोगले प्रि-इनरोलमेन्ट आवेदन अनलाइनबाटै लिने व्यवस्था यसअघिदेखि नै मिलाएको छ । नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर अपोइन्टमेन्ट लिएर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । अब भने राष्ट्रिय परिचय पत्र नम्बर भएका नागरिकले बायोमेट्रिक र आफ्नो फोटो दिन निर्वाचन कार्यालय जानुपर्ने छैन ।
प्रवक्ता भट्टराईकाअनुसार अब प्रि-इनरोलमेन्टमा राष्ट्रिय परिचयपत्र नम्बर हालेपछि सम्बन्धित नागरिक बायोमेट्रिक दिन निर्वाचन कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मतदाना नामावली सङ्कलनमा सहजतासहितका विषयलाई समेटेर तीन बुँदे निर्देशनसहितको पत्र निर्वाचन आयोगलाई पठाएको थियो ।
जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम थालिएको थियो । जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको थियो ।
प्रधानमन्त्रीकै सहजीकरणमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सङ्कलित जैविक तथ्याङ्क (बायोमेट्रिक) निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार भएको थियो । सोही सक्रियता पछि अब राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैँ निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सक्ने छन् ।
निर्वाचन आयोगकाअनुसार हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्याङ्कमा अभिलिखित रहेका छन् । पछिल्लो निर्वाचन घोषणापछि मात्र दुई लाख नौ हजार ५५२ मतदाता थपिएको जानकारी निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्री कार्कीलाई अवगत गराएका छन् ।
मतदाता नामावलीमा नाम दर्ताका लागि निवेदन बुझाउनेको सङ्ख्या झन् झन् बढ्दै गएकाले आयोगको वेबसाइटमा अत्यधिक चाप परिरहेकाले केही समस्या कायमै रहेको प्रवक्ता भट्टराईले बताए । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकिएको छ । यद्यपि, मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढे पनि समय थप गर्ने बारे आयोगले कुनै योजना नबनाएको बुझिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १२:४७
