सामाजिक सञ्जालमा आपत परेको बहाना देखाई आफन्तको नामबाट रकम मागे सचेत हुन प्रहरीको आग्रह
मंसिर ३, २०८२ २२:४८
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमा आफन्त वा साथीभाइको नामबाट आपत परेको बहाना बनाएर रकम माग्ने प्रवृत्ति बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने घटना बढेपछि प्रहरीले यस्तो सूचना जारी गरेको हो ।
प्रहरीले विशेषगरी आफन्त वा साथीभाइको नामबाट आएका आर्थिक सहयोगको अनुरोधप्रति चनाखो हुन सुझाएको छ । सामाजिक सञ्जालमा आपत परेको वा विभिन्न समस्या देखाएर रकम मागिएमा, रकम पठाउनुअघि सम्बन्धित व्यक्तिलाई फोन गरेर वा प्रत्यक्ष भेटेरै यकिन गर्न प्रहरीको आग्रह छ ।
यसैगरी चिठ्ठा परेको भन्दै त्यसलाई प्राप्त गर्न राजस्व तिर्नुपर्ने बहानामा आउने सन्देशबाट पनि बच्न प्रहरीले सचेत बनाएको छ । सामाजिक सञ्जालमा आकर्षक र सस्तो दरमा सामान देखाएर अग्रिम भुक्तानी गर्न लगाउने र सामान नपठाउने ठगी पनि बढिरहेको प्रहरीले उल्लेख गरेको छ ।
अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक बिक्रेता हो/होइन यकिन गरेर मात्र भुक्तानी गर्न र सम्भव भएसम्म ‘क्यास अन डेलिभरी’ (सामान पाएपछि पैसा तिर्ने) विकल्प रोज्न पनि प्रहरीले सुझाव दिएको छ ।
प्रहरीले अपरिचित व्यक्ति वा नम्बरबाट आएको भिडिओ कल उठाएर ठगीको सिकार हुने क्रम पनि बढेकोतर्फ ध्यानाकर्षण गराएको छ । यस्ता भिडिओ कल रेकर्ड गरी अश्लील बनाएर ‘ब्ल्याकमेलिङ’ गर्ने तथा पैसा माग्ने हुनसक्ने भएकाले सावधान रहन भनिएको छ । साथै अपरिचित व्यक्तिले पठाएका लिङ्क नखोल्न, आफ्नो ‘वन टाइम पासवर्ड’ (ओटीपी) कोड कसैलाई नदिन र मोबाइलको स्क्रिन शेयर नगर्न पनि परिसरले आग्रह गरेको छ ।
प्रहरीले सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण व्यक्तिगत जानकारी नराख्न र आफ्नो पासवर्ड नजिकका साथीभाइ वा आफन्तलाई समेत कहिल्यै नदिन आग्रह गर्दै अनलाइन कारोबार र सामाजिक सञ्जाल प्रयोगमा उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ २२:५०
