काठमाडौँ । आजको डिजिटल युगमा केवल एक पासवर्डको भरमा अनलाइन अकाउन्ट सुरक्षित राख्नु लगभग असम्भव भइसकेको छ । साइबर खतराहरू बढ्दो क्रममा छन् र कमजोर वा चोरी भएका पासवर्डले डेटा चोरीका घटनाहरू निम्त्याउँछन् । ८१ प्रतिशत डेटा चोरी यही कारणले हुने बताइन्छ ।
यस्तो अवस्थामा अनधिकृत पहुँच रोक्नका लागि टु-फ्याक्टर अथेन्टिकेसन-टुएफए (2FA) र मल्टी-फ्याक्टर अथेन्टिकेसन-एमएफए (MFA) सुरक्षाको अपरिहार्य आधार बनेका छन् । यी सुरक्षा विधिले तपाईँको युजरनेम र पासवर्डभन्दा पर गएर सुरक्षालाई मजबुत बनाउँछन् । मल्टी-फ्याक्टर अथेन्टिकेसन अपनाउँदा तपाईँको अकाउन्ट ह्याक हुने सम्भावना ९९ प्रतिशतले कम हुन्छ ।
टुएफए र एमएफएबिचको भिन्नता
टु-फ्याक्टर अथेन्टिकेसन र मल्टी-फ्याक्टर अथेन्टिकेसन दुवैको उद्देश्य अनधिकृत पहुँच रोक्नु हो । तर तिनीहरूबिच आवश्यक अथेन्टिकेसन फ्याक्टरको सङ्ख्या फरक हुन्छ ।
अथेन्टिकेसन फ्याक्टरहरू मुख्यतः तीन प्रकारका हुन्छन् । जुन व्यक्तिको पहिचान पुष्टि गर्न प्रयोग गरिन्छ । तपाईँलाई थाहा भएको कुरा (जस्तै: पासवर्ड वा पिन), तपाईँसँग भएको कुरा (जस्तै: मोबाइल फोन, हार्डवेयर कि (Hardware key) वा सेक्युरिटी टोकन), तपाईँ जो हुनुहुन्छ त्यो (जस्तै: फिंगरप्रिन्ट (औँठाछाप), अनुहार वा रेटिना स्क्यान (बायोमेट्रिक डेटा) फ्याक्टरको रूपमा रहेका हुन्छन् । कहिले काहिँ प्रयोगकर्ताको भौगोलिक स्थान अर्थात् लोकेसनलाई चौथो फ्याक्टरको रूपमा पनि हेरिन्छ ।
|
विशेषता |
टु-फ्याक्टर अथेन्टिकेसन (2FA) |
मल्टी-फ्याक्टर अथेन्टिकेसन (MFA) |
|
आवश्यक फ्याक्टर |
यसमा ठ्याक्कै दुई फ्याक्टर हुन्छन् । |
दुई वा सोभन्दा बढी फ्याक्टर चाहिन्छ । |
|
सुरक्षाको स्तर |
यो सुरक्षाको आधारभूत तर प्रभावकारी तह हो । |
यसले धेरै बलियो सुरक्षा ढाँचा प्रदान गर्दछ । किनभने यसले टु-फ्याक्टर अथेन्टिकेसनमा प्रयोग हुने दुईभन्दा बढी तहहरू समावेश गर्न सक्छ । |
|
कस्टमाइज |
सामान्यतया कार्यान्वयनको सोझो प्रक्रिया, कम कस्टमाइज गर्न मिल्ने । |
जोखिम र नियमका आधारमा बायोमेट्रिक स्क्यान वा हार्डवेयर टोकन जस्ता अतिरिक्त तहहरू थपेर कस्टमाइज गर्न मिल्छ । |
सबैभन्दा बलियो विधिः हार्डवेयर सेक्युरिटी कि र पासकी
सुरक्षा विशेषज्ञहरू मल्टी-फ्याक्टर अथेन्टिकेसनको सबैभन्दा बलियो रूपमा फिशिङ-प्रतिरोधी विधिलाई मान्छन् ।
हार्डवेयर सेक्युरिटी कि एक पोर्टेबल भौतिक यन्त्र हो (जस्तै YubiKey) । यसलाई यूएसबी पोर्टमा जोडिन्छ वा एनएफसी मार्फत ट्याप गरिन्छ ।
यसले एसिमेट्रिक कि क्रिप्टोग्राफी (asymmetric key cryptography) प्रयोग गर्दछ । जसले गर्दा ह्याकरहरूले तपाईँको पासवर्ड वा कोड चोरे पनि यसलाई फिशिङ गर्न सक्दैनन् । गुगल, फेसबुक, माइक्रोसफ्ट र ड्रपबक्स जस्ता सेवाहरूमा यसलाई राख्न सकिन्छ । गुगलले आफ्ना ५० हजार कर्मचारीका लागि पनि युबीकि प्रयोग गरेको छ ।
