नेपाल आउने पोल्यान्डका १३ पर्यटकलाई मेसेन्जरमार्फत ठगेको आरोपमा एक व्यक्ति पक्राउ
कात्तिक २८, २०८२ १७:१८
काठमाडौँ । विदेशी पर्यटकलाई मेसेन्जरबाट ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतका ४० वर्षीय विशु सिंजाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा साइबर ब्युरोले आरोपी सिंजालीलाई २६ कात्तिकमा नियन्त्रणमा लिएको हो ।
ब्युरोको प्रारम्भिक अनुसन्धान अनुसार सिंजाली सबैभन्दा पहिले मेसेन्जरबाट पोल्यान्डका १३ राइडर्स पर्यटकसँग जोडिएका थिए । त्यस क्रममा उनले नेपालमा आफ्नो ‘अल्टिट्युड राइडर्स प्रालि’ रहेको र उक्त कम्पनीले पर्यटकलाई मोटरसाइकल राइडको व्यवस्थापनको सेवा दिने बताएका थिए ।
त्यसपछि उनले पर्यटकलाई राइड, खाना, बस्ने र अन्य सपोर्टको व्यवस्था गरिदिने भन्दै ३० प्रतिशत रकम अग्रिम भुक्तानीका रूपमा लिएका थिए । पर्यटक नेपाल आएपछि सिंजाली सम्पर्कविहीन भए ।
यसरी ठगिएपछि पीडित पर्यटकले ब्युरोमा निवेदन दिएका थिए । त्यही निवेदनलाई आधार मान्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सिंजालीले अन्य पर्यटकलाई पनि अनलाइनबाट ठगी गर्ने गरेको खुलेको छ ।
“अरुलाई पनि ठगी गर्ने गरेको देखिएको छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “यो पटकका पर्यटकले उजुरी नै दिएपछि घटना सतहमा आयो ।”
घटनाका आरोपी सिंजाली अल्टिट्युड राइडर्स प्रालिका सञ्चालक समेत हुन् । उनीमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद अनुमति लिई ब्युरोले अनुसन्धान गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १७:२४
