गुगलले सार्वजनिक गर्यो अहिलेसम्मकै एड्भान्स एआई मोडेल जेमनाई ३, के छ नयाँ ?
मंसिर ४, २०८२ १०:५९
काठमाडौँ । गुगलले मङ्गलबार आफ्नो सबैभन्दा एड्भान्स र बुद्धिमानी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल जेमनाई ३ प्रोको आधिकारिक रूपमा ससुरुवात गरेको छ । कम्पनीले यसलाई एजेन्टिक कग्निसन (agentic cognition) युगको सुरुवात मानेको छ, जहाँ मोडेलले साधारण च्याटबटभन्दा माथि उठेर वास्तविक संसारमा जटिल निर्णयहरू गर्न सक्ने (अर्ध)-स्वायत्त प्रणालीको रूपमा काम गर्छ ।
जेमनाई ३ ले तर्क (reasoning), बहुविध सुझबुझ (multimodal understanding) र एजेन्टमा आधारित कोडिङ (agent-based coding) मा महत्त्वपूर्ण सुधार ल्याएको छ । जसले गर्दा यसलाई गुगलको सबैभन्दा इन्टेलिजेन्ट मोडेल भनिएको हो । गुगलले यो मोडलले प्रयोगकर्ताको अनुरोधको आशय र सन्दर्भलाई राम्रोसँग बुझेर सरल, स्पष्ट र उपयोगी जवाफहरू दिने बताएको छ ।
नयाँ मोडेल जेमनाई ३ प्रोले अघिल्ला संस्करण र प्रतिस्पर्धी मोडेलहरूलाई लगभग सबै प्रमुख एआई बेन्चमार्कहरूमा पछि पारेको छ ।
बेन्चमार्कमा उत्कृष्टता
जेमनाई ३ प्रोले एलएमअरिना लिडरबोर्डमा १५०१ Elo स्कोरका साथ पहिलो स्थान ओगटेको छ । यसले पीएचडी-स्तरको तर्क क्षमता प्रदर्शन गर्दै Humanity’s Last Exam मा (उपकरण प्रयोग नगरी) ३७.५% र GPQA Diamond मा ९१.९% स्कोर हासिल गरेको छ । मल्टिमोडल अन्डरस्ट्यान्डिङ यसले टेक्स्ट, तस्बिर, भिडिओ, अडियो र कोडलाई एउटै कार्यप्रवाहमा ह्यान्डल गर्न सक्छ । यसको प्रदर्शन MMMU-Pro मा ८१% र Video-MMMU मा ८७.६% रहेको छ ।
कोडिङका लागि जेमनाई ३ ले WebDev Arena मा १४८७ Elo स्कोर र SWE-Bench Verified मा ७६.२% स्कोर प्राप्त गरेको छ । जसले यसलाई भाइब कोडिङका लागि उत्कृष्ट बनाएको छ । यसको कन्टेक्स्ट विन्डोलाई दश लाख टोकनसम्म बढाइएको छ । जसले लामो डकुमेन्टहरू बुझ्न मद्दत गर्छ ।
नयाँ अनुभव
जेमनाई ३ ले गुगल सर्चको एआई मोडमा जेनेरेटिभ यूआई इनेबल गरेको छ । यसले जटिल प्रश्नहरूको जवाफमा तालिका, चार्ट वा कस्टमाइज क्यालकुलेटर जस्ता रियल-टाइममा बनेका अन्तर्क्रियात्मक उपकरण र सिमुलेसन सिर्जना गर्न सक्छ ।
गुगलले गुगल एन्टिग्राभिटी नामक नयाँ एजेन्टिक विकास प्लेटफर्म पनि सार्वजनिक गरेको छ । यो इन्टिग्रेटेड डेभलपमेन्ट इनभाइरोमेन्टले जेमनाई ३ का एजेन्टहरूलाई एडिटर, टर्मिनल र ब्राउजरमा सिधा पहुँच दिएर स्वायत्त रूपमा जटिल सफ्टवेयर कार्य योजना बनाउन र कार्यान्वयन गर्न अनुमति दिन्छ ।
सुरक्षा
गुगलका अनुसार जेमनाई ३ अहिलेसम्मकै सबैभन्दा सुरक्षित मोडेल हो । यसको व्यापक परीक्षण फ्रन्टियर सेफ्टी फ्रेमवर्क (FSF) अन्तर्गत गरिएको थियो र यो कुनै पनि क्रिकिटकल क्यापेबिलिटी लेभल (CCLs) मा नपुगेको बताइएको छ ।
जेमनाई ३ प्रो जेमनाई एप, गुगल एआई स्टुडियो, भर्टेक्स एआई र गुगल सर्चको एआईमा (प्रो र अल्ट्रा ग्राहकहरूका लागि) उपलब्ध भइसकेको छ । यसको अझ एड्भान्स संस्करण जेमनाई ३ डिप थिङ्क थप सुरक्षा मूल्याङ्कनपछि आगामी हप्ताहरूमा गुगल एआई अल्ट्रा ग्राहकहरूका लागि सार्वजनिक हुनेछ ।
पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १०:५९
