काठमाडौँ । सामसङ कम्पनी एउटा विवादास्पद प्रि-इन्स्टल गरिएको एप्लिकेसनका कारण विवादको केन्द्रमा परेको छ । यो विवाद एपक्लाउड (AppCloud) नामक एक सेवाको वरिपरि घुमेको छ, जुन सामसङका केही किफायती डिभाइसमा पहिले नै इन्स्टल भएर आउँछ ।
एपक्लाउडलाई प्रयोगकर्ताहरूका लागि लोकप्रिय थर्ड-पार्टी एपहरू डाउनलोड गर्न सिफारिस गर्नका लागि डिजाइन गरिएको हो । यो एप नयाँ ग्यालेक्सी ए, एम र एफ सिरिजका डिभाइसहरू सेट अप गर्दा वा अपडेट गर्दा थर्ड-पार्टी एपहरूको सुझावहरू इनेबल गर्न प्रयोग हुन्छ ।
यो सेवा विश्वका खास क्षेत्रहरू विशेष गरी अफ्रिका, मध्य पूर्व र भारतमा पठाइएका डिभाइसहरूमा पाइन्छ । यद्यपि, यो एपलाई लामो समयदेखि प्रयोगकर्ताहरूले ब्लोटवेयरको रूपमा लिँदै आएका छन् । किनकि यसले एप सिफारिसको सुझावलाई पूर्ण रूपमा हटाउन गाह्रो बनाउँछ र कम्पनीलाई अतिरिक्त आय आर्जनमा मद्दत गर्छ ।
हालै यो एपको विवादले नयाँ मोड लिएको छ । यो एपको डेभलपर आइरनसोर्स नामक इजरायली कम्पनी हो । यसै कारणले गर्दा यो एपलाई प्रयोगकर्ताहरूको जानकारी बिना नै उनीहरूको फोनमा स्पाइवेयर इन्स्टल गर्ने सर्भिलेन्स टुलको रूपमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।
यो विवाद पछिल्लो दुई वर्षदेखि चलिरहेको भए पनि हालै एउटा पोस्ट एक्समा ट्रेन्डिङ भएपछि यसले थप चर्चा पाएको हो । इन्टरनेसनल साइबर डाइजेस्ट नामक एउटा अकाउन्टबाट गरिएको पोस्टमा एपक्लाउडलाई सामसङ डिभाइसहरूमा भेटिएको हटाउन नमिल्ने इजरायली स्पाइवेयर (unremovable Israeli Spyware Found on Samsung Devices) भनिएको छ ।
लेबनानस्थित डिजिटल अधिकारसम्बन्धी संस्था स्मेक्सले यसअघि एक खुला पत्र प्रकाशित गर्दै आइरनसोर्सले एपक्लाउड प्रयोग गरेर प्रयोगकर्ताहरूको डेटा सङ्कलन गर्ने आरोप लगाएको थियो । स्मेक्सका अनुसार इजरायललाई व्यापार गर्नबाट रोक्ने पश्चिम एसिया र उत्तर अफ्रिकाका देशहरूमा यसको उपस्थितिबाट गम्भीर कानुनी र नैतिक असरहरू उत्पन्न हुन्छन् ।
यो विवादलाई थप गम्भीर बनाउने पक्ष भनेको एपक्लाउडलाई सजिलै हटाउन नसकिनु हो । एपक्लाउडमा सिस्टम एपको अनुमति भएकाले यसलाई सामान्य तरिकाले अनइन्स्टल गर्न सकिँदैन ।
यद्यपि यसलाई एडीबी कमाण्डहरू प्रयोग गरेर हटाउन सकिन्छ । तर धेरैजसो प्रयोगकर्ताहरूलाई यी उपायहरूबारे जानकारी वा दक्षता हुँदैन ।
यसबाहेक आइरनसोर्सको विगत पनि शङ्कास्पद रहेको छ । कम्पनीको अघिल्लो सेवा इन्स्टलकोरले विन्डोज र म्याकओएसमा एप इन्स्टलरहरूसँगै अतिरिक्त एप्लिकेसन बन्डल गर्ने अनुमति दिएको थियो ।
यो सेवा प्रयोगकर्ताको स्पष्ट जानकारी बिना सञ्चालन भएको हुनाले यसलाई एन्टी-मालवेयर क्लाइन्टहरूले सम्भावित रूपमा नचाहिने प्रोग्राम भनेर लेबल गरेका थिए ।
एपक्लाउडलाई जासुसीका लागि प्रयोग गरिएको भन्ने दाबी अझै पुष्टि हुन बाँकी छ । यद्यपि, यो सेवा प्रि-इन्स्टल भएर आउनु र हटाउन गाह्रो हुनु प्रयोगकर्ताहरूका लागि चिन्ताको विषय हो ।
चर्को विरोधका कारण सामसङले प्रयोगकर्ताहरूलाई एपक्लाउड अनइन्स्टल गर्ने वा सिफारिसहरू स्थायी रूपमा बन्द गर्ने विकल्प दिन सक्ने अपेक्षा गरिएको छ । तर त्यसको ग्यारेन्टी भने छैन । यस विषयमा सामसङको आधिकारिक धारणा आउन बाँकी छ ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १७:२३
