वेबसाइट र मतदाता नामावलीमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच छैनः निर्वाचन आयोग
मंसिर २, २०८२ ११:७
काठमाडौँ । निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावली सम्बन्धी सूचनाहरू फेला पारेको भनि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका दाबीहरू प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले आफ्नो वेबसाइट र मतदाता नामावली सम्बन्धी सूचनामा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नपुगेको र मतदाता नामावली सम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको हो ।
"नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ । यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधि सम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनु पर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेका छन्," आयोगले भनेको छ ।
सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू भएको बताइएको छ । त्यसमा नागरिकको संवेदनशील वा गोप्य विवरण समावेश नगरेको आयोले जनाएको छ ।
यस सम्बन्धमा प्रकाशन वा प्रसारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्नु हुन सबै सरोकारवालाहरूमा निर्वाचन आयोले अनुरोध समेत गरेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ ११:९
