राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक गरेको दुर्गा प्रसाईं समर्थक ह्याकरको दाबी
मंसिर २, २०८२ १२:४६
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट अवरुद्ध भएको छ । परिचयपत्रसँग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको उक्त वेबसाइट मङ्गलबार दिउँसो करिब १२ बजेदेखि बन्द भएको हो ।
विभागका निर्देशक मुकेशकुमार केशरीले प्राविधिक समस्याका कारण वेबसाइट बन्द गरिएको जानकारी दिए । टेकपानासँग कुरा गर्दै उनले भने, “करिब आधा घण्टा अघिदेखि प्राविधिक समस्या देखिएकाले हामीले वेबसाइट बन्द गरेका छौँ । समस्या पहिचान गर्ने काम भइरहेको छ ।”
उक्त वेबसाइटमार्फत अनलाइन घटना दर्ता, राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन, राष्ट्रिय परिचयपत्र नम्बर खोजी, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता लगायतका महत्त्वपूर्ण सेवा प्रदान गरिँदै आएको थियो ।
यसैबिच टेलिग्राममा ‘नेपाली फर नेपाल (एनएफएन)’ नामक एक ह्याकर समूहले वेबसाइट ह्याक गरेको दाबी गरेको छ । समूहले वेबसाइट ह्याक गरेको भिडिओसमेत सार्वजनिक गरेको छ । यद्यपि हाल वेबसाइट खोल्दा ‘मर्मतसम्भार भइरहेको’ भन्ने सूचना देखिन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १२:४६