यसका लागि यदि तपाईँले एउटा कि हराउनुभयो भने अकाउन्टको पहुँच गुमाउनबाट जोगिन सधैँ दुई वटा कि सेट अप गर्नुपर्ने हुन्छ ।
अर्को बलियो विधि भनेको पासकिज (Passkeys) हो । यसले पासवर्डहरूलाई हटाएर क्रिप्टोग्राफिक किहरू प्रयोग गर्दछ । जुन डिभाइससँग जोडिएका हुन्छन् । धेरै कम्पनीहरूले यसलाई सपोर्ट गर्न थालेका छन् । जसले भविष्यमा पासवर्ड र मल्टी-फ्याक्टर अथेन्टिकेसन कोड दुवैको आवश्यकतालाई कम गर्ने अपेक्षा गरिएको छ ।
सबैभन्दा लोकप्रिय विधि: अथेन्टिकेसन एप
गुगल अथेन्टिकेटर, अथी, माइक्रोसफ्ट अथेन्टिकेटर जस्ता अथेन्टिकेटर एपहरू अनलाइन सुरक्षाका लागि सबैभन्दा भरपर्दो र लोकप्रिय विकल्प हुन् ।
यी एपहरूले समयमा आधारित वन-टाइम पासवर्ड (टीओटीपी) कोडहरू सिर्जन गर्छन् । जुन सामान्यतया हरेक ३० सेकेन्डमा परिवर्तन हुन्छन् । यस्तो कोड तपाईँको डिभाइसमा लोकल रूपमा उत्पन्न हुन्छ र यसलाई इन्टरनेटको आवश्यकता पनि पर्दैन ।
तपाईँले आफ्नो अकाउन्ट सेटअप गर्दा वेबसाइटले दिएको क्यूआर कोडलाई एपले स्क्यान गरेर यसलाई सजिलै सक्रिय गर्न सक्नु हुन्छ । कोडको छोटो म्याद (३० सेकेन्ड) र इन्टरनेट बिना काम गर्ने क्षमताका कारण यो ह्याकरहरूले चोरी गर्न गाह्रो हुन्छ।
अथी, गुगल अथेन्टिकेटर र टु स्टेबल (आईओएसका लागि) जस्ता एपहरूले क्लाउड सिंक (Cloud Sync) सुविधा पनि प्रदान गर्छन् । जसले तपाईँको फोन हराएमा कोडहरू रिकभर गर्न मद्दत गर्छ ।
सुविधाजनक विधि: पुश नोटिफिकेसन
डुओ मोबाइल र माइक्रोसफ्ट, अथेन्टिकेटर तथा फेसबुक जस्ता केही एपहरूले लगइन अनुरोधलाई तपाईँको फोनमा पुश नोटिफिकेसनको रूपमा पठाउँछन् । तपाईँले कोड टाइप गर्नुको सट्टा Approve वा Deny मा ट्याप गरेर लगइन पुष्टि गर्न सक्नुहुन्छ । यो धेरै सुविधाजनक छ ।
सबैभन्दा कमजोर विधि: एसएमएस र ईमेल कोड
एसएमएस वा टेक्स्ट मेसेजमा पठाइने कोडहरू टु-फ्याक्टर अथेन्टिकेसनको सबैभन्दा धेरै मात्रामा प्रयोग हुने विधि हो । तर यो सबैभन्दा कम सुरक्षित मानिन्छ । किन भने ह्याकरहरूले सोसल इन्जिनियरिङ प्रयोग गरेरमोबाइल सेवा प्रदायकलाई झुक्याएर तपाईँको फोन नम्बर आफ्नो डिभाइसमा ट्रान्सफर गर्न सक्छन् । त्यसपछि टु-फ्याक्टर अथेन्टिकेटर कोड सिधा उनीहरूकहाँ पुग्छ ।
यस बाहेक एसएमएस मेसेजहरू इन्क्रिप्टेड हुँदैनन् र नेटवर्क प्रोटोकल (SS7) कमजोर हुन सक्छन् । जसले गर्दा ह्याकरहरूले इन्टरसेप्सन गरेर मेसेज पढ्न वा बदल्न सक्छन् ।
यदि कुनै सेवाले अथेन्टिकेटर एपको विकल्प दिँदैन भने मात्र एसएमएस प्रयोग गर्नुहोस्; अन्यथा बलियो विकल्प छान्नुहोस् ।
सुरक्षाका मुख्य चुनौती र बच्ने उपाय
टु-फ्याक्टर अथेन्टिकेसन र मल्टी-फ्याक्टर अथेन्टिकेसनले सुरक्षा बढाए पनि तिनीहरू जोखिममुक्त छैनन् । ह्याकरहरूले प्रायः मानवीय कमजोरी वा कार्यान्वयनको त्रुटिमाथि हमला गर्छन् ।
ह्याकरहरूले तपाईँको पासवर्ड पत्ता लगाएपछि उनीहरूले तपाईँलाई पटक पटक लगइन अनुरोधहरू पठाउँछन् । जसलाई पुश-बम्बिङ पनि भनिन्छ । प्रयोगकर्ता हैरान भएर वा गल्तीले Approve बटन थिच्न सक्छ, जसले ह्याकरलाई पहुँच दिन्छ ।
यसरी अनपेक्षित रूपमा वा अत्यधिक सङ्ख्यामा आएका कुनै पनि नोटिफिकेसनसँग अन्तरक्रिया नगर्नु नै राम्रो हुन्छ ।
त्यस्तै ह्याकरहरूले नक्कली वेबसाइट वा ईमेल मार्फत तपाईँलाई झुक्याएर पासवर्ड र लगइन कोड दुवै तत्कालकै समयमा चोरी गर्न सक्छन् । जसलाई एमएफए फटिग आक्रमण (MFA Fatigue Attack) भनिन्छ ।
यस्तो अवस्थामा सधैँ यूआरएल एड्रेस ध्यान दिएर जाँच गर्नुहोस् । यदि तपाईँको अकाउन्टमा टुएफए छ भने पनि फिशिङका सामान्य लक्षणहरूप्रति सचेत रहनुहोस् ।
यस बाहेक लगइन गरेपछि वेबसाइटले तपाईँको कम्प्युटरमा एउटा सेसन कुकी सेभ गर्छ । जसले तपाईँलाई लग इन गरिरहन अनुमति दिन्छ । यदि ह्याकरले यो कुकी चोरी गरेमा टुएफए बाइपास गरेर सिधै तपाईँको अकाउन्टमा पहुँच गर्न सक्छ । यस्तो ह्याकिङलाई सेसन हाइज्याकिङ (Session Hijacking) भन्ने गरिन्छ ।
यस खाले जोखिमबाट बच्न संवेदनशील जानकारी स्टोर गर्ने वेबसाइटबाट काम सकिएपछि सधैँ म्यानुअल रूपमा लग आउट गर्नुहोस् ।
बायोमेट्रिक (जस्तै फिंगरप्रिन्ट वा अनुहार) पहिचान प्रमाणीकरण गर्ने स्थायी विधि हो । यद्यपि, प्रणालीहरूले तपाईँको डिजिटल टेम्प्लेट तुलना गर्छन् । यस्तोमा हाई-रिजोलुसन फोटो वा थ्रिडी मास्क प्रयोग गरेर सेन्सरहरूलाई झुक्याउन सकिन्छ । त्यसैले बायोमेट्रिक्स प्रयोग गर्दा पनि तपाईँको डिभाइसमा बलियो पासवर्ड सेट गर्नु जरुरी हुन्छ ।
अकाउन्ट गुम्नबाट जोगिने उपाय
टुएफएले सुरक्षा बढाए पनि यदि तपाईँले आफ्नो फोन वा अथेन्टिकेटर एपको पहुँच गुमाउनुभयो भने तपाईँ आफ्नो अकाउन्टबाट स्थायी रूपमा बाहिरिन सक्नुहुन्छ ।
धेरै सेवाहरूले टुएफए सेटअप गर्दा एक पटक प्रयोग गर्न मिल्ने रिकभरी कोडहरूको सूची दिन्छन् । यी कोडहरूलाई प्रिन्ट गरेर सुरक्षित स्थानमा (जस्तै फायरप्रूफ सेफ) राख्नुहोस् वा इन्क्रिप्टेड स्प्रेडशिटमा सेभ गर्नुहोस् । यो तपाईँको अन्तिम विकल्प हो ।
वर्षमा एक वा दुई पटक आफ्नो रिकभरी रणनीति ठिकसँग काम गर्छ कि गर्दैन भनेर ड्राई रन (dry run) गर्नुहोस् । सबै अकाउन्टका लागि एउटै टुएफए विधि (जस्तै एसएमएस) मा निर्भर नहुनुहोस् । यदि एउटा विधिमा समस्या आयो भने, अर्कोले काम गर्न सक्छ ।
त्यसैले टुएफए र एमएफएलाई केवल एक पटक सेट गर्ने र बिर्सने सुरक्षा उपायको रूपमा होइन किर निरन्तर डिजिटल स्वास्थ्य दिनचर्या (digital hygiene routine) को रूपमा लिनु आवश्यक छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १४:२६
